२०८२ मंसीर २१ गते , आईतबार
असोज पहिलो साता हत्या भएकी मोरङ लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतमका हत्यारा पक्राउ परेका छन्। उनको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले बिचारी भनिने पदम अधिकारीलाई पक्राउ गरेको हो। अधिकारी अंशुका छिमेकी भएको प्रहरीले जनाएको छ ।
असोज २१ गते घरबाट हराएकी अंशुको शव १८ दिनपछि लेटाङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र कुहिएको अवस्थामा फेला परेको थियो। स्थानीयले घाँस काट्न जाँदा शव देखेर प्रहरीलाई खबर गरेका थिए । अंशुको शव टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो । अंशुको बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको त्यसबेला प्रहरीले जनाएको थियो ।
घटनास्थलमा अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको थियो । अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ मा अध्ययनरत थिइन्। अंशुको शवको पोस्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको हत्या भएको खुलेको थियो। सोही रिपोर्टको आधारमा प्रहरीले अपराधीको खोजी गरिरहेको थियो ।
अधिकारी उनकै घरबाट पक्राउ परेका हुन् । उनी भारत आसामको तीनसुकिया स्थित कोइलाखाँदमा यतिका दिनसम्म लुकेर बसेका थिए । अधिकारी हिजो घर फर्किएका सूचना प्रहरीले पाएपछि गएराति पक्राउ गरेको अंशुका परिवारलाई उधृत गर्दै गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमले बताए।
घटना लगत्तै अधिकारी बेपत्ता भएका थिए । आसाम पुगेका अधिकारीलाई उनको परिवार र छिमेकीले फोन गरेर घर आउन भनेका थिए । त्यसपछि अधिकारी घर आएर एकदिन लुकेर बसेका थिए । अधिकारीले आफूले बलात्कार गरेपछि हत्या गरेको स्वीकारेको बताइएको छ ।

0 comments:
Post a Comment