झापाको कनकाईमा तीन वटा सवारीसाधन एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।सोमवार साँझ ५ः४० बजे कनकाई-८ खाडी बस्तीस्थित भित्री सडक खण्डमा राजगढबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे ९ प ४६९१ नम्बरको मोटरसाइकल त्यसैगरी लक्ष्मीपुरबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–०१२प ८५६५ नम्बरको मोटरसाइकल र राजगढबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको प्र.१–०१–००१ ह ९७६० नम्बरको अटो एकापसमा जुधेका थिए ।
सो दुर्घटनामा ४६९१ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी-५ बस्ने वर्ष ३३ का जयनारायण हजाम, सोही मोटरसाइकलमा पछाडि सवार बाह्रदशी-३ बस्ने वर्ष २४ का विकास राजवंशी र ८५६५ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी-७ बस्ने वर्ष २४ का भुपेश राजवंशी घाइते भएका थिए ।
घाइते तीन जनालाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । आज बिहान ११ः५५ बजे विकास राजवंशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक कनकाई-८ बस्ने वर्ष ४१ का अमरकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट कानुनी प्रक्रिया तथा अनुसन्धानको लागि प्रहरी टोली खटिएर शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । तीनै वटा सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments:
Post a Comment