बाक्लो हुस्सुले झापासहित मध्य तराईको जनजीवन कष्टकर

२०८२ पौष ९ गते , बुधबार


पूर्वी र मध्य तराईमा एकाएक चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको छ । शुक्रवारयता बाक्लो हुस्सु छाएर घाम नलाग्दा जाडो थप बढेको छ । झापा, मोरङ, सुनसरी, इलामसहित बारा, पर्सा, रौतहट र सर्लाहीजस्ता मध्य तराईका जिल्लामा शीतलहरको प्रभाव व्यापक देखिएको छ । घाम नदेखिँदा थर्थर्ती मुटु कमाउने जाडो बढ्दै गएको स्थानीयको गुनासो छ । पछिल्ला चार दिनदेखि तराईका अधिकांश क्षेत्रमा शीतलहर फैलिँदा मानव जीवनसँगै गाईगोरु, खसीबाख्रा, भैँसीलगायत घरपालुवा पशुचौपाया पनि प्रभावित भएका छन् ।
बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म मौसम खुल्न नसक्दा दैनिक जनजीवन असहज बनेको छ । सवारी साधनको आवागमन घटेको छ भने व्यापार-व्यवसाय सुस्ताएको छ । सरकारी तथा निजी कार्यालयमा सेवाग्राहीको चाप पनि न्यून देखिएको छ । मंगलबार झापाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सगरमाथा यातायात व्यवसायी संघ झापाका अध्यक्ष नवीन कोइरालाले बिहानको समयमा सवारी सञ्चालनमा असहजता आएको बताए । ‘चालक तथा सहचालकलाई आवश्यक सावधानी र संकेतको प्रयोग गरेर मात्र सवारीसाधन चलाउन निर्देशन दिएका छौँ’, उनले भने, ‘हुस्सुका कारण दुर्घटनाको जोखिम पनि बढेको छ ।’ स्थानीय व्यवसायीहरू पनि प्रभावित भएका छन् । झापा अर्जुनधारा नगरपालिका ९ की कल्पना कडरियाले चार दिनदेखि मौसम सफा नहुँदा दैनिकी प्रभावित भएको बताइन् । ‘बिहान ९ बजेसम्म बाहिर निस्कनै कठिन हुन्छ’, उनले भनिन् ।
स्थानीयवासीका अनुसार चार दिन अघिसम्म मौसम तुलनात्मक रूपमा तातो थियो । कुनै पूर्वसंकेतबिनै चिसो बढेपछि आवश्यक सतर्कता अपनाउन कठिन भएको उनीहरूको गुनासो छ । मौसमविद्हरूले यस वर्षको हिउँद तुलनात्मक रूपमा तातो रहने प्रक्षेपण गरे पनि अवस्था उल्टो देखिएको छ ।
एकाएक आएको चिसोले वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा अशक्त नागरिक बढी प्रभावित भएका छन् । चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । डा. लक्ष्मीप्रसाद मैनालीका अनुसार न्यानो लुगा लगाउने, तातो पानी तथा पौष्टिक खाना खाने र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु उपयुक्त हुन्छ । ‘ज्येष्ठ नागरिक, अशक्त र बालबालिकालाई जोगाउने पहिलो दायित्व परिवारकै हो’, उनले बताए ।
चिसो र हुस्सुको असर शिक्षण संस्थामा पनि देखिएको छ । धुलाबारी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंका अनुसार बिहानका कक्षा सञ्चालनमा समस्या आएको छ । ‘सवारीसाधन चलाउन र टाढाबाट विद्यार्थी ल्याउन कठिन भइरहेको छ’, उनले भने । यद्यपि, हालसम्म झापामा कुनै पनि विद्यालय बन्द गरिएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले हुस्सुका कारण भिजिबिलिटी कम भएकाले उच्च सतर्कताका साथ सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ । बत्ती बालेर यात्रा गर्न तथा संकेतको प्रयोग गर्न चालकलाई निर्देशन दिइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment