निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक

 


निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अर्का एक आयुक्तले कांग्रेसको दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक हो र यही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको हो। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधरले दिने पक्षमा निर्णय दिएका थिए भने अर्का आयुक्त सगुन शमशेर राणा विपक्षमा थिए।

सभापति थापा लगायत नवनिर्वाचित कार्यसमितिले आफ्नो आधिकारिकता दाबी गर्दै बिहीबार दिउँसो निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न माग गरेको थियो। यसका लागि थापाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तथ्य, प्रमाण र कागजातहरू बुझाएका थिए।

त्यस्तै, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेता पनि सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै 'आधिकारिक' भएको जिकिर गर्दै शुक्रबार बिहान आयोग पुगेका थिए।

खड्काले पार्टीका निर्णयहरूसहित विभिन्न प्रतिवेदन र दस्तावेज आयोगमा बुझाएका थिए।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तको मुद्दा चुलिएको थियो। त्यसै क्रममा विशेष महाधिवेशन गर्ने कि चुनावअगाडि नियमित महाधिवेशन गर्ने भन्ने विवाद सुरू भयो। त्यही विवादबीच ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाए। पार्टी विधान अनुसार कम्तिमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment