झापामा हेभीवेट उम्मेदवार, सुरक्षा निकाय ‘हाई अलर्ट’मा

२०८२ माघ ६ गते , मंगलबार


झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापामा हेभिवेट उम्मेदवारको चुनावी गतिविधि बढेसँगै सुरक्षा निकाय हाई अलर्टमा रहेको छ । मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने प्रत्यक्षतर्फको उम्मेदवार दर्ताका लागि जिल्लामा हेभीवेट उम्मेदवारको उपस्थितिसँगै सुरक्षा निकाय हाई अलर्टमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुले बताए । 
चुनाव लक्षित सम्भावित भिडभाड, अप्रिय घटना र शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको सङ्ख्या थप गरिएको एसपी लिम्बुले बताए । जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र छ ।
 त्यसमध्ये सबै भन्दा बढी संवेदनशील झापा ५ लाई मानेका छौँ । ‘त्यसपछि झापा ३ र २ हो,’ एसपी लिम्बुले भने । जिल्लामा हेभिवेट उम्मेदवारहरू एमाले अध्यक्ष केपी शर्मा ओली, बालेन्द्र शाह (बालेन), निवर्तमान सभामुख देवराज घिमिरे, निवर्तमान उपसभामुख इन्दिरा राना मगर, राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन रहेका छन् ।  
चुनावी एकीकृत सुरक्षा योजना अनुसार नै पाँचै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएका छौँ । मुख्यसहित पाँच वटै निर्वाचन अधिकृतको कार्यालयमा पनि त्यही अनुसार सुरक्षाकर्मी परिचालन गरेका छौँ । उम्मेदवार दर्तामा भिडभाड र घुसपैठ हुन नदिन निर्वाचन अधिकृतको कार्यालयहरूले टाइम कार्ड पनि लागू गरिसकेको उनको भनाई छ । 
जिल्ला प्रशासन कार्यालय झापामा सरोकारावालाबीच भएको छलफलमा पनि आचारसंहिता पालना गरी सबै दलले पालैपालो मनोनयन दर्ता गर्ने दलबीच सहमति भएको जनाइएको छ ।  
यस पटक राष्ट्रिय राजनीतिमा झापा ५ सबैभन्दा बढी चर्चा रहेको छ । यस क्षेत्रबाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सातौँ पटक उम्मेदवार बन्दै छन् । ओलीको मुख्य प्रतिष्पर्दीको रुपमा यस पटक काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिन लागेका हुन् । अध्यक्ष ओली उम्मेदवारी दिन सोमबार दिउँसो झापा आइपुगेका छन्, भने बालेन राति दमक आइपुगेका छन् । ओली र बालेनलाई टक्कर दिन झापा ५ मा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङले पनि उम्मेदवारी दिने भएका छन् । 
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी सङ्ग्रौला, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समीर तामाङ र राष्ट्रिय परिवर्तन पार्टीका सविन चाम्लिङ राईले उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसबाट अइन्द्रविक्रम नेम्बाङ उम्मेदवार बन्न लागेका छन् । 
त्यस्तै झापा १ मा एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीले नरेन्द्र खडका, नेपाली कम्युनिस्ट पार्टीले अशेष घिमिरेलाई र श्रम संस्कृति पार्टीले केबलराम राईलाई उम्मेदवार बनाएका छन् । नेपाली काँग्रेसले केशव पाण्डेलाई उम्मेदवार बनाउने चर्चा छ । 
झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर दुवै जना चुनावी मैदानमा उत्रिएका छन् । घिमिरे नेकपा एमाले र राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन् । नेपाली काँग्रेसले सरिता प्रसाईँ अघि सारेको छ । नेपाली कम्युनिस्ट पार्टीले धर्मशिला चापागाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिवक्ता स्वागत नेपाल र श्रम संस्कृति पार्टीले केशव भण्डारीलाई उम्मेदवार बनेका छन् । 
झापा ३ मा नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला नउठ्ने भएपछि राजेन्द्र घिमिरे उम्मेदवार बनाउने चर्चा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन यस क्षेत्रबाट उम्मेदवार बनेका छन् । नेकपा एमालेका हरिबहादुर राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति प्रकाश पाठक, नेपाली कम्युनिस्ट पार्टीका डिल्ली घिमिरे (हिक्मत), श्रम संस्कृति पार्टीका दीपक तिम्सिना उम्मेदवार बनेका छन् । 
त्यसैगरी झापा ४ मा नेकपा एमालेले एलपी साँवालाई उम्मेदवार बनेका छन् । सुरुमा मनोज ताम्लीलाई उम्मेदवार बनाएको एमालेले आफ्नो निर्णय उल्टाउँदै साँवालाई टिकट दिएका हुन् । नेपाली काँग्रेसले देउकुमार थेबेलाई उम्मेदवार बनाउने चर्चा छ । नेपाली कम्युनिस्ट पार्टीले पुरुषोत्तम चुडाललाई, राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टीले भक्ति सिटौला र श्रम संस्कृति पार्टीले अमृता राईलाई उम्मेदवार बनेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment