इलामकाे साँखेजुङमा कलाकार निश्चल बस्नेतद्वारा स्वास्थ्य उपकेन्द्रका लागि तीन रोपनीभन्दा बढी जग्गा दान

इलाम, साखेजुङ ।


इलाम जिल्लाको साखेजुङमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले कलाकार निश्चल बस्नेतले उल्लेखनीय सामाजिक योगदान गरेका छन्। आफ्नै पुर्ख्यौली थलो साखेजुङमा निर्माण हुन लागेको आधारभूत स्वास्थ्य उपकेन्द्रको भवनका लागि उनले तीन रोपनीभन्दा बढी जग्गा निःशुल्क दान गरेका हुन्।
दान गरिएको उक्त जग्गा मालपोत कार्यालय इलाममा विधिवत् रूपमा रजिष्ट्रेसन पास गरी सम्बन्धित स्वास्थ्य संस्थाको नाममा धनीपूर्जा हस्तान्तरण गरिएको छ।
यस सम्बन्धमा जानकारी दिँदै इलाम नगरपालिका–१ का वडा अध्यक्ष गायत्रीराम बस्नेतले कलाकार निश्चल बस्नेतप्रति आभार व्यक्त गरेका छन्। साथै, उनले कलाकार बस्नेतका पिता इन्द्रबहादुर बस्नेतप्रति पनि सम्मान व्यक्त गर्दै सामाजिक उत्तरदायित्वमा परिवारको योगदान प्रेरणादायी रहेको बताएका छन्।
हाल साखेजुङको तल्लो क्षेत्रमा रहेको जनता आधारभूत विद्यालयको प्राङ्गणमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य सेवा अब नयाँ स्थानमा व्यवस्थित भवनसहित सञ्चालन हुने अपेक्षा गरिएको छ। दान गरिएको जग्गा विद्यालय क्षेत्रभन्दा केही माथिल्लो भागमा, सडकको अगाडितर्फ अवस्थित रहेको जनाइएको छ, जसले सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास गरिएको छ।
वडा कार्यालयका अनुसार स्वास्थ्य उपकेन्द्र भवन निर्माणका लागि आवश्यक बजेट छिट्टै सुनिश्चित गर्ने तयारी भइरहेको छ। बजेट व्यवस्थापनपछि निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइने वडा अध्यक्ष बस्नेतले जानकारी दिएका छन्।
कलाकार निश्चल बस्नेतको यस कदमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिँदै प्रशंसा गरेका छन्। कला र समाजलाई सँगसँगै अघि बढाउने उनको यो योगदानले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment