१५ लाख सापटीलाई १ करोड असुल्ने योजना, सुर्खेतबाट काठमाडौं ल्याएर ‘अपहरण’


१३ फागुन, काठमाडौं । एक व्यक्तिलाई सुर्खेतदेखि काठमाडौं ल्याएर अपहरण गरेको खुलेको छ । १५ लाख सापटी लिएको रकमको १ करोड ५ लाख माग्दा नपाएपछि अपहरण गरी बन्धक बनाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरूमा टेकु अस्पतालका एचए तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्लाको तिला गाउँपालिका–८ का ३६ वर्षीय धनराज बस्नेत, कास्कीको माछापुच्छ«े गाउँपालिका–७ का ४२ वर्षीय शिवबहादुर घर्ती, जुम्लाका देवेन्द्र अधिकारी छन् ।
पक्राउ परेकामध्ये घर्ती होटल सञ्चालक हुन्, न्यौपाने टेकु अस्पतालका एचए र बाँकी दुई जना कृषि पेशामा आबद्ध व्यक्ति हुन् । उनीहरूबाट प्रहरीले तीन थान मोबाइल, रुद्राक्ष, चेक बरामद गरेको छ ।
अपहरण गरेर बन्धक बनाएको आरोपमा जुम्लाका पूर्णबहादुर बोहरालाई उद्दार गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
यातना दिँदै होटलमा बन्धक
११ फागुनको साँझपख प्रहरीलाई टेकुमा एक व्यक्ति अपहरणमा परेको खबर आयो । तत्कालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोज तथा उद्धारका लागि जुट्यो ।
सो क्रममा टेकुस्थित शिवबहादुर घर्तीले सञ्चालन गरेको ‘रोड लाइन प्यालेस होटल’को कोठा नम्बर १०५ मा पूर्णबहादुर बोहरालाई बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले ११ फागुन राति ९ बजे उद्धार गर्‍यो ।
‘हामी पुग्दा ढोकामा बाहिरबाट ताला लगाइएको भित्र दुई जना (पूर्णबहादुर र धनराज बस्नेत) रहेछन्,’ एसएसपी खड्काले भने, ‘उनीहरूलाई उद्धार गरेर ल्यायौं । प्रहरीलाई दुवै जना पीडित भएको खबर आएको थियो ।’
तर अनुसन्धान गर्दा भने पूर्णबहादुर मात्रै पीडित र धनराज भने पीडक देखिएको एसएसपी खड्का बताउँछन् ।
पूर्णबहादुरलाई दुई दिनदेखि खान समेत नदिई पिट्दै यातना दिएर बन्धक बनाइएको थियो । ‘रकम चाहियो’ भन्दै पूर्णबहादुरलाई यातना दिने व्यक्ति भने फपेन्द्र न्यौपाने रहेको प्रहरीको भनाइ छ ।
‘रकम माग गरेपछि मोबाइल दिनुस् म घरबाट पैसा मगाउँछु भनेर पूर्णबहादुर परिवारमा आफू अपहरणमा परेको जानकारी गराएका रहेछन् । त्यो खबर हामीकहाँ आएपछि उद्धार गर्‍यौं,’ एसएसपी खड्का भन्छन् ।
कारोबार बिग्रेपछि ‘अपहरण’
अनुसन्धान गर्दा लेनदेन तथा कारोबार बिग्रिएपछि अपहरण गरिएको प्रहरीको निष्कर्ष छ । अपहरणमा परेका पूर्णबहादुर जडिबुटी व्यवसायी हुन् । देवेन्द्र अधिकारी पनि कृषि पेशामा रहेको र स्याउ किनबेच गर्ने, स्याउका बिरुवा बेच्न, यार्सागुम्बा बेच्ने व्यक्ति हुन् । सोही क्रममा उनीहरूको चिनजान भएको थियो ।
चिनजान भएपछि देवेन्द्रले पूर्णबहादुरलाई १५ लाख रुपैयाँ सापटी दिएका थिए । यसको साक्षीको रूपमा धनराजलाई राखिएको थियो ।
१५ लाख रुपैयाँ सापटी दिएपछि त्यसवापत ६ वटा चेक हस्ताक्षर गरेर देवेन्द्रलाई दिएको पूर्णबहादुरले प्रहरीसमक्ष बताएका छन् । यार्सागुम्बाको काम भए भएको छैन । केही समयपछि पैसा फिर्ता गराउँला भन्दै पूर्णबहादुरले देवेन्द्रलाई भनेका थिए ।
तर लामो समयसम्म पैसा नदिएपछि आफू लिएका ६ वटा चेकमार्फत ४५ लाख रुपैयाँ बनाएर देवेन्द्रले चेक बाउन्स गराए । त्यसपछि पूर्णबहादुरको खाता समेत रोक्का भयो ।
तर पनि पैसा उठ्ने छाँट देखिएन । त्यसपछि साक्षी बसेका धनराजलाई देवेन्द्रले च्याप्न थाले । पूर्णबहादुरले पैसा नतिरेपछि साक्षी बसेका धनराजसँग पनि देवेन्द्रले दुई वटा चेक मागेर लगेका थिए ।
उक्त चेकमा ६० लाख रुपैयाँ भरेर बाउन्सको प्रक्रियामा देवेन्द्रले प्रक्रिया अघि बढाए । चेक लिएपछि पनि देवेन्द्रले धनराजलाई जसरी पनि पूर्णबहादुर झिकाउन दबाब दिएको एसएसपी खड्का बताउँछन् ।
धनराजले पूर्णबहादुरलाई सुर्खेतको बाबियाचौरमा बोलाए । त्यहाँ देवेन्द्र पनि पुगे । यो ८ फागुनको घटना हो । यसको भोलिपल्ट ९ फागुनमा पूर्णबहादुरलाई प्लेनमार्फत उनीहरूले काठमाडौं ल्याएको देखिएको एसएसपी खड्का बताउँछन् ।
यता काठमाडौंस्थित विमानस्थलमा फपेन्द्र न्यौपाने ५/६ वटा मोटरसाइकल लिएर तयारी अवस्थामा बसेका थिए ।
उनैले पूर्णबहादुरलाई टेकुको होटलमा पुर्‍याएर बन्धक बनाउँदै रकम १ करोड ५ लाख उठाउने योजना बनाएको प्रहरीको भनाइ छ ।
कसरी जोडिए अस्पतालका एचए ?
विमानस्थलबाट मोटरसाइकलमा टेकु र बन्धक बनाउँदै यातना दिने फपेन्द्र टेकु अस्पतालका एचए हुन् । उनी पनि जडिबुटी कारोबारमा रहेको र काठमाडौंतर्फको सम्पूर्ण काम उनैले गर्ने गरेको प्रहरीको भनाइ छ ।
१५ लाखको कारोबारबारे सबै जानकार उनी पूर्णबहादुर र साक्षी बसेका धनराजबाट १ करोड ५ लाख उठाउने दाउमा लागेको प्रहरीको बुझाइ छ ।
यसबारे देवेन्द्रले सबै जानकारी एचए फपेन्द्रलाई गराएको प्रहरीको बुझाइ । पूर्णबहादुर र धनराजलाई फपेन्द्रको जिम्मा लगाएपछि देवेन्द्र नेपालगञ्ज फर्केका थिए ।
अनि फपेन्द्र भने यातना दिँदै रकम असुल्ने दाउमा लागेका थिए । यो घटनाबारे सम्पूर्ण जानकार भए पनि होटल सञ्चालकले प्रहरीलाई जानकारी नगराएको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको छ ।
यता साक्षी बसेर आफ्नै ६० लाखको चेक लगेका धनराज पनि प्रतिवादी बनेका छन् । उनले पूर्णबहादुरलाई बोलाउने भूमिका खेलेको, काठमाडौंसम्म ल्याउन सहयोग गरेको देखिएको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment