आज बालेन प्रधानमन्त्री बन्दै, मन्त्रिपरिषद्मा छानिए ‘विज्ञ र सारथी’

२०८२ चैत्र १३ गते , शुक्रबार


प्रधानमन्त्री नियुक्त हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को रूपरेखा तयार भएको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पटकपटकका छलफलपछि बिहीबार मन्त्रिपरिषद्को स्वरुप करिब टुंग्याएका हुन् । लामिछाने र शाहबीच मन्त्री चयन सन्दर्भमा पटकपटक भएका छलफलमा पार्टीलाई संकटमा जोगाउनेदेखि चुनावका बेला विज्ञ मन्त्री बनाउने बाचा प्रकट हुने देखिएको छ ।
वरिष्ठ नेता शाहले आफ्नो नेतृत्वमा हुने मन्त्रिपरिषद्मा परिणामकेन्द्रित हुने र आफ्नो स्पिट र ‘स्पिरिट’ मिल्ने टिम बनाउन खोजेका छन् । लामिछानेले आफू पार्टी चलाउने र शाहलाई सरकार चलाउने स्वरूपमा प्रस्तुत गर्न खोज्दा ‘भाजपा मोडल’ भनेरसमेत चर्चा र टिप्पणी भएपछि आफूले अन्तिममा निर्णय गर्ने भन्दै बाँकी टीमको ‘होमवर्क’ सकेका हुन् ।
लामिछानेले दुबै शीर्षनेता एकैपटक सरकारमा जान नहुने संकेत केही निकटस्थलाई गर्दै ‘मोदी राजनाथ मोडल’ भन्दै चर्चा नगर्न आग्रह गरेका हुन् । ‘वेटिङमा लामिछाने छन् भन्दै विपक्षी तथा रास्वपा विभाजन कुर्नेहरूलाई ठाउँ नदिन र एकैपटकमा डेलिभरी दिनका लागि शाह प्रधानमन्त्री र लामिछाने गृहमन्त्री मतदाताकै भावना हो, हामीले त्यही विषयमा अलिअलि छलफल गरेका पनि हौं तर उहाँहरूले अन्तिममा जे भन्यो त्यही हुन्छ,’ एक पदाधिकारीले बिहीबार राजधानीसँग भने ।
‘छरितो र परिणाममुखी मन्त्रिपरिषद् बनाउने’ भन्दै शाहले १५ सदस्यीय प्रस्ताव गरेपछिका पटकपटक भएका छलफलले अन्ततः १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने टुंगोनजिक छन् । ‘सुरुमा केही विज्ञतासहित ९ जनाको नाम दिएर बाँकीमा छलफल गरौं’ भनेपछि लामिछानेले संख्यालाई १५ बाट बढाउने प्रस्ताव गरेका थिए । निर्वाचनक्रममा प्रधानमन्त्रीका रूपमा शालाई प्रस्तावित गरेजस्तै अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्लेलाई निविकल्पजस्तै बनाइएको छ ।
अर्थमा वाग्ले तय भएजस्तै लामिछाने सरकारमा नभएको खण्डमा डोलप्रसाद अर्याल गृहमन्त्री हुने करिब पक्का छ । अर्यालले संकटका बेला पार्टीलाई सही ढंगले हाँकेको भए पनि ‘एक्सन स्पिरिट’मा बालेनले आशंका गर्दा सुदन गुरुङ गृहमन्त्री बन्नसक्ने सम्भावनासमेत बढेको छ । गुरुङको ‘रणनीतिक भूमिका र जिम्मेवारी’ विषयमा रवि र बालेन्द्रबीच बिहीबार रातिसम्म सहमति भएको खण्डमा गुरुङ शक्तिशाली गृहमन्त्री हुने छन् ।
रास्वपाले परराष्ट्र मन्त्रालयमा शिशिर खनाललाई नै करिब टुंग्याएको छ । कांग्रेस त्यागेर स्वतन्त्र सांसद हुँदै रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंहले परराष्ट्र दाबी गरे पनि खनाल निर्विकल्पजस्तै छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुम्निमा उदासलाई करिब टुंग्याइएको छ ।
विश्वमञ्चमा नेपाली पर्यटन प्रवर्धन गर्ने भिजनसहित उदासलाई अगाडि सारिएको बुझिएको छ भने पार्टी प्रवक्ता मनीष झालाई सूचना तथा सञ्चारमन्त्रीमा लैजाने बुझिएको छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय एकीकरण गरी शक्तिशाली मन्त्रालय बनाएर सुनिल लम्साललाई जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ ।
त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेललाई आउने सम्भावना छ । कानुनमन्त्रीका रूपमा सोविता गौतमको चर्चा चले पनि उनलाई सभामुख बनाउने सम्भावना बढेको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी डा. लेखजंग थापा वा डा.तोसिमा कार्कीलाई आउने सम्भावना देखिएको छ ।
भूगोल समेट्नेगरी कञ्चनपुरबाट निर्वाचित दिपक बोहोरा वा केपी खनाललाई मन्त्री बनाउनुपर्ने भएकाले युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भइरहेको छ । प्रतिभा रावललाई मन्त्री बनाउने सम्भावना छ भने दलितको प्रतिनिधित्व गर्दै रिमा विश्वकर्माले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्ने सम्भावना बढेको छ ।
यसैगरी, खगेन्द्र सुनारले ‘दलितमन्त्री हुनैपर्छ’ भनेका कारण महिला संख्या बढाउनका लागि रिमाको सम्भावना बढेको स्रोतको दावी छ । सरकार निर्माणका लागि मन्त्रीको नाम करिब अन्तिम चरणमा पुगे पनि आइतबार बिहान छलफलपछि अन्तिम निर्णय हुने बुझिएको छ । बाहिर आएका चर्चा र हल्ला भए पनि पार्टीमा वरिष्ठ नेता र सभापतिले छलफल गरी ल्याएको विषय पदाधिकारीमा अलिअलि छलफल गरी अन्तिम रूप दिइने बताइएको छ ।
केही मन्त्रालय एकीकरण गर्नुपर्ने र नाम हेरफेर सम्भावना भएकाले अन्तिम निर्णय शुक्रबार बिहान गरी पहिलोपटक नै पूर्णमन्त्रिपरिषद् विस्तार गरेर नयाँ सन्देश दिने वरिष्ठ नेता शाहको तयारी रहेको छ । मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय एकीकरण गर्नुपर्ने भएकाले पहिलो दिन शपथग्रहण गरेका मन्त्रीको मन्त्रालयको नाम हेरफेर हुने सम्भावना रहेको पनि रास्वपा स्रोतले बताएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment