आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

फाल्गुन १८, २०८२


यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने भएको छ। निर्वाचन आयोग ले मतदान हुनुअघि ४८ घण्टाको ‘प्रचारप्रसार निषेध अवधि’ लागू हुने जनाएको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज राति १२ बजेदेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइँदैन। निर्वाचन आचारसंहिता, २०८२ मा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण स्पष्ट उल्लेख गरिएको छ।

राजनीतिक दलहरूले फागुन ४ गतेदेखि औपचारिक रूपमा प्रचारप्रसार अभियान सञ्चालन गर्दै आएका थिए। उक्त अभियान आज रातिसम्म जारी रहनेछ। त्यसपछि सुरु हुने ‘शान्ति अवधि’ले मतदातालाई स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्ने अवसर प्रदान गर्ने विश्वास आयोगले व्यक्त गरेको छ। यसले स्वच्छ र निष्पक्ष प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रचारप्रसार निषेध अवधिमा राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमार्फत प्रचार, कुनै किसिमका सन्देश वा सामग्री सम्प्रेषणलगायत निर्वाचनसँग सम्बन्धित सबै प्रकारका प्रचार गतिविधि निषेध गरिएको छ। साथै मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ।

त्यसैगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य विद्युतीय माध्यमबाट कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा शेयर गर्नसमेत प्रतिबन्ध लगाइएको छ। मतदान कार्य सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई अवरोध गर्ने कुनै पनि कार्य गर्न नहुने आचारसंहितामा उल्लेख छ।

आयोगले संविधानले दिएको अधिकारअनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण तथा समन्वयका सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। आचारसंहिताको इमान्दार कार्यान्वयनबाट सजग मतदाता तयार पार्न र निर्वाचनको निष्ठा मजबुत बनाउन सहयोग पुग्ने आयोगको विश्वास छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment