झापाका लेखापढी व्यवसायीद्वारा भू–सेवा बन्द, मालपोत र नापीमा बिचौलिया प्रवेशमा कडाइ


२०८२ चैत्र २४ गते , मंगलबारझापाका लेखापढी व्यवसायीद्वारा भू–सेवा बन्द, मालपोत र नापीमा बिचौलिया प्रवेशमा कडाइ

झापाका लेखापढी व्यवसायीद्वारा भू–सेवा बन्द, मालपोत र नापीमा बिचौलिया प्रवेशमा कडाइ

झापा । नेपाल सरकारको निर्णयप्रति असन्तुष्ट जनाउँदै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन एकाइ समिति भद्रपुर आन्दोलित बनेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया)लाई प्रवेश निषेध गर्न निर्देशन दिएसँगै जिल्ला भूमि सुधार तथा मालपोत कार्यालय झापा र जिल्ला नापी कार्यालय झापामा पनि प्रवेश निषेधमा कडाइ गरिएको छ l

सरकारको कदमप्रति आपत्ति जनाउँदै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन एकाइ समिति भद्रपुरले सोमबार दिउँसो १२ बजेदेखि आफ्नो सेवा बन्दको घोषणा गरेका थिए। एकाइ समितिका अध्यक्ष निरोज पोखरेल र सचिव मुरारी न्यौपानेले हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्तिअनुसार नेपाल लेखापढी कानुन व्यवसायी परिषद् ऐन २०७५, संशोधित ऐन २०७८ तथा लेखापढीसम्बन्धी नियमावली २०७९ अनुसार कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएर व्यवसाय सञ्चालन गर्दै आएको जनाएको छ।


साथै, मूल्य अभिवृद्धि कर ऐन २०५४ अनुसार दर्ता भई नियमअनुसार पेसा सञ्चालन भइरहेको उल्लेख गरिएको छ। राज्यका न्यायिक तथा अर्धन्यायिक निकायमा कार्यरत व्यक्तिहरूबाट पेसागत मर्यादाविपरीत व्यवहार भएको, अनावश्यक हस्तक्षेप तथा आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।


यस्ता गतिविधिले पेसागत सुरक्षामाथि असर परेको भन्दै तत्काल सुधारको माग गरिएको छ। समितिले यस्ता समस्याहरू समाधान नभएसम्म आफ्नो मातहतमा सञ्चालन भइरहेका सम्पूर्ण लेखापढी व्यवसाय र भू–सेवा केन्द्रहरू बन्द गर्ने निर्णय गरिएको जनाइएको छ। एकाइ समितिले सेवाग्राहीबाट ३०० देखि ५०० रूपैयाँ लिएर भू–सेवा दिँदै आइरहेका थिए। चैत १८ गतेको निर्णय बमोजिम ती कार्यालयहरूमा बिचौलिया प्रवेश निषेध गरिए पनि लेखापढी व्यवसायीले बाहिरैबाट भू–सेवा दिँदै आइरहेका थिए। बुधबारदेखि सो सेवा पनि पूर्णरूपमा बन्द हुने भएपछि सेवाग्राहीहरू थप मारमा पर्ने भएका छन्।

यता भूमि सुधार तथा मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत सुवास श्रेष्ठले लेखापढी व्यवसायीले भू–सेवा बन्द गरेमा प्रमुख जिल्ला अधिकारी, विभाग तथा मन्त्रालयसँग समन्वय गरी अगाडि बढ्ने बताए। ‘कार्यालय बाहिर भू–सेवा बन्द भए पनि सेवाग्राहीको सेवा प्रवाह हामीले नै गर्नुपर्ने हुन्छ,’ प्रमुख मालपोत अधिकृत श्रेष्ठले भने, ‘भू–सेवाका लागि कार्यालयभित्रै डेक्स स्थापना गरी कर्मचारी व्यवस्थापन गरेर भए पनि सेवा दिन्छौं।’ उनका अनुसार मन्त्रालयका निर्देशनबमोजिम बैकका कर्मचारीबाहेक अनधिकृत व्यक्ति प्रवेशलाई कडाइका साथ पालना गरिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment