इलाममा मोडिफाइ मोटरसाइकलविरुद्ध विशेष अभियान, ८ सवारी नियन्त्रणमा


इलाम — जिल्ला प्रहरी कार्यालय इलामले शान्ति सुरक्षा कायम राख्ने तथा बढ्दो ध्वनी प्रदूषण नियन्त्रण गर्ने उद्देश्यसहित विशेष अभियान सञ्चालन गरेको छ। मिति २०८३ वैशाख ९ गते रातिबाट सुरु गरिएको उक्त अभियानअन्तर्गत पहिलो चरणमै ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय इलाम बजार तथा आसपासका क्षेत्रमा केही युवाहरूले मोटरसाइकलको साइलेंसर लगायतका पार्टपुर्जामा मोडिफिकेसन गरी अनावश्यक रूपमा ठूलो आवाज निकाल्ने, रातिको समयमा तीव्र गतिमा कुदाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि विशेष निगरानीसहित अभियान अघि बढाइएको हो।
अभियानअन्तर्गत रातिको समयमा विशेष चेकिङ सञ्चालन गरी सर्वसाधारणको शान्ति भंग गर्ने, वातावरणमा असर पार्ने तथा दुर्घटनाको जोखिम बढाउने सवारी साधनहरू नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय इलामले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, सवारी साधन मापदण्डअनुसार मात्र सञ्चालन गर्न तथा ध्वनी प्रदूषण नगर्न आग्रह गरेको छ। साथै सुरक्षित र अनुशासित यातायात प्रणाली निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको समेत प्रहरीले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment