नेपाल भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो, सीमा नाकामा तस्करी बढ्यो

२०८३ बैशाख १३ गते , आईतबार


नेपालमा मूल्यवृद्धि भएपछि भारतबाट पेट्रोलियम पदार्थको तस्करी बढेको छ । पानीट्यांकी , गलगलिया , दिघलबैंक लगायतका भारतीय सीमावर्ती क्षेत्रहरूमा गएर सवारी साधनमा पेट्रोलियम पदार्थ भरेर ल्याउनेको सङ्ख्या अत्यधिक बढेको हो । त्योसँगै भारतबाट पेट्रोलियम पदार्थ ल्याएर नेपालमा बिक्री गर्ने क्रम निकै बढेको छ । सवारी साधनमा फुल ट्याङ्की गरेर र साथमा ड्रम र जर्किनमा पेट्रोलियम पदार्थ हालेर ल्याउनेको सङ्ख्या वृद्धि भएको हो ।
भारतीय बजारमा पेट्रोलको मूल्य भारु १०७ अर्थात् नेपाली रुपैयाँ १७१ रुपैयाँ २० पैसा पर्न जान्छ भने डिजेलको मूल्य भारु ९४ अर्थात् नेपाली रुपैयाँ १५० रुपैयाँ ४० पैसा पर्न जान्छ । जबकि नेपालमा डिजेलको मूल्य २३७ र पेट्रोलको मूल्य २१७ रुपैयाँ पर्ने गरेको छ ।
अवैध तस्करी बढेपछि प्रहरीले गएराति ८ बजे सीमावर्ती झापा गाउँपालिका-१ लसुनामा सय लिटर डिजेल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरेको डिजेल नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्ना साथ डिजेल छोडी तस्करहरू भागेको बताइएको छ । अन्दाजी २० हजार बराबरको इन्धन नियन्त्रणमा लिई इप्रका कुमरखोदमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
व्यक्तिगत र किसानहरूको खेतीमा प्रयोग गर्नका लागि इन्धन ल्याउँदा आफूहरूले खासै कडाइ नगरेको एक प्रहरी अधिकारीले बताए । उनले भारतबाट इन्धन ल्याएर स्टक गर्ने अनि अन्यत्र आपूर्ति गरेर अवैध धन्दा गर्ने प्रवृत्ति बढेपछि नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment