झापामा अनलाइन सट्टाबाजी (जुवा) खेलाउने एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ । तीन दिनअघि अनलाइन सट्टाबाजीमा संलग्न दुईजना पक्राउ परेपछि प्रहरी अनुसन्धानका क्रममा एउटा गिरोह नै संलग्न रहेको खुलेको हो ।
चार दिनअघि प्रहरीले बिर्तामोडबाट अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको थियो । बैशाख २७ गते साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका वडा नं। १० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका वडा नं। ६ का ३६ वर्षीय भुवन मेचे रहेका छन्। गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिली क्याफेबाट नियन्त्रणमा लिइएको हो। अनलाइन सट्टाबाजी गेममा प्रयोग गरिएको विभिन्न ब्रान्डका ५ थान स्मार्ट मोबाइल सेट सिम उनीहरूको साथबाट बरामद गरिएको थियो ।
‘रविन गुरुङ’ लगायत नामबाट वान एक्सबेट , मोबक्यास जस्ता अनलाइन सट्टाबाजी खेलाउने एपबाट उनीहरूले जुवा खेलाउँदै आएका थिए। पक्राउ परेका दुवै जनालाई बैशाख २८ गते जिल्ला अदालत झापाबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि पहिलो पटक २ दिनको म्याद थप भएको थियो । बैशाख २९ गते दोस्रो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो गिरोहमा अरू पनि संलग्न रहेको र उनीहरूको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ । एक जना भागेर दुबई पुगेको बताइएको छ । सो गिरोहले धेरै जनालाई अनलाइन सट्टाबाजीका नाममा ठगी गरेको खुल्दै गएको छ । प्रहरीले ठगीमा पर्ने र ठगिएको रकमको विवरण सङ्कलन गरिरहेको छ ।
प्रारम्भिक रुपमा गरिएको अनुसन्धानबाट उनीहरूले ठगी गर्ने मनसायले इन्टरनेटको माध्यमबाट सर्वसाधारण नागरिकलाई प्रलोभनमा पारी हारजित हुने गरी ठुलो रकम अनलाइन सट्टेबाजीमा कारोबार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनले यकिन नभएको स्रोत समेत जुवा सट्टेबाजीमा प्रयोग भएको देखिएकोले अनलाइन सट्टेबाजी लगायत सम्पत्ति शुद्धीकरण कसुरमा समेत अनुसन्धान हुने जानकारी दिए । उनले अनलाइन सट्टेबाजी, ठगी, जुवामा संलग्न हुने वा सहयोग गर्ने कार्य गम्भीर अपराध भएकोले यस्ता कसुरबाट बच्न आफ्नो खाता, पिनकोड, ओटिपि लगायतका विवरण गोप्य राखी अरूसँग शेयर नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

0 comments:
Post a Comment