इलाम, साउन १९।
इलामको माईजोगमाई गाउँपालिका–२ मा एकै दिन आमा–छोराको छुट्टाछुट्टै मृत्यु भएको छ। छोराको खोलाले बगाएर मृत्यु भएपछि आमाले आत्महत्या गरेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रहरीका अनुसार जिल्ला गुल्मी स्थायी घर भई विगत ८/९ वर्षदेखि माइतीघर माईजोगमाई–२ मा बस्दै आएका अनिल खत्रीका अन्दाजी ११ वर्षीय छोरा आहान खत्री विद्यालयबाट घर फर्कने क्रममा बजुर खोलाले बगाएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उनको शव खोलाबाट निकालेर सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
छोराको मृत्युको घटनापछि आहानकी आमा अन्दाजी ३५/३६ वर्षीया अमृता लेप्चा खत्री आफ्नै घरदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ। थप कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक देवी दत्त मोतेले जानकारी दिएका छन्।

0 comments:
Post a Comment