करोडौँ खर्चिँदा पनि उस्तै सास्ती : माईखोला–राजदुवाली सडक कहिलेसम्म सरकारको बेवास्तामा ?

एक महिनादेखि सडक अवरुद्ध, तीन जिल्लावासी मारमा, करोडौँ खर्चको हिसाब माग्दै स्थानीय

इलाम ।


मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली सडकखण्ड वर्षौंदेखि पहिरोको जोखिममा पर्दै आएको छ। पटक–पटक करोडौँ रुपैयाँ खर्चेर मर्मत गरिए पनि सडकको समस्या दीर्घकालीन रूपमा समाधान हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन्।

पछिल्लो पटक करिब एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका हजारौँ नागरिक दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी अस्पताल पुर्‍याउनसमेत कठिनाइ भोगिरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा यात्रु र व्यवसायी दुवैले अतिरिक्त समय र खर्च बेहोर्नुपरेको छ।

२०७२ सालयता यस सडकखण्डको मर्मतका नाममा करोडौँ रुपैयाँ खर्च भइसकेको छ। तर हरेक वर्ष वर्षायाम सुरु हुनासाथ सडक फेरि पहिरोले अवरुद्ध हुने क्रम दोहोरिँदै आएको छ। अहिले पनि २ करोड १४ लाख रुपैयाँभन्दा बढी लागतमा कङ्क्रिट वाल, ग्याबिन वाल, ड्रेनेज, सोलिङ र ग्राभेलको काम भइरहेको छ।

सडक डिभिजन कार्यालयले निरन्तर वर्षा भइरहेकाले निर्माण कार्य प्रभावित भएको जनाएको छ। तर स्थानीयवासीले भने पटक–पटक मर्मतमा बजेट खर्च गर्नेभन्दा दीर्घकालीन समाधानसहितको वैकल्पिक सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

यसैबीच, पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपमा ‘क्र्याक’ देखिएपछि चुहिएको पानीले सडक थप कमजोर बनाएको आशंका गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आयोजनालाई तत्काल मर्मत गर्न निर्देशन दिए पनि हालसम्म प्रभावकारी काम अघि नबढेको स्थानीयको गुनासो छ।

वर्षौंदेखि दोहोरिँदै आएको समस्या समाधानमा सम्बन्धित निकायको ढिलासुस्तीले तीन जिल्लाका नागरिकले प्रत्येक वर्ष उस्तै सास्ती भोग्नुपरेको भन्दै स्थानीयले सरकारसँग स्थायी समाधानको स्पष्ट योजना र जवाफदेहिता माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment