संसदमा सभामुख र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भनाभन, थापाले माफी मागे


२८ साउन, काठमाडौं । बोल्ने समय अपुग भएको भन्दै राप्रपा नेपालका संसदीय दलका नेता कमल थापाले व्यवस्थापिका संसदको बैठकमा आक्रोश पोखेका छन् । सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थापाले तोकिएको १० मिनेटमा थप २ मिनेट बोलेपछि सभामुखले रोकेका थिए ।
जवाफमा थापाले रोस्ट्रमको बेल ठोकेर आक्रोश पोखेका हुन् । सार्वजनिक महत्वको प्रस्तावमा परम्पराअनुसार सभामुख सुवास नेम्बाङले थापालाई १० मिनेटको समय दिएका थिए । थप दुई मिनेट बोलेका थापालाई सभामुखले भनाई छोट्याउन निर्देशन दिएपछि उनी ‘हामीलाई बोल्न पनि नदिने’ भन्दै आक्रोशित भएका थिए ।
‘माननीय सदस्य विगतमा यस्तै प्रस्तावमा प्रस्तावकलाई १० मिनेट बोल्न दिइएको छ, माननीय सदस्यले १२ मिनेट बोलिसक्नुभएको छ,’ सभामुख नेम्बाङले भनेको नयाँ पत्रिकामा खबर छ ।
तर, थापाले थप चर्किंदै भने, ‘सांसद बोल्न नपाउने यो कस्तो संसद, यसैका कारण संसदको प्रतिष्ठामै आँच आउँदै छ ।’
सदनमा थापाले प्रदर्शन गरेपछि उनले आक्रोशमा बोलेका सम्पूर्ण शब्द रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका थिए । सभामुखको निर्देशन पछि थापा झनै आक्रोशित भए । उनले आसनकक्षबाट उठेर सभामुखको आसनअघिको रोस्ट्रमको ‘वेल’ ठोके र बैठक बहिष्कारको घोषणा गरे । थापाको घोषणालाई राप्रपा नेपालका अन्य सभासद्ले पनि साथ दिए । थापालाई मर्यादापालकले रोस्ट्रम जान भने छेकेका थिए ।
त्यसपछि शान्त नभएका थापालाई सभामुखले सम्झाए । नेम्बाङले भने, ‘माननीय सदस्यहरु, व्यवहार अलि ठीक भएन, मैले तपाईंहरुले बनाएको नियम अनुसार नै बोल्नका लागि समय दिएको छु ।’
मर्यादापालकले रोस्ट्रम छेक्दासम्म सदनको कारबाही करिब १० मिनेट अबरुद्ध भइसकेको थियो । रोस्ट्रम मर्यादापालकले घेरेपछि आसनकक्षमा थापाले राप्रपा नेपालका सभासद् केहीबेर सल्लाह गरेका थिए । सल्लाह गर्दै गर्दा नेम्बाङले भने ‘बैठक बहिष्कार गरेर जाने/नजाने तपाईंहरुको विचार, तर सन्देश राम्रो जाँदैन । जुन प्रस्ताव पेस गर्नका लागि तपाईंहरुले ल्याउनुभएको छ, त्यो पेस गर्न नचाहेको अर्थ लाग्छ ।’
सभामुखको सुझावपछि थापाले स्थानीय निकायको निर्वाचन तत्काल गरियो भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव सदनमा पढ्नका लागि अनुमति पाएका थिए । प्रस्ताव पढ्नका लागि मात्र उनले रोस्ट्रम प्रयोग गरेका थिए । प्रस्ताव पढ्न रोस्टममा उक्लिएका थापाले सभामुखसँग माफी मागेका थिए । ‘अघि आवेशमा जे भयो, म त्यसका लागि सभामुखसँग माफी माग्छु,’ थापाले भने, ‘मेरो त्यस्तो नियत होइन, जे भयो अचानक भयो ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment