नौलो फल ग्राउण्ड एप्पल
नेपाली भूधरातलमा तापक्रम र उचाई अनुसार विभिन्न खेतीबाली हुँदै आएको परिप्रेक्ष्यमा कतिपय नगदेबाली र खाद्यबालीको प्रविधि र शैली हेर्नुपर्ने अवस्था आएको छ । खासगरी नगदेबाली खेतीले नागरिकलाई आयआर्जन
मा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पु¥याउँदै आएको हुन्छ । नगदेबालीको संरक्षण र सम्बद्र्धनमा जिम्मेवार निकायको अहम भूमिका रहन्छ । यस्ता नगदेबालीहरू मध्येको एक विशिष्ट स्थानमा आएको र भर्खरैमात्र नेपालमा भित्रिएको भूँईस्याउलाई लिन सकिन्छ ।
भूँईस्याउ अर्थात ‘ग्राउण्ड एप्पल’को सर्वप्रथम खेती दक्षिण अमेरिकी देश पेरुबाट सुरु भएको हो । यसपछि क्रमशः यसको खेती बिस्तार हुँदै अर्जेन्टिना, जापान, अमेरिका, चीन, न्युजिल्याण्डलगायतका थुप्रै देशहरूमा विस्तार भएको छ । यसलाई अंग्रेजीमा ‘ग्राउण्ड एप्पल’, नेपालीमा ‘भूँईस्याउ’ र पेरु भाषामा ‘याकुन’ भनिन्छ । यो फल सखरखण्डजस्तै जमिनमुनि फल्दछ ।
यसको बोट सूर्यमुखी फूलको जस्तै हुन्छ । यसको फूल पनि सानो सूर्यमुखीजस्तै टुप्पामा फूल्दछ । यो फल सखरखण्ड जस्तै पातलो बोक्रा भएको हुन्छ तर स्वाद भने स्याउ, नासपाती, खरबुजा र गाजरको जस्तो मिश्रित हुन्छ । यसमा प्रसस्त मात्रामा कार्बाेहाइड्रेट, ग्लुकोज, क्याल्सियम र पानी पाइन्छ । यसमा पानीको मात्रा ९० प्रतिशत हुन्छ ।
यो भूँईस्याउको खेती समुद्र सतहदेखि ३ हजार मिटरसम्मको उचाईमा गर्न सकिन्छ । यसका लागि पानी प्रशस्त भएको भिरालो जमिन चाहिन्छ तर पानी जम्न भने हुँदैन । यसको खेती गर्दा माटोलाई दुईतीन पटक खनजोत गरी माटो खुकुलो बनाएर रोप्न सकिन्छ । यसलाई मलिलो र बलौटे माटो जम्मा गरेर खाल्डो खनेर, गमला वा प्लाटिकका भाँडामा पनि रोप्न सकिन्छ ।
भूँईस्याउको खेती गर्ने समय बसन्त ऋतु (फागुन(चैत) हो । तथापि यसको खेती फागुनदेखि जेठसम्म गर्न सकिन्छ । भूँइस्याउको बिरुवा रोपेपछि गर्मी ठाउँमा सूर्यमुखीको जस्तै फूल फूल्छ भने चिसो ठाउँमा फूल्दैन तर नफूले पनि बाली चाँहि लाग्छ ।
यसको बिरुवा रोपेको ८ देखि ९ महिना भित्रमा फल निकाल्नु पर्दछ । विशेषगरी चैत्र र बैशाखमा यसको बिरुवा रोप्ने र कात्तिक, मंसीरमा बाली निकाल्नु पर्दछ । बाली निकाल्दा यसलाई पूरै उखेल्ने र बीउलाई फेरी रोप्नका लागि सुरक्षितरुपमा भण्डारण गरेर राख्नुपर्दछ ।
एउटा बोटबाट कम्तिमा ५ देखि १० केजीसम्म फल लाग्दछ । अझ मलिलो र बलौटे माटोमा एउटै बोटमा १० देखि २५ केजीसम्म फल लागेको पाइएको छ ।
नेपालमा यो फल सन् १९८० देखि भित्रिएको हो । यो फलको व्यवसायिक खेती पोखराका कृषक सुदर्शन कार्कीले सुरु गरेका हुन् । यसपछि यो फल खेती क्रमश विस्तार हुँदै हाल आएर पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाहरूमा विस्तार गर्ने अभियान समेत सुरु गरिएको छ ।
यो अचम्मको फल हो । यो फललाई फलफूलको रुपमा, सलादकारुपमा, विभिन्न रोगहरूका लागि औषधीको रुपमा, मधुमेह भएका बिरामीका लागि चिनीको विकल्पकारुपमा प्रयोग गर्न सकिन्छ । साथै मुटुको रोग, पाचन प्रणाली, फोक्सोको समस्या, रगतमा ग्लुकोज र चिनीको मात्रालाई सन्तुलनमा राख्न यो फलको सेवनले ठूलो सहयोग गर्दछ ।
यो फलबाट शरीरलाई हुने फाइदाहरू ः–
१) भूँईस्याउ अर्थात ग्राउण्ड एप्पलको सेवन मधुमेह रोग हुनेहरूका लागि उपयोगी मानिन्छ ।
यसको सेवनले मधुमेहका बिरामीलाई शरीरमा चिनीको मात्रा बढ्न दिँदैन । संसारका विकसित देशहरूमा मधुमेहका बिरामीहरूले आयुर्वेदिक औषधीका रुपमा यसको सेवन गर्दै आएको पाइन्छ ।
२) यो फलको सेवनले ब्लड सुगर म्यानेजमेन्ट अर्थात रगतमा हुने चिनीको मात्रालाई सन्तुलित बनाउन सहयोग गर्दछ ।
३) पाचन प्रणालीमा आवश्यक पर्ने ‘सोलुवल फिवर’ यस फलमा पाइने हुनाले यसको सेवन गरेमा आन्द्रामा हुने समस्याहरू (जस्तैः आन्द्रामा दिसा टाँसिने, पाचन प्रक्रियामा देखिने गडबडीहरू)को निराकरण गर्न सहयोग गर्दछ ।
४) शरीरमा आवश्यकता भन्दा बढी ग्लुकोजको मात्रा जम्मा भएको छ भने यसको सेवनले शरीरमा ग्लुकोजलाई नियन्त्रण गर्दै अनावश्यकरुपमा मोटाएका मानिसहरूको तौल घटाउनका लागि यो फल उपयोगी मानिएको छ ।
५) फोक्सोलाई स्वस्थ्यकर बनाउन यो फलको सेवनले सहयोग पु¥याउँछ ।
६) यसको पातलाई चियाको रुपमा सेवन गर्दा मधुमेह र मुटुका रोगीहरूलाई फाइदा पुग्दछ ।
७) यो फलको सेवनले मानव शरीरमा रोग निरोधक शक्तिलाई बढाइदिन्छ ।
८) यो फलमा क्याल्सियको मात्रा बढी हुने भएकोले यसको सेवनले मानव शरीरको हयीहरूलाई मजबुत बनाउने काम गर्दछ ।
९) यो फलको नियमित सेवनले क्यान्सर विरुद्ध लड्ने शक्ति बढाउने काम गर्दछ ।
भूँईस्याउको दीगो खेती व्यवस्थापन गर्न सकिएको खण्डमा ग्रामीण भेगमा बस्ने युवाहरूलाई रोजगारीको अवसर दिलाउन सकिन्छ । साथै विभिन्न रोग भएका मानिसहरूका लागि यो एउटा रामबाण जस्तै जडिबुटीको रुपमा प्रयोग गर्न सकिन्छ । सन्दकपुर दैनिकबाट
0 comments:
Post a Comment