कृषि र जलविद्युत विकासको मुख्य आधार
पूर्वी पहाडी जिल्ला पाँचथर छिमेकी इलाम र ताप्लेजुङको छायाँमा परेको भए पनि प्रशस्त सम्भावना बोकेको जिल्ला हो । जिल्लाको मुख्य सम्भावनाका रूपमा कृषि, पशुपालन, पर्यटन तथा जलविद्युत रहेका छन् । जिल्लाको समग्र विकास तथा आर्थिक उन्नतिका लागि यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने पाँचथर उद्योग वाणिज्य सघका अध्यक्ष मित्र काफ्ले बताउँछन् । परम्परादेखि चल्दै आएको कृषि तथा पशुपालनलाई आधुनिकीरण गर्दै लैजानुपर्ने सरोकारवालाहरूको तर्क छ । त्यसो त प्रशस्त पर्यटकीय सम्भावना भएका क्षेत्रहरू पनि यस जिल्लामा रहेका छन् । तिनको विकास तथा प्रचारप्रसारमा जोड दिँदै लैजानु पनि पाँचथरको विकासका लागि अपरिहार्य छ । पछिल्लो समयमा जिल्लामा जलविद्युतको सम्भावनाको खोजी पनि हुँदै आएको छ ।
६५ हजार ५ सय ४७ हेक्टर कृषियोग्य जमीन भएको पाँचथरमा पछिल्ला वर्षहरूमा व्यावसायिक खेतीले ठाउँ पाउन थालेको छ । प्रमुखतः जिल्लामा नगदे बालीतर्फ आर्कषण बढ्दै गएको जिल्ला बरिष्ठ कृषि विकास अधिकृत रोहणिराज घिमिरेले बताए । जिल्लामा अलैंची, अदुवा, अम्रिसो, चिया, सुन्तला, आलु तथा तरकारीजन्य बालीतर्फ कृषकहरूको आकर्षण देखिन्छ । जिल्लाको प्रमुख नगदे बालीका रूपमा अलैंचीले स्थान पाएको घिमिरे बताउँछन् । जिल्लामा कुल १ हजार ५ सय हेक्टर जमीनमा अलैँंची खेती हुने गरेको छ । नेपालको सबैभन्दा धेरै अलैंची उत्पादन हुने जिल्लामा तेस्रो स्थान पाँचथरले ओगटेको छ । तर, पछिल्लो समयमा अलैंचीमा देखापरेको पहिचान नभएको रोगका कारण किसानको उत्पादन घट्न थालेको छ । जिल्लाका रवि, रानीटार ,फलैंचा, च्याङथापु, ओयाम, सिदिनल गायतका ठाउँमा अलैँची खेती हुने गरेको छ ।  पछिल्लो समयमा अदुवा खेतीप्रति पनि कृषकहरूको आकर्षण बढेको छ । गोलभेंडा, काउली, साग, मूलालगायत तरकारी खेतीमा पौवासरताप, फिदिम, अमरपुर, नागी, पञ्चमी, थर्पुलगायतका गाविसमा व्यावसायिक तरकारी खेती फस्टाउँदै गएको छ । जिल्लाका उच्चपहाडी क्षेत्रका कृषकहरू पछिल्ला वर्षमा जडीबुटी खेतीतर्फ सक्रिय भएका छन् । यस क्षेत्रमा करीब १५ हजार कृषकले आफ्नो निजी पाखाकान्लामा चिराइतो, ओकेआलु, सुगन्धवालु, लौठसल्ला, चमेली, सतुवा, सिल्टमुर, पाखनवेद, तोहो आदिको व्यावसायिक खेती गरिरहेको दीपज्योति युवा क्लबका निर्देशक सुनिल वान्तवाले बताए । जिल्लामा ठूला उद्योग स्थापना गर्न समस्या रहेकाले अग्र्यानिक किसिमबाट कृषिको व्यवसायीकरणमा जोड दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासघका पूर्वकेन्द्रीय सदस्य रहेका मित्रप्रसाद काफ्लेको भनाइ छ । 
कृषिको सहकारीकरणमार्फत व्यवसायीकरणमा जानु फाइदाजनक हुने जिल्ला कृषि सहकारी संघ पाँचथरका अध्यक्ष प्रेम ओझाले बताए ।  जिल्लामा अर्को  महत्वपूर्ण व्यवसायका रूपमा पशुपालन पनि फस्टाउँदै गएको छ । ग्रामीण बजारमा पनि पशुजन्य कारोबार राम्रो किसिमले भइरहेको जिल्ला पशु सेवा कार्यालय पाँचथरको भनाइ छ । जिल्ला पोल्ट्री व्यवसायी संघका अध्यक्ष कुमार खरेलका अनुसार १ वर्षमा नै ८० भन्दा बढी कुखुरा फार्म स्थापना भएका छन् । जिल्लाको अर्काे सम्भावनाको क्षेत्रका रूपमा पर्यटन रहेको छ । जिल्लामा पर्यटन पूर्वाधारको त्यति धेरै विकास हुन सकेको छैन । उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भए तापनि पूर्वाधार विकास र प्रचारप्रसारको अभाव छ । जिल्लामा तिम्बुपोखरी, मिक्लाजोङ, सिलौटी, रवि, रानीटार, लब्रेकुटी, सुमात्लुङ, पौवाभञ्ज्याङ, जोरपोखरी लगायतका अनेकौं पर्यटकीय र धार्मिक क्षेत्र रहेका छन् । जिल्लाका विभिन्न स्थानमा पर्यटन महोत्सव समेत भएका छन् तर व्यवसायीक पर्यटनको विकास भएको छैन । जिल्लामा सांस्कृतिक पर्यटनको पनि सम्भावना रहेको आदिवासी जनजाति महासंघका पाँचथर अध्यक्ष बिर्ख वाइबाले बताए ।  पाँचथरमा धान नाच, च्याबरुङ नाच, साकेला, धुररा, सङ्गिनी, ढोल नाच, लाखे लगायत सांस्कृतिक सम्पदा रहेका छन् । 
पाँचथरमा जलविद्युत विकासको उच्च सम्भावना रहेको छ । केन्द्रीय प्रसारण लाइनमा जोड्ने १ सय ३२ केभीको काबेली कोरिडर निर्माणाधिन  रहेकाले जिल्लामा विद्युत उत्पादन गर्न सके पूर्वी तराईमा देखिएको विद्युत समस्या कम गर्दै आम्दानी गर्न सकिने सम्भावना रहेको विज्ञहरू बताउँछन् । हाल जिल्लामा साना जलविद्युत आयोजनाबाट १ हजार ३ सय किलोवाट विद्युत उत्पादन भइरहेको छ । जिल्लामा ३ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने पूर्वसांसद् तथा जलविद्युतका लगानीकर्ता वसन्तकुमार नेम्वाङले बताए । जिल्लाको सम्भाव्य विद्युत उत्पादन गर्नका लागि कम्तीमा ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको नेम्वाङले बताए । जिल्लामा काबेली ‘ए’ ३७ दशमलव ७ मेगावाट विद्युत आयोजना निर्माणका लागि विश्व बैङ्कबाट ऋण स्वीकृत भइसकेको छ । त्यस्तै हेवा ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्यले तिब्रता पाएको छ । १० मेगावाटको हेवा ‘बी’को पनि अध्ययन भइरहेको छ । स्थानिय सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete