नेविसंघ नेतृ स्वस्तिका पोखरेलविरुद्ध प्रहरीमा उजुरी
२ असोज, काठमाडौं । पद्मकन्या स्ववियुकी सभापति समेत रहेकी नेविसंघ नतृ स्वस्तिका पोखरेलले तातो चियाले आक्रमण गर्दा स्ववियु सचिव एन्जिला न्यौपाने घाइते भएकी छन् ।
सभापति पोखरेलले न्यौपानेको संवेदनशील अंगमा तातो चिया खन्याएपछि उनी अस्पताल भर्ना भएकी छन् । पोखरेलको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।तातो चियाले पोलेर एन्जिलाको कुम र छातीमा पोल्दा घाउ भएको र संवेदनशील अंग समेत पोलिएको पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति रिना उप्रेतीले जनाएकी छन् ।विद्यार्थी नेतृहरुबीच क्याम्पसभित्रै अनौपचारिक चियापान कार्यक्रममा विवाद बढ्दै जाँदा स्वस्तिकाले हातमा लिएको तातो चिया एन्जिलाको जिउमा खन्याइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते एञ्जिला सुशील कोइराला पक्षधर हुन् भने स्वस्तिका शेरवहादुर देउवा पक्षधर हुन् । स्वस्तिका पक्षको आक्रमणबाट शोभा भण्डारी, रुपा पोखरेल र पवित्रा गौडेल पनि घाइते भएका छन् ।
नेविसंघको महाधिवेशन स्थगित भए पनि पद्मकन्या क्याम्पसको इकाइ अधिवेशनको विवादका कारण उक्त घटना भएको नेविसंघ स्रोतले जनाएको छ ।नेविसंघ इकाइले आयोजना गरेको चियापान कार्यक्रममा स्वस्तिकासहितको टोलीले आफूहरुले बोल्न पाउनुपर्ने भन्दै निहुँ झिकेर आक्रमण गरेको नेविसंघ केन्द्रीयसदस्य समेत रहेकी न्यौपानेले बताइन् ।न्यौपानेले अनलाइनखबरसँग भनिन्- ‘म त केन्द्रीय सदस्यको हैसियतले बहिनीहरुले बोलाएर चियापानमा गएकी थिएँ, उनीहरु आक्रमणमै उत्रिए ।’आक्रमणकारी विरुद्ध प्रहरी वृत्त कमल पोखरीमा जाहेरी दिएको न्यौपानेले बताइन् । स्वस्तिका फरार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुले स्वस्तिका पोखरेलसहित उनी पक्षधर विद्यार्थी नेतृहरु रमा थापा, कौशिला भट्ट, प्रिती केसी, उर्मिला बस्नेत, निसम्मा सुब्बा विरुद्ध किटानी जाहेरी दिएका छन् ।यो घटनाको जानकारी पार्टी र नेविसंघ केन्द्रीय समितिमा गराइएको र उनीहरुमाथि अनुशासनको कारवाही हुनुपर्ने न्यौपानेले बताइन् ।
0 comments:
Post a Comment