प्रहरीले सटर तान्दा व्यवसायी आक्रोशीत
इलाम, ३० भदौ ः होटल व्यवसायमा संलग्न व्यवसायीहरुले प्रहरीले बेलुकी साढे आठदेखि नै होटल जवरजस्ती बन्द गर्न लगाएर व्यवसाय गर्न नपाएको बताएका छन् । पर्यटकहरु भित्रिने सिजन शुरु हुनलाग्दा यहाँका व्यवसायी लगायत सरोकारवालाहरुबीच आयोजित पर्यटनसम्बन्धी अन्तरक्रियामा सबैले आचरण र व्यवहार सुधार्नुपर्ने बताएका छन् । चहलपहल बृद्धि र इलाममा पर्यटन भित्र्याउन बेलुका अवेर सम्म व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने र त्यसका लागि सबै व्यवसाय शान्तिपुर्ण र निर्भिक रुपमा सञ्चालन गर्न पाउनु पर्ने व्यवसायीहरुले माग गरेका छन् । पुर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले पर्यटनको पहिलो भेट यातायात व्यवसायी र होटल व्यवसायमा हुने हुँदा व्यवसायीहरुको व्यवहार र बोली प्रभावकारी हुनुपर्ने बताए । होटल एसोसिएशनका क्षेत्रीय अध्यक्ष देवी पौडेलले कम्तिमा राति साढे १० या ११ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए । उनले कसैले पनि गलत व्यवहार गर्छ अथवा कानुनको उल्लंघन गर्छ भने कारबाही हुनुपर्ने भन्दै राती आठ नबज्दै प्रहरीले आएर होटल बन्द गर्न अनुचित दवाब दिने गरेको र जबरजस्ती सटर तान्ने गरेको बताए । ‘हामी व्यवसायीले किनिदिएको मोटरसाइकल चढेर आएर सटर तान्दा दुःख लाग्यो’, उनले भने ।
नेपाली काँग्रेसका जिल्ला सचिव राजेन्द्र शर्माले होटल व्यवसायीहरुले आचरण सुधार्न जरुरी रहेको भन्दै पर्यटनमा इलाममा ज्यादै काम भएको भनेर प्रचार गरिएकाले थप कार्यक्रम नआएको बताए । एमालेका प्रतिनीधि कृष्णप्रसाद श्रेष्ठले इलाममा आउने पर्यटकहरु दिनानुदिन घट्दै गएकाले यसलाई गम्भिर रुपले लिन सवैलाई आग्रह गरे । इलाम नगरका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी, मेची पहाडी पर्यटन विकास समितिकी कार्यकारी निर्देशक सदिक्षा कार्की समेतले होटल व्यवसायीहरुको सीप विकास र क्षमता अभिबृद्धिका लागि लगानी गर्न तयार रहेको बताए । इलाम उद्योग बाणिज्य संघकी अध्यक्ष शुशीला सापकोटाले इलाम पर्यटकहरुको शुन्यतातर्फ अगाडि बढेको भन्दै यसको न्युनीकरणका लागि २४ घण्टा व्यवसाय र सेवा प्रदान गर्न व्यवसायीहरु तयार रहनुपर्ने बताइन् । सन्दकपुर दैनिकबाट
0 comments:
Post a Comment