धर्मनिरपेक्ष कै माग
इलाम, ३१ साउनः संविधानमा धर्मनिरपेक्ष कायमै राखिनु पर्नेसहितका माग राख्दै नेपाल आदिवासी जनजाति महासंघ इलामको अगुवाइमा शनिबार इलाम सदरमुकाममा बृहत जनप्रदर्शन भएको छ । अन्दाजी दुईहजार पाँचसय जना सहभागी प्रदर्शन एवम् शान्ति ¥यालीमा विभिन्न धर्म, समुदाय र जातीय सङ्गठनहरुको सहभागिता रहेको थियो ।

ठूलो टुँडिखेलबाट शुरु भएको ¥यालीले इलाम बजार परिक्रमा गरेपछि इलाम चोक बजारमा आयोजित कोणसभामा जनजाति महासंघका अध्यक्ष राजु राईसहित इसाइ समाजका पाश्चर टेकबहादुर राई, स्वर्गीक मार्ग इलामका अध्यक्ष कर्ण साङ्पाङ, बौद्ध धर्मका लामा हिसी नर्बु लामा, किराँत धर्मका प्रतिनिधि विक्रम फागो, जनजाति महासंघका पूर्व जिल्ला अध्यक्ष किरण मुखिया र याम लिम्बु सेमतका वक्ताले  संवोधन गरेका थिए । 
वक्ताहरुले नेपाल सबै जातजातिको साझा फूलबारी भएकाले कुनै पनि धर्मको नाममा नामाकरण हुन नहुने बताए । हिन्दु एकात्मकतावादी सोचाइले अन्य धर्मका मानिसहरु देशमै अनागरिक वा सोसरहले बाँचेको उनीहरुको जिकीर थियो । सभामा किराँत धर्मका प्रतिनिधि फागोले उग्र भाषण गरेका थिए । उनले एमाओवादी अध्यक्ष प्रचण्ड र संविधानसभा अध्यक्ष सुभाष नेम्बाङलाई समेत ‘एकर’ लगाएर गाली गलौज गरे । 
उनले भाषणमा ‘हिजो काङ्ग्रेस, एमाले र माओवादीलाई भोट दिएर आफूहरु पछुताएको’ बताए । कार्यक्रममा इसाइ धर्मका पाश्चर राईले पहिला संवोधन गरे । उनले इसाइ धर्मलाई डलरसँग तुलना गरेर आलोचना गर्ने र दबाउने कार्य गरिएको आरोप लगाए । देश सबै जात जातिको र धर्मको साझा फुलबारी भएको र त्यसलाई आधार मानेर धर्म निरपेक्षता संविधानमा कायमै हुनुपर्ने उनको माग थियो । 
यस्तै सभामा पूर्वका नौ जिल्लालाई पहिचानसहित लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग सहितका प्लेकार्डहरु बोकिएको थियो । पहिचानका आधारमा संघीय राज्यको स्थापनामा आफुहरुको जोड रहेको महासंघ इलामका पूर्व अध्यक्ष मुखियाले बताए । सभामा गाईलाई राष्ट्रिय जनावर बनाइन नहुने चर्को नारावाजी भएको थियो । 
यसैबीच शनिबार नै साँझ संघीय फोरम, संघिय लिम्बुवान सहितका दलहरुले इलाममा मशाल जुलुस प्रदर्शन गरेका छन् । विभिन्न १० दलद्धारा सिमाङ्गन र संविधान मस्यौदा सम्बन्धमा असहमति राख्दै आइतबार र सोमबार (आज र भोली) नेपाल बन्दको प्रचार गरेका छन् । जुलुसमा प्रहरीले हस्तक्षेप गरि पुल्ठो निभाइदिएपछि जुलुस तीतरबितर भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment