खोलाखोल्सी छाडेर करेसामा अलैँची बगान
इलाम, ३० साउन
खोला खोल्सामा हुने अलैँची इलामका किसानहरुले अन्नबाली नै मासेर लगाउन थालेका छन् । त्यसको एक ज्वलन्त उदाहारणका रुपमा माइमझुवा १ याङ्माका तोया र नेत्र दाहाललाई लिन सकिन्छ । तोया पेशाले शिक्षक हुन् र उनका दाई नेत्र व्यपारी । उनीहरु मुख्य पेशाबाट बचेको समयमा करेसाबारीमा लगाएको अलैँची स्यहार्छन् । बिहान बेलुकाको समयमा उनीहरुले थोरै मेहनत गर्दा प्राप्त आम्दानी मूख्य पेशाको भन्दा धेरै छ । कुनैबेला अलैँचीको आम्दानीले राम्रै प्रगति गरेका दाहाल बन्धुलाई रोगका कारण खेती मासिएपछि निकै चिन्तित बनायो ।

पाखोबारीमा माँसिदै गएको विरुवा ल्याएर उनीहरुले स्थानीय पाराले जगाए अनि खेती बिस्तार गरे । अहिले उनीहरुको करेसाबारीमा फस्टाएको अलैँची बगानका कारण जिल्लाकै अब्बल कृषकमध्येमा गनिन थालेका छन् । पुरानो बगान मासिएपछि चार वर्ष अघिदेखि पुरानो विरुवालाई संरक्षण गरेर खेती बिस्तारमा लागेका उनीहरुले अहिले १२ रोपनीभन्दा धेरै जमिनमा बगान वनाइसकेका छन् । छ रोपनी जमिनबाट गतवर्षदेखि नै आम्दानी सुरु भएको छ । 
गाईको गहुँतलाई अलैँचीमा लाग्ने भाइरसको अचुक औषधी मानेका उनीहरुको प्रयासले बार्षिक १२ लाख रुपैयाँ भन्दा धेरै आम्दानी दिने बनाइसकेको छ । ‘पुरानो विरुवालाई ल्याएर गोबर मल र गाईको गहुँत समय मिलाएर लगाउन थाल्यौं,’ तोयाले भने, ‘बिस्तारै त्यसमा भएको रोग हटेर मौलाउन थाल्यो ।’ केही बोटमा त्यो प्रविधी सफल भएपछि उनीहरुले तीनै बोटबाट विरुवा उत्पादन थाले । अहिले आफूलाई पर्याप्त विरुवा राखेर पनि वर्षेनी एक लाख रुपैयाू भन्दा धेरैको विरुवा र १० लाखसम्मको उत्पादन गर्ने हैसियत उनीहरुको बनिसकेको छ ।
खोलाखोल्सीमा खेती गरिँदै आएको अलैँची अहिले करेसाबारीमा मौलाएको छ । भाइरसजन्य रोगका कारण त्यस्ता ठाउूमा अलैँची मौलाउनै छाडेपछि दाहाल बन्धुले खेतीपाती हूँदै गरेको जमिनलाई सदुपयोग गरे । वर्षभरी मेहनत गर्दा खानपुग्ने अन्न नफल्ने जमिनमा भएको उत्पादनले उनीहरुको आर्थिक हैसियत मात्र बढेन जिल्लाभरका कृषकलाई गतिलो प्रेरणा पनि भएको छ ।
गएको वर्ष त्यति आम्दानी गरेका उनीहरुको यो वर्ष उत्पादन बढ्ने पक्का छ । प्रतिमन एक लाख भन्दा धेरै मूल्य पुगेको अलँैचीले उनीहरुलाई सदरमुकामा घरजग्गा जोड्न पनि सघाएको छ ।
न्यून आयस्तर भएकी फिक्कल पान्दामस्थित सुकुलमु योल्मोले अलैँची विकास केन्द्रमा ज्यालादारी गरेर थोरै रकमले आर्थिक गर्जो टार्दै आइन् । नजिकै रहेको केन्द्रले विरुवा उत्पादन गर्ने कामलाई प्राथमिकता दिएपछि उनले प्राविधिकको सरसल्लाह बमोजिम घरमा नै नर्सरी राखिन् । चार वर्षअघि उनले डेढ रोपनी जमिनमा अलैँचीको नर्सरी बनाइन् । त्यसका लागि विरुवा र प्राविधिक पाटोमा सघायो केन्द्रले । 
दुई वर्षपछि पाँच हजार विरुवा उत्पादन गरेर २५ हजार हातमा पारेकी योल्मोले वर्षेनी विरुवाको संख्या बढाईन् र आम्दानी मोटो पार्न सफल भइन् । अर्को वर्ष नौ हजार विरुवा उत्पादन गरेर ६३ हजार आम्दानी गरेकी योल्मोले यो वर्ष १५ हजार विरुवा उत्पादन गरेर एकलाख ३३ हजार रुपैयाँ आम्दानी गर्न सफल भइन् । 
जिल्ला र देशभरबाट अलैँचीको विरुवा खोजी गर्ने कृषकको लर्को लागेको बेला उनलाई बजारको कुनै समस्या भएन । दिनभर मेहनत गरेर बिहान बेलुकीको छाक टार्न र दुई सन्तानलाई पढाउन धौधौ हुने उनी अहिले आर्थिक विपन्नताले छोड्दै गएको बताउँछिन् । ‘मेहनत अलि लाग्ने हो तर खर्च भने यति उत्पादनका लागि २० हजार जति मात्रै भयो,’ उनले भनिन् ।
अलैँची खेती बिस्तार र नर्सरीबाट आम्दानी गर्नेको सङ्ख्या उल्लेख्य छ । प्याङका गुरुराज खतिवडाले पनि गएको वर्षदेखि अलैँचीको विरुवा र उत्पान बिक्री गरेर घरको आर्थिक अवस्थामा उल्लेख्य सुधार गरेका छन् । भार्लाङ जातका विरुवा खोज्न उनको बगानमा जिल्लाभरवाट पुग्ने गरेका छन् । 
रोगले बगान सखाप भएपछि आम्दानीको माध्यम टुटेको अवस्थामा जिर्मले सलकपुरका कृषकले विरुवा र उत्पादनको बिक्रीबाट बार्षिक करोडौं भित्र्याउँदै आएका छन् । नयाँ प्रजातिको अलँैचीलाई कम उचाईमासमेत रहरलाग्दो गरी जगाएका उनीहरुले यो वर्ष एक करोड भन्दा धेरैको विरुवा मात्र बिक्री गरे ।
हरेक गाउँमा अलैँचीको खती गर्ने लहर नै चलेको छ । मकै, कोदो फल्ने बारी मासेर नै कृषकले अलैँची रोप्ने कार्यलाई प्राथमिकता दिएका छन् । यो वर्ष जिल्ला कृषि विकास कार्यालय र अलैँची विकास केन्द्रमा करिब ७० लाख विरुवाको माग भएको थियो । छुट र अनुदानमा विरुवा वितरण गर्दै आएका यी संस्थाले माग अनुरुप विरुवा दिन नसकेको जनाएका छन् ।
मूलुकका ३७ जिल्लामा अलैँची खेतीको सम्भाव्यता रहेपनि पूर्वका १० जिल्लामा खेती सीमित छ । अलँैची उत्पादनमा ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, तेह्रथुम लगायतका जिल्ला अगाडि छन् । तर पछिल्लो समयमा धेरै उत्पादन गर्ने ताप्लेजुङ र संखुवासभामा पनि रोगको प्रकोप बढेपछि निरोगी विरुवा रोपणमा कृषकको ध्यान गएको हो । निरोगी र नयाू विरुवा रोपेर पुरानै ढङ्गले कृषकले उत्पादन गर्न सकेको र बर्षेनी उकालो लागेको मूल्यका कारण पनि कृषक अलैँची खेतीका लागि धेरै उत्साही भएका हुन् । मूलुकभरवाट बार्षिक पाूच अर्वरुपैयाूको हाराहारीमा अलैँची निर्यात हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment