इलाममा नौ बन्दकर्ता पक्राउ
इलाम, ३१ साउनः छ प्रदेशको सिमाङ्कनप्रति असहमति जनाउँदै नेकपा–माआवादी (बैद्य समूह), संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बुवान पार्टी नेपाल लगायत जनजातिले आयोजना गरेको दुई दिने बन्दले पूर्वी पहाडको जनजिवन प्रभावित भएको छ । बन्दका कारण मेची राजमार्ग ठप्प भएको छ । बन्दकर्ताले आइतबार बिहानैदेखि यातायातका साधन चल्न दिएनन् । आफुखुशी चलेका मोटरसाइकलको चावी खोस्ने ९ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । बन्दकर्ताले ठाउँ ठाउँमा मोटरसाइकलको चावी खोसेर यात्रु अलपत्र बनाएका थिए । प्रहरीले इस्कर्टिङमा गाडि चलाएको थियो । बन्दले शैक्षिक संस्थामा पठनपाठन समेत ठप्प छ । बन्दकर्ता पार्टीका कार्यकर्ताले बन्द गराउन जुलुस प्रदर्शन गरेका थिए । जुलुसमा उनीहरुले ‘प्रतिगामि संविधान खारेज गर’, ‘चार दलीय सिण्डिकेट खारेज गर’ भन्दै नाराबाजी गरे । 


बन्दले ताप्लेजुङको जनजीवन पनि कष्टकर
पहिचान र विशेष अधिकारसहितको संघीय राज्य घोषणा गर्नुपर्ने माग राखी संघीय समाजवादी फोरम, संघीय लिम्बुवान पार्टी नेपाल लगायतले आह्वान गरेको आमहड्तालका कारण ताप्लेजुङको जनजीवन पनि कष्टकर बनेको छ ।  हड्तालका कारण आइतबार बिहानै देखि छोटो तथा लामो दूरीका सवारी साधन आइतबार दिनभर चलेनन् भने दुई पाङ्ग्रे सवारी साधन समेतलाई गड्न दिइएन । बजार, पसल, कलकारखाना, शिक्षण संस्था, उद्योगधन्दा सबै ठप्प रहेका थिए । यस्तै गैह«सरकारी कार्यालयहरु पनि पूर्ण रुपमा बन्द भए भने केही सरकारी कार्यालयहरुले समेत सेवा प्रवाह गर्न सकेका थिएनन् ।
बन्दकर्ताहरुले जिल्ला विकास समितिको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । यता तालाबन्दी गराए पनि तुरुन्तै ताला फोडेर कार्यालय सञ्चालन हुने वातावरण बनाइएको ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । त्यस्तै सदरमुकाम फुङ्लिङस्थित भानुजन उच्च माध्यमिक विद्यालय खुलाएको भन्दै बन्द गर्न पुगेका बन्दकर्ता र शिक्षक तथा विव्यस पदाधिकारीबीच घम्साघम्सी भएको थियो ।
यता दिनभर बन्दकर्ताहरुले सरकारी कार्यालयहरु बन्द गर्न दबाब दिइरहेका भएपनि निर्वाधरुपमा सबै कार्यालयहरुले सेवा प्रवाह गरेका प्रहरी निरीक्षक बस्नेतले बताए । बन्दकर्ताहरु निक्कै आक्रामक रहेका भएपनि सुरक्षा व्यवस्था कडा बनाइएकाले उनीहरुबाट कुनैखालको अराजकता भने हुन नपाएको बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment