खुल्यो पर्यटकीय क्षेत्र



नेपाल–भारत सीमाको ठ्याक्कै वल्लोपटि होटल व्यवसाय सञ्चालन गर्दै आएकी गीता गुरुङ बिहान निकै हर्षित देखिन्थिन् । अघिल्लो दिनसम्म हुस्सु र कुहिराले छोपेको सीमावर्ती मानेभञ्ज्याङमा बिहानको झलमल्ल घामले रापिँदै गर्दा उनमा खुसी छाउनुको कारण थियो पर्यटक आउने दिन भएकाले कारोबार बढ्ने आशा । उनीजस्तै त्यस क्षेत्रका अरू होटल व्यवसायी पनि उत्साही देखिन्थे । सीमावर्ती सन्दकपुर क्षेत्रमा दार्जिलिङको वन विभागले तीन महिनादेखि लगाएको पर्यटक प्रतिबन्ध खुला गरेको हो ।
दार्जिलिङको सिंहलीला नेसनल पार्कमा रहेका रेडपान्डा र विभिन्न जनवार र चराचुरुंगीको प्रजननमा असर नपुगोस् भनेर बर्सेनि तीन महिनाका लागि पर्यटक प्रतिबन्ध लगाउने गरिन्छ ।  ठूलो संख्यामा दार्जिलिङ, मिरिकलगायत भारतीय सहर हुँदै भारतीय र पश्चिमा पर्यटक सन्दकपुर पुग्ने गरे पनि सीमावर्ती क्षेत्रका नेपाली व्यवसायी पर्यटक आउन साथ औधी खुसी हुन्छन् । ‘भारतको बाटो गरेर पर्यटक आउने गरे पनि प्रत्यक्ष फाइदा नेपालीलाई पुग्छ,’ उनले भनिन् ।
मानेभञ्ज्याङ हुँदै सन्दकपुर, फ्यालुट पुग्ने अधिकांश पर्यटक सीमावर्ती नेपाली होटलमा बस्ने गर्छन् । मानेभञ्ज्याङदेखि सन्कपुरसम्मको क्षेत्रमा दुई दर्जनभन्दा धेरै नेपाली होटल सञ्चालित छन् । ती होटलको प्रमुख ग्राहक नै भारत भएर आउने पर्यटक हुन्। वर्षौंदेखि व्यवसायी पर्यटकीय क्षेत्रका रूपमा विश्वमा चिनिएको यो क्षेत्रमा नेपालतर्फबाट पर्याप्त पूर्वाधार निर्माणसँगै व्यवस्थित रूपमा पर्यटन विकासका गतिविधि गर्न नसक्दा भारत भएर आउने पर्यटकको भरमा त्यस क्षेत्रका बासिन्दा निर्भर छन् ।
मानेभञ्ज्याङदेखि, चित्रे, लामिधुरा, मेघ्मा, तुम्लिङ, जौबारी, गैरीबास, कैयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ, सन्दकपुर हुँदै फ्यालुटसम्म पर्यटक पुग्ने गर्छन् । ती क्षेत्रको नेपालतर्फको भूभागमा नेपालीले नै होटल व्यवसाय सञ्चालन गरेका छन् । ‘तीन महिना पर्यटक नआउँदा कारोबार ठप्प हुन्छ,’ चित्रेका छिरिङ फुन्चोङ भोटियाले भने, ‘अब भने हिउँदभर भ्याई नभ्याई हुने भएकाले हामी तयारी अवस्थामा रहन्छौं ।’ पर्यटकको बाक्लो उपस्थिति हुने भएकाले नेपालतर्फको क्षेत्रमा उत्पादित सागसब्जी, घिउ, छुर्पी लगायतले पनि राम्रो बजार पाउने गरेको छ ।’ यो क्षेत्रमा असोज १५ देखि पर्यटकको अत्यधिक चाप बढ्छ । सगरमाथा, कञ्चनजंघा लगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाल देख्न सकिने, जैविक विविधताले भरिएको र धार्मिक आस्थाका कारण पनि सन्दकपुर क्षेत्रमा पर्यटकीय चाप हुने गरेको छ ।
१२ महिना नै नेपालबाट पनि त्यस क्षेत्रमा पर्यटक पु¥याउने प्रयास भए पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन । तर, विगतको तुलनामा आन्तरिक र बाह्य पर्यटक सन्दकपुर क्षेत्र पुग्ने क्रम भने बढेको छ । सीमावर्ती क्षेत्रको मनोरम वातावरण, विभिन्न क्षेत्रमा रहेका गुम्बा र धार्मिक केन्द्र लगायतका कारण  हरेक स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् । नेपालतर्फबाट पनि सडक खुलाएर पर्यटकलाई सहज आउजाउको सुविधा मिलाउने प्रयास जारी छ । तर, आवश्यक बजेटको अभावमा निरन्तरता नपाउँदा झापाको काँकडभिट्टादेखि नेपाल भएर नै सन्दकपुरसम्म पुग्ने सडकको निर्माण कार्य पूरा हुन सकेको छैन । माबु र माईमझुबाट सन्दकपुरसम्म सडक पु¥याइए पनि वर्षायाममा सवारी चल्न नसकेकाले तीन महिना सीमापारि बन्द हुँदा त्यहाँका बासिन्दा रित्तो हात बस्ने गर्छन् । ‘भारतले जस्तै नेपालले पनि सीमावर्ती क्षेत्रमा सडक बनाउने हो भने यहाँको पर्यटन १२ महिना चल्ने थियो,’ तुम्लिङका तिलक गुरुङले भने । मानेभञ्ज्याङबाट ३१ किलोमिटर सीमावर्ती सडक पार गरेर सन्दकपुर पुग्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment