इलाममा किवी अभियान

इलाममा अलैँची मासिएर आम्दानी टुटेपछि उत्तरी माइमझुवाका पुरन गुरुङले वैकल्पिक उपायको खोजीमा करेसाबारीलाई नै किवी बगान बनाएका छन् । वार्षिक लाखौँ रुपियाँ आम्दानी लिने बाटो बनेको छ, बहुउपयोगी किवी फल । परम्परागत तवरले मकै र आलु रोप्दै आएको २० रोपनी जग्गामा किवी लगाएपछि साँखेजुङका टेकबहादुर विष्टका दुःखका दिन सकिएका छन् । विष्टले वार्षिक १० लाख भन्दा धेरै आम्दानी किवी फल बेचेर नै लिने गरेका छन् ।
सुलुबुङ–५, तालगाउँका तारामणि खतिवडाले ६ वर्षअघि थालेको किवी अभियान अहिले पूर्वका विभिन्न जिल्लामा फैलने क्रममा छ । वातावरण संरक्षण तथा वैकल्पिक ऊर्जा विकास प्रालि नामक संस्था नै खोलेर खतिवडा किवीको प्रवद्र्धनमा लागेका छन् । इलामका गाउँगाउँ छिर्दा बारीभरि अनौठो लहरे खेती बाक्लै भेटिन्छ । राम्रो आम्दानी गर्ने ध्याउन्नमा कृषकहरूबीच घरलौरी किवी रोप्ने लहर चलेको छ । कृषकले चियाबारीमाथि पनि माच बनाएर किवी फलाएका छन् । चारखाँदेका महेन्द्र राईले चियाबारीमाथि  लटरम्म किवी फलाएर देखाएका छन् भने प्याङका धु्रव थेवेले किवीबारीमा चिराइतोको पनि खेती गरेका छन् ।
खतिवडाले चिया र अन्य फलफूल किवीबारीमा लगाएका छन् । कृषकले ६ वटादेखि पाँच सय बोटसम्म किवी रोपेको उनको भनाइ छ । उनको बगानमा ७० रोपनी जमिनमा ६ सय बोट किवी हुर्किएका छन् । किवीको बिरुवा राजधानी र विदेशबाट ल्याउनुपर्दा महँगो परेको र खेतीको आकर्षण थेगी नसक्नु भएपछि खतिवडाले आफैँ नर्सरी खोली ग्राफ्टिङ र कटिङ बिरुवा उत्पादन गरेका छन् । किवी फलसँगै चिया, चिराइतो, अदुवा, खुर्सानी, पाउलेनिया, सुन्तलालगायतका फल पनि खेती गरेर कृषकले नयाँ प्रयोग गरेका छन् । इलामका कृषकबाट गएको वर्ष ३० हजार किलोभन्दा बढी किवी उत्पादन भयो भने यस वर्ष करबि डेढ लाख किलो किवी  उत्पादन हुने अनुमान छ । जिल्लाका ३७ गाविसमा ६ हजार र पूर्वाञ्चलका नौ जिल्लामा १६ हजार कृषक पुगेका छन् । वर्षौंसम्म आम्दानी हुने र एउटै बोटमा ८० किलोभन्दा धेरै फल्न थालेकाले नोक्सानी नहुनेमा अगुवा कृषकहरू ढुक्क छन् ।
एउटै बोटमा ८० किलोभन्दा धेरै किवी फलाएर बिक्री गर्न सकेको माइमझुवाका पुरन गुरुङ बताउँछन् । ‘सुरुका दिनमा किवी खेती थाल्दा हाँसोको पात्र बनिएको थियो, उनी भन्छन्, ‘एकपटक तीन लाखभन्दा बढी खर्चेर खेती थाल्दा खिसी गर्नेहरू नै अहिले खेतीमा लागेका छन् । अस्ट्रेलियाको पुर्दे युनिभर्सिटी, अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटी, नर्वेको ओस्लो युनिभर्सिटी र मलेसियाको डीएक्सन कम्पनीले गरेको अध्ययनमा मुटु, दम, क्यान्सर, अल्सर, छाला र आँखाका लागि किवी फल रामवाण हुने औंल्याइएको छ । नौलो खेती भएकाले किवी बगान पर्यटकीय गन्तव्यका रूपमा समेत चिनिन थालेका छन् । माइमझुवा हुँदै सन्दकपुर जाने पर्यटकले गुरुङको बगानमा किवीको स्वाद लिन छुटाउँदैनन् । १२ सयदेखि २३ सय मिटरसम्मको पहाडी क्षेत्रमा किवी राम्ररी फस्टाएको  पाइएको छ । लहराजस्तै फैलिएर जाने भएकाले यसलाई बलियो माच अनिवार्य हुन्छ ।
स्थानीय बजारमा पनि किवी फल प्रतिकिलो चार सयदेखि ६ सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ । उत्पादन बढ्दै गएको र सदरमुकाममा रहेको शीतभण्डार सञ्चालनमा नआएकाले बजार पर्खिएर बिक्री गर्न भने समस्या छ । स्थानीयस्तरमा प्रशोधन कारखाना र सुलभ ऋणको व्यवस्था सरकारले गरिदिनुपर्ने माग कृषकहरूको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment