आयल निगमको डिपो प्रमुख नै तेल तस्करीमा डिजेल बोकेको ट्यांकर प्रहरी नियन्त्रणमा


 नेपाल आयल निगमको भलबारी डिपो प्रमुखले नै कमिसन खाएर तेलको कालोबजारी गरेको आशंकामा स्थानीय प्रशासनले ट्यांकर नियन्त्रणमा लिएको छ ।

भैरहवास्थित भलवारी डिपोबाट चलान भएको ना ४ ख ७१४५ नम्बरको ट्यांकरलाई नवलपरासी प्रहरीले नियन्त्रण लिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार डिजेल पठाउने विषयमा डिपोले
स्थानीय प्रशासनसँग समन्वय नगरेको पाइएको छ । साथै डिपो प्रमुखको गतिविधि पनि शंकास्पद देखिएकाले ट्यांकर नियन्त्रणमा लिइएको उनले बताए । रुपन्देहीका प्रजिअ ढकालका अनुसार प्रहरीले नियन्त्रणमा लिएको ट्यांकर रुपन्देही नै फिर्ता पठाइने छ ।

स्रोतका अनुसार डिपो प्रमुख दिनेशकुमार यादवले लिटरमै ५० रुपैयाँ कमिसन खाएर कालोबजारी गर्नेहरुलाई डिजेल बेचेको सूचना स्थानीय प्रशासनसम्म पुगेको थियो । ८० रुपैयाँ प्रतिलिटरको डिजेललाई डिपो प्रमुख यादवले कमिसनसहित १ सय ३० रुपैयाँमा बेचेको स्रोतको दावी छ ।

कमिसन खाएर बेचेको डिजेल लमजुङकै एक हाइड्रोपावरमा लैजान लागिएको डिपोकै एक कर्मचारीले दाबी गरे । भलबारी डिपोले भने उक्त डिजेल काठमाडौं स्वम्भुमा रहेको हामा आयल स्टोरको नाममा चलान गरेको भेटिएको छ ।

हामा स्टोर काठडमाडौंका युनस प्रधानको हो । प्रधानले बल्खुमा सञ्चालन गरेको त्रिशक्ती आयल स्टोरले कालोबजारी गरेको भेटिएपछि उनी विरुद्ध कालोबजारीको मुद्धा समेत चलिरहेको छ ।

डिपो प्रमुखले काठमाडौंको कुनै पम्पलाई आफ्नो मनखुसी डिजेल दिनु समेत बदमासी भएको अधिकारीहरु बताउँछन् ।

इन्धनको अभाव भएपछि आयल निगमले उपत्यका बाहिरका डिपोहरुलाई काठमाडौंका पेट्रोल पम्पमा सिधै तेल दिने अधिकार दिएको छैन । विभिन्न सीमा नाकाबाट आएको तेल काठमाडौंको थानकोट डिपोमा आउँछ । त्यसपछि थानकोट डिपोले नै कसलाई, कुन दिन र कति तेल दिने भन्ने तय गर्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment