बजेट छ काम गर्दैन विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले बजेट पर्याप्त भएर पनि विद्युत लाइन बिस्तार एवम् मर्मत चुस्त बनाउन सकेको छैन । आर्थिक वर्ष २०७१/०७२ मा जिल्लाका २७
स्थानमा विनियोजन भएको तीन करोड ९५ लाखमध्ये एक करोड ९१ लाखको मात्र काम भएको पाइएको छ ।
‘विद्युतमा छुट्टिएको रकम काम नभए पनि फ्रिज हँुदैन अधुरो काम अर्को वर्ष पनि नियमित गरिन्छ’, प्राधिकरणका इञ्जिनियर उमेश दाहालले भने । उनले जिल्लाका २७ स्थानमध्ये १६ वटा स्थानमा काम सकिएको बताए । ती मध्ये एकदुई स्थानमा मात्र विजुली बाल्न स्थानीयले पाएका छन् । दुइ स्थानमा सहकारीको क्षेत्र भएकाले केन्द्रले आफ्नो काम गर्न नमिल्ने भएकाले काम नभएको दाहालले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण केन्द्रमार्फत आउने ट्रान्स्फर्मर कतिपय स्थानमा अन्य साना उपकरणसहित तारहरु नआउँदा वर्षौँदेखि विद्युत बिस्तारमा कठिनाइ उत्पन्न भएको उनले बताए । नामसालिङ लगायतका स्थानमा ट्रान्स्फर्मर नहँुदा बिगत वर्षमा ठेक्का लागेर लाइन टाँगेको कामसमेत प्रभावित भएको बताइएको छ । जिल्लाभरमा अझै २५ देखि ३० वटा ट्रान्सफर्मर आवश्यक भएको दाहालको भनाई छ ।  जिल्लाका प्याङ समेतका नौ स्थानमा ठेक्कामार्फत काम भइरहेको पाइएको छ । केहि स्थानमा कोटेशनमार्फत काम भइरहेको छ । सामग्री अभावका कारण अधुरो कामको हिसाब कटाएर मात्र ठेकेदारलाई भुक्तानी दिने गरेको बताइएको छ । अधुरो कामको लागि पुनः अर्को वर्ष निरन्तरताको लागि फाइल उठाइएको कार्यालयले जनाएको छ ।
चालु वर्षमा तीन करोड बढि बजेट आउने बताइए पनि हालसम्म टुंगो भने लाग्न सकेको छैन । नामसालिङ, जोगमाई, महमाई, लारुम्बा, गजुरमुखी चुलाचुली, फूएँतप्पा, आमचोक, माबु, जमुना, फाकफोक चमैता, नयाँबजार, समाल्बुङ आदि क्षेत्रमा विद्युत बिस्तार हुन नसक्दा स्थानीय विद्युत उपभोगबाट बञ्चित हुँदै आएका छन् । ती क्षेत्रमा कम भोल्टेज आउने र लाइन टाँगेको वर्षौँ हँुदा पनि विद्युत बाल्न स्थानीयले पाएका छैनन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment