विकल्प के होला ?
बिष्णुप्रसाद काफ्ले
इलामलाई चिनाउने सात मध्येको एउटा ‘अ’ अर्थात् ओलन (दुध) उद्योग अहिले ठूलो सङ्कटको भूमरीमा छ । उचित र पर्याप्त बजारको समस्या धेरै अगाडी देखिको हो । अहिले वैशाखको विनाशकारी भूकम्प हुदै देशको विद्यमान राजनैतिक अन्योल र अस्थिरताका कारण यो क्षेत्र अझै शिथिल बनेको छ । विस्तारै व्यवसाय उन्मूख बन्दै गएको इलामको डेरी उद्योग र उद्यम धराशायी हुदै गएकोले यसका प्रत्यक्ष भुक्तभोगी किसान र उद्यमीहरु चरम निराशामा छट्पटिइरहेका छन् । हजारौंको रोजीरोटी र रोजगारी धरापमा पर्न थालेको छ । भूकम्पका कारण सङ्कुचित् बनेको दुग्द्यबजार दशै, तिहार र छठ जस्ता ठूला चाडपर्वका वीच पनि खुल्न सकेन । अझ विगत तीन महिना देखि जारी बन्द हड्ताल, नाकाबन्दी लगायतका राजनीतिक अस्थिरता र अन्योलका कारण यो क्षेत्र एक किसिमले भन्दा ‘प्यारालाइज’ जस्तै भएको देखिन्छ । इलामको अर्थतन्त्रमा दरिलो स्थान ओगटेको डेरी क्षेत्रमा देखिएको सङ्कटले आम किसान र दुग्द्य उद्यमीहरुको जीविको र समग्र जिल्लाको आर्थिक अवस्थालाई पछाडि धकेलेको छ । लामो समय गिजोलिएको दुग्द्य बजार चाँडै सहज हुने वा उकासिने सम्भावना कमै छ । यसको पहिलो र निर्विकल्प निकास त सहज बजार नै हो । यद्यपि व्यवस्थित, मर्यादित र व्यवसायिक क्षेत्रका रुपमा ताते सर्न थालेको पशुपालन व्यवसाय र डेरी क्षेत्रलाई जोगाइ राख्ने विकल्पहरु के हुन सक्छन् यसको खोजीनीति र चासो सरोकार गर्न राज्य, नीजि क्षेत्र र आम सरोकारवालाहरुले कत्ति पनि ढिलाई गर्नु हुदैन ।
गाइपालन, दुध उत्पादन र दुग्द्य उद्योगमा देशमा नै नाम कहलिएको इलाम जिल्लामा दैनिक झण्डै तीन लाख लिटर दुध उत्पादन हुन्छ । जसको आधा मात्रै बजारको औपचारिक गणनामा आएको सम्बन्धित क्षेत्रको भनाईलाई आधार मान्ने हो भने पनि डेढ लाख लिटर दुध अहिले पनि दैनिक रुपमा बजारमा चल्नु पर्ने देखिन्छ । १ सय २५ बढी दुग्द्य सहकारीहरु सङ्गठित र सक्रिय छन्, १८ वटा चिस्यान केन्द्र, २४ वटा चिज उत्पादन उद्योग, १ सय बढी छुर्पी उद्योग र दर्जनौं दुग्द्यजन्य मिठाई र परिकारका उद्योगहरु इलाममा मात्रै रहेका छन् । सहज अवस्थामा दैनिक ६०–७० हजार लिटर बढी निकासी हुदै आएको इलामको दुध अहिले हप्तामा तीन दिन सम्म हुने गरेको ‘मिल्क होलीडे’का कारण किसानकै घरमा होल्ड भई दैनिक लाखौंको नोक्सानी भइरहेको छ । ठूलो लगानी र विभिन्न वित्तीय संस्थाहरुबाट ऋण लिएर स्थापना भएका व्यवसायिक गाईपालनका फार्महरुले चरम व्यवसायिक नोक्सानी व्यहोरीरहेका छन् । किसानबाट दैनिक दुध सङ्कलन गरी निकासी गर्दै आएका सङ्कलन तथा चिस्यान केन्द्र हप्तामा तीन दिन सम्म बन्द हुदाँ उत्पादकहरुलाई दुध बेच्ने अर्को विकल्प छैन । व्यवसायिक रुपमा दुध उत्पादन गर्दै आएका किसानहरुका लागि विक्रि नभएको दुधलाई आन्तरिक बजारमा खपत गराउन वा प्रशोधन गर्न तत्काल सम्भव पनि रहेको छैन ।
जिल्ला भित्रकै ठूला साना दुग्द्य उद्योगहरु पनि उत्पादित दुग्द्य पदार्थको बजार नपाउदाँ उद्योग व्यवसायलाई निरन्तरता दिन असमर्थ हुदै आएका छन् । घिउ, चिज, छुर्पी लगायतका निकासीजन्य उत्पादनको अहिले बजार सहज छैन । भएका बजार सम्म लैजानका लागि समेत ढुवानी तथा भण्डारणको समस्या छ । विक्रि भईहाले पनि कम मात्रै मुल्य पाइरहेका छन् । त्यसैपनि उच्च उत्पादन लागतका कारण प्रतिस्पर्धी हुन नसकेको दुग्द्य व्यवसाय पछिल्लो राजनीतिक अस्थिरता, बन्द, हड्ताल र इन्धन अभावका कारण झनै पछि पर्दै जाने सम्भावना छ । वैशाखको भूकम्प र तराई आन्दोलन यता अधा दर्जन बढी चिज कारखानाहरुले आफ्नो उत्पादन बन्द गरेका छन् भने चलेकाहरुले पनि अत्यन्तै न्यून परिमाणमा मात्रै उत्पादन गरिरहेका छन् । अदुवा, अलैचीं, चिया लगायतका नगदेबालीको तुलनामा अन्तरराष्ट्रिय बजारमा कम मात्रै प्रवेश गरेको नेपालको दुग्द्य उद्योगलाई संरक्षण नगर्ने हो भने अर्थतन्त्रको एउटा महत्वपुर्ण पाटो पलायनको बाटोमा जाने सम्भावना बढ्दै गएको छ । पछिल्लो समय व्यवसायिक सम्भावना देखेर उत्साहित हुदै खुलेको गाइफार्महरुलाई अहिले यो व्यवसाय निल्नु न ओकल्नु भएको छ ।
अहिले सिमित परिमाणको छुर्पीले अन्तरराष्ट्रिय बजार पाएपनि अन्य उत्पादनको हकमा स्वदेशी बजार र उपभोक्तामा नै भर पर्नु पर्ने बाध्यता रहेको देखिन्छ । कुकुरको आहारा (डग च्यू)का रुपमा यहाँ उत्पादित छुर्पीको केहि अंश निर्यात हुदै आएपनि बन्द, हड्ताल र असुरक्षाका कारण समयमा ढवानी गर्न र बजार सम्म पु¥याउन कठिन रहेको छ । स्वदेशमा उत्पादित दुध र दुग्द्य पदार्थहरु ‘स्वच्छ उत्पादन तथा रोगमुक्त’ रहेको प्रमाणीकरणको कानुनी, नीतिगत र व्यवहारिक सम्यन्त्र एवम् व्यवस्थाको अभावमा अन्तरराष्ट्रिय बजार पहुँचमा समेत धेरै समस्याहरु रहेका छन् । खासगरी तेस्रो मूलूकका बजार अझै पनि सहज पहुँचमा छैन । यता नेपालमा उत्पादित घिऊ, चिज लगायतका दुग्द्य पदार्थहरुले स्वदेशमा समेत उचित बजार पाएका छैनन् तर भारत र युरोप देखिका पाउडर दुध, चिज र घिऊ नेपालमा निर्वाध आयात भइरहेको तथ्य सुनिने गरेका छन् । अन्य मूलूकहरुमा कृषि उत्पादन र उत्पादन सामाग्रीहरुमा प्रदान गरिदै आएको ठूलो अनुदानका कारण किसानको स्वलगानीमा उत्पादित वस्तुहरु आयतित उत्पादन र गुणस्तरसँग प्रतिस्पर्धामा उत्रने सम्भावना पनि छैन । स्वदेशी र साना उद्योगहरुलाई संरक्षण गर्ने सम्बन्धमा राज्यको यथोचित् नीति र हस्तक्षेप नहुँदा आत्मनिर्भर बनाउन सकिने क्षेत्र समेत निरीह बन्न बाध्य रहेको छ । इलामको मात्रै होइन समग्र नेपालको डेरी उद्योग यसैको ज्वलन्त उदाहरण हो ।
अहिलेकै उत्पादन र बजारको अवस्थालाई आधार मान्ने हो भने पनि यथास्थितिको निरन्तरताले मात्रै दुध र यसमा आधारित उद्यमेग व्यवसायलाई उकास्न सकिदैन । नवीन तथा उपयुक्त प्रविधिको विकास र प्रवद्र्धन, उत्पादकत्वमा वृद्धि, लागत न्यूनिकरण, गुणस्तर वृद्धि, उपभोक्ता केन्द्रित उत्पादन एवम् निर्यात बजारको विविधीकरण र खोजी, आन्तरिक खपतको प्रवद्र्धन र स्वदेशी उद्यम व्यवसायको संरक्षण नगरी नेपाली डेरी उद्योगको उन्नयन गर्न सकिदैन । अहिले स्वदेशमा उत्पादन भई न्यून खपत एवम् आयतित पदार्थसँग प्रतिस्पर्धा गर्न नसकेका कारण बजार नपाई खुम्चिएको दुग्द्य पदार्थलाई उपभोक्ताको रुची र चाहाना बमोजिम स्तरवृद्धि, स्वदेशी उद्योग र उत्पादनको संरक्षण र आयतित वस्तुहरुको उचित नियमन गर्न जरुरी रहेको छ । पशु नश्ल सुधार, स्थानीय स्तरमा नै गर्न सकिने उन्नत जातका पशु आहारा घाँस र दानाको प्रयोगलाई प्रोत्साहन एवम् न्यून लागत प्रविधिको विकास एवम् विस्तार गरी उत्पादकत्व बढाउने, आधुनिक प्रविधियुक्त प्रशोधन र प्रमाणीकरण, उपभोक्ताको माग अनुसारको प्याकेजिङ र बजार प्रवद्र्धन गर्ने, चीन, रुस, कोरिया लगायतका दुग्द्य पदार्थका ठूला बजारहरुमा पहुँचका लागि वैदेशिक व्यवपार रणनीति तर्जुमा गरी निर्यात बजारको विस्तारका लागि योजनाबद्ध ढङ्गले काम अघि बढाउन सकिएमा डेरी उद्योगलाई व्यवसायिक र बजारमुखी बनाउन सकिन्छ । पक्कै पनि युरोप र अमेरिकी बजार नेपाली डेरी उद्योगका लागि सहज निर्यात गन्तब्य हुदैनन् । यसैले चीन, रसिया, कोरिया, फिलिपिन्स आदिमा नै नेपाली डेरी उद्योगको निर्यात सम्भावना र अवसरको खोजी सरकारी र नीजि स्तरबाट गरिनु पर्दछ । डेरी उत्पादनको उपयोगमा विविधीकरण र प्रोत्साहन गरी स्वदेशी बजारको विस्तार तिर ध्यान दिनु पर्दछ । लामो समय सम्म नष्ट नहुने गरी उपयुक्त भण्डारण र मुल्य अभिवृद्धिका लागि प्रविधिको विकास एवम् ठोस् कार्यक्रम तर्जुमा गर्नु पर्दछ । छरिएर रहेका ससाना डेरी उद्यम र किसानलाई समग्र उद्योगका रुपमा सहुलियत र अनुदानको व्यवस्था गर्नेतिर लाग्नु पर्दछ ।
अघिल्लो हप्तामात्रै कृषि विकास मन्त्रालयले जारी गरेको २७ बुँदे प्रतिबद्धता र विशिष्ट कार्यक्रम भित्र दुध लगायतका पशुजन्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने भनिएको छ । कृषि विकास रणनीतिले समेत आधारभूत खाद्यपदार्थसँगै यो क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउदै आर्थिक रुपान्तरणको परिकल्पना गरेको अवस्थामा यसका लागि आवश्यक पूर्वाधार, प्रविधि, बजारमुखी उत्पादन र औद्योगिकरण तर्फ व्यवहारिक योजना र कार्यक्रम कार्यन्वयन गरिएन भने अहिलेको सङ्कटको दिगो समाधान हुन सक्दैन । यसैमा इलामको मात्रै होइन समग्र देशकै डेरी उद्योगहरुको भविश्य जोडिएको छ । अब सधै ‘पर्ख र हेर’को अलमलमा रहनु हुदैन । अस्थिरताको अन्योलमा जकडिएको इलाम र देशकै डेरी उद्योगका लागि भरपर्दो र दीर्घकालिन विकल्प के हुन सक्छ ? राज्य र सरोकारवाला सबैले बेलैमा ध्यान पु¥याउन आवश्यक रहेको छ ।
सन्दकपुर दैनिकमा प्रकाशित
सन्दकपुर दैनिकमा प्रकाशित
bishnukafle.ilam@gmail.com
0 comments:
Post a Comment