नेपालको मध्यमाञ्चलमा बैशाख १२ र २९ गतेको महाभुकम्पले काठमाण्डौँ लगायत गोरखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायतका अन्य जिल्लामा पनि मानिसको घरवार उठाई दिएको थियो । मानिसलाई खानको लागि खानेकुरा थिएनन् । घरको भग्नावशेषभित्र पुरिएको खानेकुराहरु खान मिल्ने भएका थिएनन् । बस्नको लागि वास उठेको थियो । लगभग दश हजार मानिसहरुको भग्नावशेषले पुरिएर मृत्यु भयो । देश विदेशका उद्धार टोलीले बचाउ र उद्धार गरिरह्यो । राहातको नाममा करोडौँको मालसामान, खाद्यान्य, लत्ताकपडा र आर्थिक सहयोगसम्म आयो । तर अहिले त्यो आर्थिक सहयोग भूकम्पपीडित समक्ष के कति पुग्यो सरकारलाई अत्तो पत्तोसम्म छैन ।
कार्तिकको पहिलो साता मेरो यात्रा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक हुँदै काठमाण्डौ सम्मको भएको थियो । लगभग भूकम्प गएको पनि छ महिना बितिसकेको थियो । बर्दिबासबाट सिन्धुलीतिर लागेपछि मेरो मनमा अनेकौँ खियायत आईरहेका थिए । त्यो क्षेत्रमा मेरो महाभुकम्प पछिको पहिलो यात्रा थियो । गाउँघर कस्ता भएको होलान् । शहर कस्तो अवस्थामा छ । यस्तै विभिन्न कुरा मनमा खेलाउँदै घुमौँरो उकालो बाटोमा गाडि आफ्नै गतिले अगाडि वढ्यो । त्यो सुन्दर र मनै लोभ्याउने बाटोमा रिमरिमे झुल्के घामको उज्यालोमा घुमेको सिन्धुलीको बाटो साँच्चै स्वर्गजस्तो थियो । तर वीचवीचमा देखिने ती भुकम्पले भत्काएका भग्नावशेषले भने भित्रैबाट मन दुख्थ्यो ।
भुकम्प प्रभावित क्षेत्रको वसाई पनि लगभग १५ दिन भन्दा पनि लामो रह्यो । त्यो लामो बसाईमा मैले भुकम्प पीडितको दुःख र समस्या राम्ररी बुझेको छु । भूकम्प पीडितहरु साँच्चे ठूलो समस्यामा छन् । यो समस्या सबैले वुभ्mन जरुरी छ । त्यो समयमा मैले जुन दृष्यहरु देखेँ सायद त्यो दृष्य सरकारले देखेको छैन होला । मेरो हेर्ने आँखा र सरकारको आँखा फरक परेको छ ।
कार्तिकको पहिलो सातामा नै दोलाखाको चरिकोट बजारलाई चिसोले सताउन थालिसकेको थियो । मैले देखेको दोलखाको भिमसेनस्थानसँगै रहेको दोलखा बजार म त्यहाँ पुग्दा पुरै सखाप भएको थियो । चरिकोटदेखि पैदल नै म त्यहाँसम्म गएको थिए । बाटोमा भत्किएको घरको छेउमा टिनले बारेको सानो छाप्रोमा मानिसहरुको दैनिकी र गुजारा चलेको देखिन्थ्यो । छेउमा भुकम्पले भताभुङ्ग बनाएको घरको भग्नावषेशमा मकैको बोट उम्रेर सुकेको देखिन्छ । त्यस्तो मनै कुटुक्क हुने दृष्यले हाम्रो सरकारलाई कहिले पनि छोएन ।
अहिले त हिमालको चिसो हावा अनि बास बस्न बनाएको सानो कटेरोमा भित्रैसम्म तुसारो झरेको छ । न्याना लुगा सबै भुकम्पको भग्नावशेषमा झुत्राझुत्रा भएका छन् । एउटा पातलो कपडाले शरीर ढाकेको छ । बेलुका सुत्ने समयमा न त न्यानु ओछ्याउने छ । न त आड्ने नै । अलिअलि भएको पैसाले आधा पेट खाएका छन् । यस्तो अवस्थामा पत्र पत्रिकामा आउने गरेका शिर्षकले आम नेपालीको मनमा दुःख लाग्छ । तर नेताहरु हाँसीमजाकमा छन् । केहि दिनअघि मात्र ‘सुतेको ठाउँमा कठ्याङ्ग्रीएर आठ भुकम्प पीडितको मृत्यु’ भन्ने समाचार आएको थियो । अहिले त खासै चिसो बढेको छैन् । हिमालमा हिउँ झर्न थालेको छैन । जव हिमाललाई सेतै हिउँले ढाक्छ तव दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, रसुवाका भूकम्प पीडितको अवस्था कस्तो होला ? यसमा सरकार किन कानमा तेल हालेर वसेको छ । के सरकारको भूकम्प पीडितप्रति कुनै दायित्व छैन ?
अहिलेसम्म मन्त्री थप्नमा व्यस्त छ । अझै साना दलहरुलाई मन्त्रीको लोभ देखाएर सरकारमा बोलाईरहेको छ । अनलाईन र छापा पत्रिकामा विभिन्न समाचार सुन्न र हेर्न पाईन्छ । बंगलादेशबाट आएको चामल कुहिएका, कन्टेनरमा नै चिसो मौसमको लागि आएको कमल राखिएकोदेखि लिएर जस्ताको भ्रष्टाचारसम्मका समाचार पत्र पत्रिकामा पढ्न पाइएको छ । पुष १३ गतेको अन्नपूर्णमा पनि सिन्धुलीमा बीस क्विटल चामल कुएर नस्ट भएको समाचार आएको थियो । अहिलेसम्म किन सरकार भूकम्पपीडितप्रति गम्भिर बन्दैन ।
हुनत हाम्रो समाज नै यस्तो भई सकेको छ कि आफ्नो देशमा भएको समस्या देख्दैन । मधेश आन्दोलन पनि यहि समयमा भएको छ । पहाडका जनता खान नपाएर भोक भोकै मरिरहेका छन् । खोला तर्नको लागि पुल नभएर खोलाले बगाएर मरिरहेका छन् । हुम्ला जुम्लामा उत्पादन भएका कृषिजन्य उपजहरु बिक्री गर्न नपाएर गरिबीले थिचेर मरिरहेका छन् । तर तराईका जनता आफुहरुलाई राज्यले अधिकार दिएन भनेर एक आपसमा लडेर मरिरहेका छन् । यस्तो समाजबाट गएको नेताले पनि देशलाई के नै पो गर्नु र अनि हामीले उनिहरुबाट के नै आश गर्न सक्छौँ ।
केहि समय अघि सामाजिक सञ्जालमा एउटा यस्तो ट्रेन्ड आएको फ्रान्समा आतङ्ककारी हमलामा परेर मरेका एघार जनाको नाममा आफ्नो प्रोफायलको फोटोमा फ्रान्सको झण्डा रङ्ग्याउने । के नेपालमा यस्ता घटनाहरु हुन्न र माओवादी संकटकालमा कति कति नेपाली जनता मरे । महा भूकम्पले दशौँ हजार नेपालीको मृत्यु भयो । यो समयमा कुनै नेपाली या कुनै अन्य मुलुकको मानिसले नेपालीको सम्झनामा आफ्नो प्रोफायलको फोटो नेपालको झण्डाले रङ्ग्यायो त ? के तपाईलाई भुकम्पले मरेका नेपाली सम्झनामा त्यसो गर्न मन थिएन त ? हामी अरुको सिको गर्न अगाडि सर्छौँ । तर आफ्नो देशको समस्या देख्दैनँौँ ।
सरकारबाट त भूकम्प पीडितले के नै पो आश गर्नु र । अन्य देशबाट आएको अनुदान त सरकारले सदुपयोग गर्न सकेको छैन । कुनै पनि सहि तरिकाले पीडितको हातसम्म पु¥याउन सक्दैन अथवा चाहँदैन । भूकम्पपीडितको लागि चीनले अध्ययन भ्रमणमा भूकम्प पीडितलाई बोलाउँदा त सरकारले नक्कली भूकम्पपीडित बनाएर आफन्तलाई पठाउनसम्म भ्याएको छ । यसैले प्रष्ट हुनुहोस् सरकारले नेपाली पीडित जनताको लागि केही गर्ने छैन् ।
केहि समय अघिमात्र प्रधानमन्त्री ओली ज्युबाट एउटा मिठो कथा सुन्न पाईएको थियो । कुनै समय हावाबाट विजुली निकाल्ने कुरा गर्न पनि पछि पर्दैनन् । कहिले एक बर्षभित्र नेपाल लोडसेडिङ मुक्त बनाई दिन्छु भन्छन् । के उनलाई थाहा छैन बन्दै गरका जलविद्युत आयोजना पनि इन्धन अभावमा काम रोकिएका छन् भनेर ? हावादारी गफले सरकार र देश चल्दैन भनेर ओलीलाई कसले बुझाइदिने हो । भर्खरै सोमबार मात्र एउटा फिल्मी कार्यक्रममा पुगेका प्रधानमन्त्रीले एउटा यस्तो सपना बाँडे की जुन कुरा पुरासम्म हुने सम्भावना छैन् । सुन्नेले पनि यो एउटा कुनै हिट हुनका लागि फिल्मका लागि तयार गरिएको कथा हो । कथामा अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी निर्माणको परिकल्पना गरेका छन् ।
गोरखाको पश्चिम तटीय भूभाग, तनहुँको पूर्वी मस्याङ्दी किनार, लमजुङको दक्षिण, गोरखाको पालुङटार, तनहुँको चुँदी रम्घामा एकाध वर्ष भित्रै स्मार्ट सिटी निर्माण गर्ने प्रधानमन्त्रीले भनेका छन् । ‘स्मार्ट सिटीमा अत्यन्तै सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी पनि बनाउने योजना छ । अब अर्को पुस्तामा होइन, आफ्नै पुस्तामा केही वर्षभित्रै तपाईहरुले आफ्नो सीप कलालाई मुखरित गर्ने अवसर पाउनुहुन्छ,’ सोमबार बालुवाटारमा प्रधानमन्त्रीले भने । यो कुरा पनि दोलखामा फिल्म सिटी बनाउने यसअघिको सरकारी योजनालाई उनले अव्यवहारिक संज्ञा दिँदै गरेका हुन् । उनले आफ्नै ठट्यौलो शैलीमा भने, ‘दोलखाको डाँडामा राख्ने कुरा उपयुक्त छैन् । हप्तामा दुई दिन, दुई घण्टा घाम लाग्छ । हिरोसँग साहैं रीस उठेका बेला हिरोइनलाई खोलामा हामफाल्ने पनि ठाउँ छैन । हिरोले बचाउनु पनि प¥यो । त्यहाँ झोलुङ्गे पुल पनि चाहियो । गाडीमा माइत हिडेँ भनेर स्वात्त चढ्ने बाटो पनि चाहियो ।’
प्रधानमन्त्री ओलीले नेपाललाई कसैले हेप्न र होच्याउन नसक्ने गरी सम्बृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याए । यद्यपि, नेपालमा आफू काम नगर्ने, अरुलाई काम गर्न नदिने, कुरा काट्ने प्रवृत्ति अत्याधिक रहेको गुनासोसमेत सुनाए ।
‘यिनै प्रवत्तिहरुलाई तोड्न म यस ठाउँमा आएको छु,’ यस्तो मिठो कथा सुन्नमा त रमाईलो हुन्छ तर व्यवहारमा उत्रिन सक्दैन । किनकी सरकारले अहिले कुनै फिल्म सिटी बनाउने योजना वनाउनु भन्दा पनि गोरखादेखि रामेछापसम्मका भूकम्प पीडीतलाई यो चिसो मौसममा न्यानो दिइयोस् । सबैले दुई छाक तातोमा बसेर खान पाउन् । हिमालको काखमा तुसारोको शिरक बनाएर सुत्नु नपारोस् । अवको कथामा नेपालका भूकम्प पीडितले एउटा सुन्दर चार कोठे घरमा बसेर दुइ छाक खाएको र न्यानो ओछ्यानमा सुतेको र खुसीसाथ सरकारले हामीलाई सहयोग गरेको छ भनेको सुन्न पाईयोस् ।
0 comments:
Post a Comment