अनिश्चित बजारको मारमा किसान

कहिले आशा कहिले निराशा
विष्णुप्रसाद काफ्ले
उत्पादन राम्रो हुदाँ बजारको मन्दी अनि बजार राम्रो छ उत्पादन कमी । नेपाली कृषि उपजको बजारले धेरै अघि देखि भोग्दै आएको नियति हो यो । नेपालमा उत्पादित अधिकांश नगदेबाली र उपजहरुको भारत र सिमित तेस्रो मुलुक आश्रित बजारको स्थिरता र सुनिश्चिता देखिदैन । कहिले त्यहि बालीले किसानहरुमा उच्च आशा जगाइदिन्छ त कहिले निराशा । एकातिर बाली भित्र्याए पश्चात्का व्यवस्थित र प्रविधियुक्त सुविधा छैनन् । अर्कातिर उत्पादित कृषि उपज लामो समय भण्डारण गरेर राख्ने क्षमता छैन किसानसँग । परम्परागत निर्वाहमुखी र सिमित व्यवसायिकता उन्मुख नेपाली किसानलाई बाली भित्र्याउदा नभित्र्याउदै विक्रिको हतारो सधैं हुने गर्दछ । यसरी नै अनिश्चित बजारको मारमा सधैं पर्ने गर्दछन् नेपाली किसान । 

चिया, अदुवा, अलैंची, अम्लिसो, चिराइतो लगायतका नगदेबालीहरुको बजार यस्तै अस्थिरताबाट गुज्रीरहेको छ । दुधको बजार उस्तै छ । अघिल्लो वर्ष बाली भित्र्याउने यो सिजनमा रहेको अदुवाको मुल्य भन्दा अहिले झण्डै पाँच सय रुपैया कमि छ । अघिल्लो वर्षको मुल्यबाट उत्साहित अदुवा किसान अहिले निराश भएका छन् । चिराइतोको मुल्य झण्डै आधा घटेको छ । अलैंचीको मुल्य झनै अस्थिर छ । मुल्य निर्धारण अपारदर्शी छ । सडक सुविधाका नजीक रहेका ठाँउको भन्दा दुर्गमका किसानले झण्डै आधा मात्रै मुल्य पाउँछन् । ढुवानी लागत उच्च रहेको छ । अझ अहिले रहेको इन्धन अभावका कारण यो लागत सधैको भन्दा निकै बढी रहेको छ । धेरै कृषि उपजको निर्यात बजार भारतीय बजारमा आश्रित छ त्यसैले मुल्य निर्धारणको साँचो पनि उतैका बजारमा निर्भर हुने गर्दछ । गैरव्यपार अवरोध र झण्झटले कृषि उपजको निर्यातमा नकारात्मक प्रभाव पारेको छ । तेस्रो मुलुक निर्यातका लागि पार गर्नु पर्ने मापदण्ड र प्रावधानहरुका कारण सहजै ती बजारहरुमा प्रतिस्पर्धाका ढोकाहरु खुली सकेका छैनन् । त्यसैले गुजारा टार्ने हतारोमा रहेका किसानले उत्पादित वस्तु त्यतैको भाउमा विक्रि गर्न विवश झै छन् । यसबाट किसानलाई प्रत्यक्ष नोक्सान त भएकै छ देशकै निर्यात अर्थतन्त्र पनि साँघुरिएको छ । यसको सुक्ष्म, व्यवस्थित र विस्तृत अध्ययन गर्ने हो भने नेपालको कृषि अर्थतन्त्रमा परेको असर र प्रभाव अझै विकराल देखिन सक्छ । साना किसानको बाहुल्यता रहेको नेपाली कृषि क्षेत्रमा निर्यात बजारमुखी उत्पादन र प्रतिस्पर्धात्मक क्षमता पनि कमजोर रहेको छ । 

अन्य मुलुकमा जस्तो राज्य वा अन्य निकायबाट नेपालमा कृषि उपजको बजार प्रक्षेपणको तथा न्यूनतम् समर्थन मुल्य निर्धारणको सुविधा छैन । अघिल्लो बर्ष राम्रो बजार माग भएको आधार र अनुमानका आधारमा उत्पादन गर्ने गरीन्छ । यसरी उत्पादन र बजार योजना विना छरपष्ट रुपमा भएको उत्पादनको उचित बजार मौकाको खेल झै बन्ने गर्दछ । यसबाट कहिले किसानले सोचे भन्दा राम्रो र कहिले अत्यन्तै निराशाजनक मुल्य हातलागी हुने गरेको छ । व्यपारीहरु भन्ने गर्दछन्–भुटान, सिक्किम र पञ्जावमा अदुवाको उत्पादन राम्रो भयो भने नेपाली अदुवाको मुल्य पाउदैन । अलैंचीको हकमा पनि भारतमा भएको उत्पादनले यताको मुल्य निर्धारण हुने गर्दछ । नेपाली व्यपारीहरुको पहुँच अन्तिम बजारमा कम मात्रै हुन्छ । बजार माग आपूर्ति र मुल्य सम्बन्धी सुचनाहरु कम मात्रै प्राप्त हुन्छ । त्यसैले भारतीय व्यपारीहरुबाट जे मुल्य निर्धारण हुन्छ हामीले त्यसैमा कारोबार गर्न पर्ने हुन्छ । दिनहुँ जसो नगदेबालीको मुल्य घटबढ भइरहेबाट पनि यसको पुष्टि हुन्छ । कहिले र कुनबेला किसानले राम्रो वा नराम्रो मुल्य पाउँछन् भन्ने कुनै टुङ्गो हुदैन । कृषि उपजको निर्यात बजार झण्डै दुइतिहाई हिस्सा भारतीय बजारको रहेकाले भारतसँगको सम्बन्धको उतारचढावले नेपाली कृषि उपजको निर्यातलाई जुनसुकै बेला निमोठ्न सक्छ भन्ने कुरा अहिलेको नाकाबन्दीबाट अनुभव गरी सकिएको छ । निर्यात बजार र व्यपारको विविधीकरण नगरी नेपाली कृषिको निर्यात बजारलाई भरपर्दो बनाउन सकिदैन । यसो नहुँदासम्म कहिले किसानले केहि उच्च लाभ लिन सक्छन् भने कहिले नोक्सानीको मारमा परिरहेका हुन्छन् । हाम्रोमा यस सम्बन्धी व्यवस्थित र प्रभावकारी सम्यन्त्र र पद्धतिको विकास भएको पनि छैन । यसैले गर्दा नेपाली कृषि क्षेत्रको अपेक्षित व्यवसायिकरण हुन नसकेको हो । 

नेपाली कृषि उत्पादन, औद्योगिकरण र बजारीकरणका क्षेत्रमा थुप्रै समस्याहरु रहेका छन् । उपभोक्ता बजारकेन्द्रित गुणस्तर र परिमाणको उत्पादनका लागि उपयुक्त सीप, प्रविधि र लगानीको कमीले गर्दा उत्पादित उपजले बजार नपाउने समस्या रहेको छ । गुणस्तरीय उत्पादन सामाग्रीको सहज पहुँच र समयमा उपलब्धताको अवस्था छैन । मुल कुरा किसानमा व्यवसायिक सोच र अभ्यासको विकास भइसकेको छैन । अर्कातिर अपेक्षित प्रशोधन र औद्योगिकरण हुन नसक्दा न्यून मुल्यमा कच्चा पदार्थ नै विक्रि गर्नु पर्ने बाध्यता छ । स्वदेशी र विदेशी बजार प्रवद्र्धनका लागि आवश्यक सेवा र सुविधाहरुको विकास हुन सकेको छैन । देशको आर्थिक कुटनीतिको स्पष्ट खाका र रणनीति नहुँदा युरोप, अमेरिका र एशियाकै ठुला बजारसँगको सम्बन्ध र सम्पर्क विकास हुन सकेको छैन । अन्य मूलुकहरुले निर्यात व्यपारलाई सहज बनाउन द्विपक्षीय र बहुपक्षीय सम्झौताहरु गरेका हुन्छन् । सरकारले यस्ता व्यपारिक कुटनीति र सम्बन्धलाई उच्च प्राथमिकता दिएको हुन्छ । जसले गर्दा ती मुलुकमा उत्पादित कृषि उपजले सहज बजार पाएका हुन्छन् । हाम्रो सन्दर्भमा यो क्षेत्रले ज्यादै न्यून प्राथमिकता पाएको देखिन्छ । कागजीरुपमा कृषिलाई देश विकासको मेरुदण्ड मानिएपनि सोहिस्तरको प्राथमिकता र लगानी रहेको छैन । व्यवसायिक कृषि उद्यमलाई प्रोत्साहित गर्ने कार्यक्रमहरु अझै पनि बन्न सकेको देखिदैन । 

विशेष गरी पछिल्लो समयमा कृषि उपजको निर्यातका लागि प्राङ्गारिक तथा स्वच्छ उत्पादन प्रमाणीकरण अनिवार्य शर्तका रुपमा आएको छ । रासायनिक मल तथा विषादीको प्रयोग गरी उत्पादन गरिएका उपज युरोप अमेरिका र कतिपय एशियाका बजारमा समेत पठाउन बन्देज रहेको छ । विश्व व्यपार सङ्गठनको सदस्य भइसकेपछि यसका शर्तहरु समेत पालना गर्नु पर्ने हुन्छ । नेपाली किसानले उत्पादन गर्ने कृषि उपजहरु प्राकृतिक रुपमा नै प्राङ्गारिक (अर्गेनिक बाइ डिफल्ट) भएपनि यसको आधिकारिक निकायबाट प्रमाणिकरण हुन नसक्दा बजार पाउन सकेको छैन । अधिकांश साना किसानहरुसँग अर्गेनिक प्रमाणीकरणका लागि ति निकायहरु सम्म पुग्ने र तिनको सेवा शुल्क तिर्न सक्ने क्षमता छैन । सरकारले अर्गेनिक प्रमाणीकरणका लागि केहि सहुलियत दिने भएपनि एकाध बाहेक प्रमाणीकरण गर्ने निकायहरुकै उपलब्धता स्वदेशमा रहेको छैन । नासा, आइएमओ, रेनफरेष्ट लगायतका अन्तरराष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सीहरुको शुल्क महङ्गो भएकाले एक दुई वा केहि किसानले मात्रै वा साना उद्योगहरुले धान्न सक्दैनन् । युरोप अमेरिका वा अन्य देशका यस सम्बन्धी मापदण्ड पनि फरक फरक हुने भएकाले निर्यातबजारको पहिचान नगरी गरिने प्रमाणीकरणले पनि सघाउ पुर्याउन सक्दैन । यसले गर्दा जतिसुकै गुणस्तरीय र प्राङ्गारिक उत्पादन गरेपनि विदेशी बजारमा यसको प्राङ्गारिक पहिचान बन्न सकेको छैन । अहिले नेपालमा अर्गेनिक प्रमाणीकरण भएका सिमित उद्योगहरु मात्रै छन् । चियालाई तेस्रो मूलुक सम्म निकासी गर्न प्रमाणीकरण अनिवार्य नै छ । तर हजार किसान सम्लग्न भएका नेपालको चिया क्षेत्रमा अहिले सम्म चारबाटा उद्योग र तिनका किसान मात्रै अर्गेनिक प्रमाणीकरणबाट समेटिएका छन् । चियाको अपेक्षित निर्यातबजार नपाउनुमा अर्गेनिक प्रमाणीकरणकै कमी हो । अदुवा, दुग्द्य पदार्थ र अन्य कृषि उपजका हक समेत यस्तै समस्या रहेको छ । 

निर्यातका लागि उत्पादन गरिएका कृषि उपजहरुको रायायनिक, भौतिक एवम् जैविक मिसावट वा यसमा रहेका विविध तत्वहरुको परीक्षणका लागि सुविधा सम्पन्न, आधुनिक प्रविधियुक्त र सहुलियतपुर्ण प्रयोगशालाहरु छैनन् । यसैको अभावमा किसानले स्वच्छ र असल कृषि अभ्यास मार्फत उत्पादन गरेका कृषि उपजको समेत बजार पाउन सकिएको छैन । यस्तो अनिश्चिताका वीच उत्पादन गरिएका कृषि उपजहरुको बजार माग, मुल्य, गुणस्तर, आदिको प्रक्षेपण प्रणाली र सम्यन्त्र एवम् सुरक्षित भण्डारण, प्रशोधन र विविधिकरणको सुविधा र साना किसानहरुका लागि न्यूनतम् समर्थन मुल्य र स्वदेशी उद्योगधन्दाको संरक्षणमुखी कार्यक्रम नहुदाँ बजार समस्याको मारमा सधै किसान र यसमा आधारित उद्योगहरु परिरहेका छन् । परम्परागत र निर्वाहमुखी कृषिबाट व्यवसायिक र बजारमुखी उत्पादन प्रणालीमा रुपान्तरणको दोसाधमा रहेका नेपाली किसानहरुका लागि सुनिश्चित र दिगो निर्यात एवम् आन्तरिक बजारको विकासका लागि राज्य र नीजि क्षेत्रको साझेदारीमा ठोस् योजना कार्यन्वयनमा नआए सम्म नेपाली कृषिको उन्नयन सम्भव देखिदैन । भर्खरै आएको कृषि विकास रणनीतिको सफलता पनि यसैमा निर्भर रहने छ । कहिले आशा र कहिले निराशाको नियतिले विवश नेपाली किसानहरुलाई माथि उकास्न सम्बन्धित निकायहरुको ध्यान चाँडै पुगोस् । सन्दकपुर दैनिकाबाट
bishnukafle.ilam@gmail.com 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment