ताप्लेजुङ, ४ चैतः ‘एउटा छोरो घर बाँझो, एउटा गोरु हल बाँझो’ भन्ने उखानलाई ताप्लेजुङका एक कृषकले चुनौती दिएका छन् । ताप्लेजुङ नगरपालिकाका आठ साप्तेलका कृषक पारस बरालले पालेको एउटै गोरुले आफ्नो सम्पुर्ण खेत जोत्ने गरेका छन् । घरेलु प्रविधिबाट बनाइएको हलोको माध्यमबाट बरालले एउटै गोरुले अहिले सजिलै खेत जोतीरहेको देख्न सकिन्छ । सानो बारी र खेतमा पनि सजिलै जोत्न अनि पहाडी क्षेत्रका खेत र बारीका कान्लामा पनि गोरुलाई सजिलै उकाल्न सकिने भएको कारण यो प्रविधि सहज भएको बरालको भनाई रहेको छ ।
गाउँमा काम गर्ने कामदार अनि गोरु पाईन छाड्दै गएपछि उनले घरमा नै भएको एउटा गोरुलाई प्रयोग गरी सुरुमा जोतेको र राम्ररी जोत्न थालेपछि आफ्नो सबै खेतबारी एउटै गोरुले जोतेर बाली लगाएको कृषक बराल बताउँछन् । उनले निर्माण गरेको प्रविधिको प्रयोगबाट ताप्लेजुङ लगायत देशका विभिन्न पहाडी र तराई जिल्लाका कृषकले फाइदा लिन सक्ने उनले दाबी गरे ।
अहिले उनलाई अन्य कृषकले पनि हलो बनाई दिन आग्रह गर्ने गरेका छन् । एउटै गोरुले खेत बारी जोतेको र स–साना खेतबारीमा समेत जोत्न पनि सजिलो हुने भएपछि हलो सहित यो गोरु किन्नेहरुको लाईननै लाग्ने गरेको बरालले बताएका छन् । हलो सहित गोरुलाई ५० देखि ६० हजार रुपैयाँ सम्ममा किन्ने मान्छे आए पनि अहिले सम्म आफुले गोरु नबेचेको उनले बताए ।
एक हल गोरुलाई पाल्न भन्दा यो गोरुलाई पाल्न सजिलो हुने भएपछि गोरु किन्नेको भिड लागेको बरालले बताए । एउटा गोरुले मात्र जोत्नुपर्ने भएका कारण गोरुलाई राम्रो र पोषिलो खोले भने दिने गरेको बरालको भनाइ छ ।
युवाहरु कृषि क्षेत्रबाट पलायन भईरहेको समयमा र गाउँमा खेत जोत्ने गोरु पर्याप्त नपाईरहेको समयमा यस्तो प्रविधिलाई विकास गर्न सके कृषि क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ ।

0 comments:
Post a Comment