चियाबारी डेक्स
इलाम २८ चैतः आउँदो वैशाख भित्रमा ब्लड बैंक सञ्चालन गर्ने तयारीमा रहेको इलाम रेडक्रस ‘चन्दा लेखाएर पैसा नदिने दाता’को कारण अप्ठ्यारोमा परेको छ । सञ्चालन खर्चको अभावको कारण कर्मचारी व्यवस्था गर्न नसक्ने अवस्थामा रहेको रेडक्रस दाताले दिनुपर्ने सातलाख रुपैंयाँ भन्दा बढि रकम नपाएपछि अप्ठ्यारोमा परेको हो ।
रेडक्रसका लेखापाल बसन्त तिम्सिनाका अनुसार जिल्लाकै नाम चलेका व्यापारी र समाजसेवीले पाँच वर्ष अघि लेखाएको चन्दा दिएका छैनन् । पटक पटक सम्झाउँदा पनि वेवास्ता गरेपछि अन्तिम पटक चन्दादातालाई स्मरण पत्र पठाउने तयारी गरेको तिम्सिनाले बताए ।
शाखाले पाँच वर्ष अघि २८ लाख २६ हजार रुपैंयाँको लागतमा अत्याधुनिक भवन निर्माण सम्पन्न गरेको थियो । रकम अभावको कारण सामाग्री खरिदमा समस्या झेलेको शाखाले जर्मन दुतावासको १४ लाख १८ हजार रुपैंयाँ अनुदानमा युरोपियन स्टेण्डरको सामाग्री खरिद गरेको छ । तिम्सिनाले भने ‘टर्की र भारतबाट सामाग्री काठमाडौं आइपुगेको छ ।’ रेडक्रस लक्जेम्वर्गले १० लाख ५० हजार र शाखाले करिब १३ लाख रुपैंयाँ खर्च गरेर सम्पुर्ण सामाग्री जुटाएको तिम्सिनाले बताए । तिम्सिनाले भने ‘सबै सामान इलाम ल्याएर जडान गर्न मात्र बाँकी छ ।’ जडान पछि कर्मचारी पाल्ने व्यवस्था नभएको कारण चन्दादातालाई स्मरण पत्र पठाउनु परेको हो । चन्दादाताले २५ हजार देखि ५ हजार ५ सय रुपैंयाँ सम्म चन्दा लेखाएका छन् । सार्वजनिक स्थलमा ‘शानका साथ’ चन्दा लेखाउनेहरुमा जिल्लाकै गन्ने मान्नेहरु रहेको शाखाले जनाएको छ ।
चन्दा रकम हातपरे ब्लड बैंक सञ्चालनका लागि स्थापना गरेको अक्षय कोषमा राखेर कर्मचारी पाल्ने योजना बनाएको उनले बताए । सो कोषमा अहिले ६ लाख रुपैंयाँ जम्मा भएको छ । लेखापढी व्यवसायी संघले प्रत्येक वर्ष ५० हजार रुपैंयाँ सहयोग गर्दै आएको छ ।
इलाममा मासिक २० युनिट (प्रिन्ट) रगत आवश्यक पर्छ । इलाममा गतिलो अस्पताल नहुँदा यहाँका बिरामी सोझै झापा, बिराटनगर, धरान वा भारत तर्फ जाने गरेकाले पनि आवश्यकता भन्दा कम देखिएको हो । इलाम अस्पतालमै राम्रो सेवा हुने हो भने रगतको माग अझ बढ्ने बताइन्छ । शाखाले इलाममा खपत नभएको ब्लड झापा, बिराटनगर, धरान लगायतका ब्लड बैंकलाई हस्तान्तरण गर्ने योजना सहित कुरा अघि बढाएको तिम्सिनाले बताए । अहिले सम्ममा इलाम नगरपालिका–८ मा भवन र सामाग्री जोहो भएको छ । ब्लड बैंक सञ्चालनमा आउन नसकेपछि अहिले इलामका २७५ महिला र १८७९ पुरुषले आकस्मिक रक्तदान गर्दै आएका छन् । इलाममा ब्लड बैंक नहँुदा रक्तदन कार्यक्रममा संकलन भएको रगत झापा, बिराटनगर, धरानका ब्लड बैंकमा पठाइने गरेको छ । इलामको ब्लड बैंकलाई ब्लड कलेक्सन सेन्टरका रुपमा विकास गर्ने योजना बनाएको रेडक्रसले जनाएको छ । झापा, बिराटनगर वा धरानको ब्लड बैंकले कर्मचारीको व्यवस्था गरिदिए सो सम्भव हुने इलाम रेडक्रसले जनाएको छ ।
0 comments:
Post a Comment