तरकारी खेतिबाट मनग्ये आम्दानी गर्दै इलामे युवाहरू


इलाम, १ बैशाखः एक दशकदेखि व्यवसायिक तरकारी खेति थालेका इलाम नगरपालिका–३ खाल्डेका बालकुमार राईले तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् ।  वि.सं.२०५९ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका राईले बन्दाकोपी, फुलकोपी, टमाटर, ब्रोकाउली, मुला, रायो बिक्री गरेर छ लाख ७५ हजार आम्दानी गरे ।  सुरूमा खेतालापात र मेलापातमा जाँदा ५० रूपैयाँ दिन्थे, दिनभर मेलापात गर्दा बेलुका हातमुख जोर्ननै समस्या हुन्थ्यो तर अहिले त्यस्तो समस्या छैन्, दुई चार पैसा कमाएकै छु, राईले भने ‘तरकारी खेती सुरू गरेपछि यसबाट राम्रो कमाई हुन थालेको छ ।’ 
इलोई बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध भएर तीन हजार ऋण लिंदा तिर्न धौ–धौ परेको स्मरण गर्दै उनले भने ‘संस्थाबाट ऋण लिएर तरकारीको बीऊ खरिद गरें । त्यही तरकारीको कमाईले ऋण तिरें र केही आम्दानी गरें ।’ 
खेतालाबाट ल्याएको ५० रूपैयाँले परिवार र घर व्यवहार चलाउन धेरै गाह्रो प¥थ्यो । दिनभरी ज्यालादारी गरेपनि हातमुख जोर्नकै समस्या भएपछि उनले तरकारी खेति सुरू गरेका हुन् । 
तरकारी खेतिबाटै उनले २०६५ सालमा इनपा–३ मा आठ लाख रूपैयाँमा एक रोपनी जग्गा खरिद गरे । जेनतेन जग्गा त जोडियो तर घर बनाउने उपाय भएन् । अर्काे वर्ष भएको तीन लाख आम्दानीले उनले घर बनाए ।  व्यवसायिक खेतीमा लाग्नुभएका बालकुमार मात्र होइनन् दुई वर्षअघि जग्गा भाडामा लिएर तरकारी खेति, कुखुरापालन व्यवसाय गर्दै आएका देउमाई नगरपालिकाका सुवास घिमिरेले पनि मनग्ये आम्दानी गर्न सफल भएका छन् । काङ्ग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष विष्णु कार्की र घिमिरेले संयुक्त रूपमा करिब पाँच लाख लगानी गरेर गोदक–१ राजदुवालीमा २० रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेति थालेका हुन् ।  
उनीहरूले टमाटर, च्याऊ, कोपीका साथै बोइलर कुखुरापालन समेत गरेका छन् । खर्च कटाएर पनि गत वर्षनै तीन लाख आम्दानी भएको र यसपाली छ लाख आम्दानी भईसकेको सुवासले बताए । ‘रोजगारीको लागि विदेशिनुभन्दा स्वदेशमै केही गर्दा दुई÷चार पैसा कमाउन अर्काको मुख ताक्नुपर्दैन्,’ सुवास भन्छन् ‘गर्नसके स्वदेशमै मनग्ये आम्दानी गर्न सकिन्छ ।’ करिब १० वर्षका लागि वार्षिक ५० हजारमा जग्गा भाडामा लिएर तरकारी खेति सुरू गरेपछि जिल्ला कृषि विकास कार्यालयले युवालक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत अनुदानमा तरकारी खेतिसम्बन्धी उपकरण उपलब्ध गराएको विष्णुले बताए । फर्ममा दुई जनालाई रोजगारी समेत दिलाइएको उनीहरुको भनाई छ । 
कोल्बुङ–१ का घनश्याम मुखियाको आम्दानीको गतिलो श्रोत च्याऊ खेति गरिरहेको छ । दुई वर्षदेखि निरन्तर च्याऊ खेतिमा सङ्लग्न मुखियाले च्याऊ बिक्री गरेर वार्षिक डेढलाख भन्दा बढी आम्दानी गरेको बताए । 
संस्थामा आवद्ध भएपछि योगेन्द्रमान श्रेष्ठबाट निरन्तर खेतिसम्बन्धी सीप सिकेर दक्ष बनेको बताउँदै राईले भने ‘मेरो प्रगतिमा जिल्ला कृषि विकास कार्यालय र इलोई संस्थाको महत्वपूर्ण योगदान छ ।’ उनले तरकारीमा हाल्नका लागि आफैं गड्यौले मल तयार गर्छन् ।  
राईले इनपा–३ खाल्डेमा वार्षिक २५ हजार तिर्ने गरी २० रोपनी जग्गा लिजमा लिएका छन् । उक्त जग्गामा अहिले लहलह तरकारी फलाइएको छ । तरकारीमा खेतिमा आफ्नै आफन्तलाई रोजगारी दिएका छन् । ‘खर्चबर्च कटाउँदा वार्षिक सात लाख रूपैयाँ आम्दानी हुन्छ, उनी भन्छन् ‘खटाई अनुसारको कमाई राम्रै छ ।’ 
तरकारी खेतीबाट भएको आम्दानीले छोरा विष्णुलाई बोडिङ स्कूलमा पठाएका छन् भने घरखर्च पनि यहीबाट टर्ने गरेको उनी बताउछन् । घरसम्म गाडी नपुग्दा राईले उत्पादन गरेको तरकारी पिठ्युमा बोकेर बजारसम्म ल्याउछन् । 
जिल्ला कृषि विकास कार्यालयले उनीलाई विगत देखिनै व्यवसायिक तरकारी सम्बन्धी तालिम, अनुदान उपलब्ध गराउँदै आएको छ । गतवर्ष र यो वर्ष युवालक्षित कार्यक्रम अन्तर्गत तरकारी खेतीका लागि ४०÷४० हजारका दरले अनुदान उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगी बताउँछन् । कृषि विकास कार्यालयमा अनुदानका लागि निवेदन दिने करिब सात सय कृषक रहेकोमा ती मध्ये ६० जनालाई छनौट गरी अनुदान उपलब्ध गराएको छ । व्यवसायिक तरकारी खेतीमा सङ्लग्न हुने र खट्ने हो भने जाने विदेश पलायन हुनबाट युवाशक्तिलाई रोक्न सकिने वरिष्ठ कृषि विकास अधिकृत डाँगीको भनाई छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment