वैदेशिक रोजगारी सेवा शुल्क दोब्बर बनाउने तयारी
इलाम, १० बैशाखः खाडी मुलुक र मलेसियामा काम गर्न जाने नेपालीहरू निःशुल्क जानपाउने भनिएता पनि वैधानिक रुपमै पहिले सेवा शुल्क रु. १० हजार बनाइएको थियो भने अब यसलाई दोब्बर बनाउने अन्तिम तयारी हुँदैछ ।
श्रम शुल्क दोब्बर बनाउनुपर्ने माग सहित व्यापारीले नयाँ भिसा मगाउन बन्द गरेको र विदेश जाने नेपालीको संख्यामा ठूलो कमी आएपछी सरकार सेवा शुल्क बढाउन तयार देखिएको हो ।
श्रम तथा रोजगार मन्त्रालयको श्रोतले अब शुल्क चाँडै दोब्बर हुने संकेत गरेतापनि श्रम मन्त्री दीपक बोहोराले सो कुरा इन्कार गरेका छन् । मन्त्री बोहोराले सरकार व्यवसायीसँग निरन्तर वार्तामा रहेका बताउँदै भने, ‘यसै हुन्छ भन्न सकिन्न, उनीहरु (व्यवसायी) ले सेवा शुल्क दोब्बर बनाउन माग गरेका छन् ।’ तर विगतको सरकारले गरेको निःशुल्क भिसा र निःशुल्क टिकटको निर्णयभने नउल्टिने मन्त्री बोहोराले बताए ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सेवा शुल्क २० हजार रुपैयाँ नपुगेसम्म कामदार पठाउन नसकिने बताए । ‘अहिलेको सेवा शुल्कमा कामदार खाडी मुलुकमा पठाउन सकिन्न,’ उनले भने, ‘सरकार शुल्क बढाउने विषयमा सकरात्मक देखिएको छ ।’
व्यवसायीले गत फागुन २२ गतेदेखि एक महिनासम्म आन्दोलन गरेका थिए । सरकारले उनीहरुको माग सम्बोधन गर्ने बताएपछि आन्दोलन फिर्ता लिएको गुरुङको भनाई छ । केही व्यवसायीले संघको निर्णय विपरीत कोटा ल्याएको र त्यस्ता व्यवसायीलाई संघको कार्यसमितिले निर्णय गरेर कारबाही गर्ने बताए ।
‘भिसा लगाएर बसेका कामदारलाई मात्रै विदेश पठाइएको हो । नयाँ कोटा ल्याइएको छैन,’ उनले भने, ‘नयाँ कोटा ल्याएर कामदार पठाउने व्यवसायीलाई कारवाही हुन्छ ।’ खाडीका ६ मुलुक (साउदी अरब, कुबेत, बहराइन, ओमान, संयुक्त अरब इमिरेट्स, कतार) तथा मलेसिया जाने कामदारका लागि तोकिएको १० हजार रुपैयाँ सिलिङको सेवा शुल्क बढाउन व्यवसायीले माग गरेको हुन ।
गएको असार २१ गतेदेखि लागू हुने गरी सुरु गरिएको निःशुल्क भिसा र टिकटको निर्णयपश्चात म्यान पावर एजेन्सीले प्रतिव्यक्ति १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने नियम लगाईएको थियो ।
स्रोतका अनुसार मन्त्रालयका उच्च अधिकारीले मेनपावर सञ्चालक र वैदेशिक रोजगार व्यवसायी सघंका पदाधिकारीलाई हाल तोकिएको सेवा शुल्कलाई २० हजार रुपैयाँसम्म पु¥याइने आश्वासन दिइसकेका छन् ।
अघिल्लो महिना कर छलीको आशंकामा आन्तरिक राजस्व विभाग र मानवतस्करी तथा ठगीको आशंकामा प्रहरीले मेनपावर कार्यालयमा छापा मारेपछि विरोधमा उत्रिएका व्यवसायीले पछिल्लो समयमा सके निःशुल्क भिसा र टिकटको निर्णय उल्ट्याउनु पनर्,े यदि जनस्तरबाट चर्को दबाब आए हाल लिँदै आएको सेवा शुल्क दोब्बर गर्नुपर्ने मन्त्रालयका अधिकारीसमक्ष लविङ गरिरहेका छन् ।
आप्रवासी लगायत कामदारको अधिकारको पक्षमा काम गर्दै आएका निकायले आर्थिक लगानीबिना हरेक व्यक्ति वैदेशिक रोजगारीमा जान पाउनु पर्ने आवाज उठाइरहेको बेला मन्त्रालयका अधिकारीहरू मेनपावर सञ्चालकको दबाब खेप्न नसकी सेवा शुल्क वृद्धि गर्ने तयारी गरेपछि चर्को विरोध हुन थालेको छ । यद्यपि मन्त्रालयका अधिकारीले अघिल्लो सरकारले गरेको निःशुल्क भिसा र टिकटको निर्णयलाई नउल्ट्याउने प्रष्ट पारेको छन् । निःशुल्क भिसा र टिकटको निर्णय खारेज हुँदा जनस्तरबाट चर्को विरोध उत्पन्न हुन सक्ने भएकाले मन्त्रालयका अधिकारी सेवा शुल्कको रकम वृद्धि गर्ने तयारीमा पुगेको स्रोतको दावी छ । मन्त्रालयले सेवा शुल्क लगायतका विषयमा मेनपावर सञ्चालकसँग छलफल गर्न सहसचिव गोविन्दमणि भूर्तेलको संयोजकत्वमा सरकारी टोली गठन गरेको छ । मन्त्री बोहराले व्यवसायीका तर्फबाट १० हजार रुपैयाँको सेवा शुल्क निकै कम भएको गुनासो आइरहेकाले १० हजार रुपैयाँ कम हुनुको आधार मागिएको बताए ।

0 comments:
Post a Comment