गोदक, १० बैशाखः पशु सेवा निर्देशनालय विराटनगरका क्षेत्रिय निर्देशक डा शुदर्सनप्रसाद रेग्मीले पशुपालनबाट कृषक व्यवसायीक बन्न कम्तिमा पाँचवटा गाई पाल्नै पर्ने वताएका छन् । पाँचवटा गाई नभएका कृषि फर्मलाई कार्यालयले दिने सेवा प्रदान गर्न नसकिने उनको भनाई छ । गुणस्तरीय दुध उत्पादन गर्न कृषक लाग्नु पर्ने धारणा राख्दै डा. रेग्मीले गोदक गाविसमा उत्पादन भएको दुधले इलाम आत्मा निर्भर हुन सक्ने वताए । इलामको गोदकमा जौवारी कृषि सहकारीले प्रकाशन गरेको संस्थाको स्मारिका विमोचनका क्रममा इलाम आएका उनले कृषक संगठित हुनु पर्नेमा जोड दिए । कार्यक्रमा पशु सेवा कार्यालय इलामका पशु चिकित्सक पशुपति ढुङ्गानाले एक वर्ष भित्रमा गुणस्तरीय दुध उत्पादनमा कृषक नलागे दुधको बजार अभाव हुने वताए । यहि तुलनामा दुध उत्पादनमा बृद्धि हुँदै गए गुणस्तरीय दुधले मात्र भाउ पाउने र गुणस्तरहिन दुध बिक्न नसक्ने उनको भनाई थियो । २०५३ सालमा गोदकमा स्थापना भएको सहकारीले स्थापना भएयताका हालसम्मका क्रियाकलापहरुलाई समेटेर स्मारिका तयार पारेको संस्थाका अध्यक्ष गोविन्दप्रसाद अधिकारीले वताए । सो सहकारीले किसानहरुबाट उत्पादित दुध बिक्रिबाट सञ्चय कोषको समेत व्यवस्था गरेको छ । प्रतिदिन कृषकले बेच्न ल्याएको दुधबाट प्रतिलिटर एक रुपयाँका दरले सञ्चय कोषमा जम्मा हुने गरि रकम जम्मा गर्ने र जम्मा भएको रकम किसान साठी वर्ष भएपछि फिर्ता गर्ने संस्थाले जानकारी दिएको छ । सञ्चय कोषमा संस्थाले कृषकले जम्मा गरेको वराबर नै रकम थपिदिने जनाइएको छ ।
दैनिक करिव १२ सय लिटर दुध संकलन गर्दै आएको सो संस्थाले दुई हजार लिटर क्षमता भएको आफ्नै चिलिङ भ्याट समेत राखेको छ ।
संस्थाले पशुधनको सुरक्षाका लागि तीन सय वढि पशुको बिमा समेत गराई सकेको बिमा समिति संयोजक नवराज खतिवडाले जानकारी दिए ।

0 comments:
Post a Comment