इलाम, ९ वैशाखः एकै व्यक्तिले धेरैवटा सहकारीबाट कारोबार गर्दा विकृति बढेपछि सरकारले एक व्यक्तिले एउटा मात्र सहकारीमा मात्र सदस्य बनि कारोवार गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
एकैजना व्यक्ति धेरैवटा संस्थामा सदस्य बनेर कारोवार गर्दा सहकारीमा अपराध बढेको सरकारको निष्कर्ष छ । ‘एकै व्यक्तिले धेरैवटा सहकारीबाट कारोवार गर्दा अपराध बढेको छ,’ सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले भने, ‘यसलाई नियन्त्रण गर्न प्रस्तावित कानुनको मस्यौदामा एक व्यक्ति एउटामात्र सहकारीको सदस्य बन्न पाउने व्यवस्था गरिएको हो ।’
सहरी क्षेत्रहरूमा सहकारीहरू धेरै भएकाले एकै व्यक्तिले धेरैवटा सहकारीमा सदस्य बनेर कारोवार गर्ने गरेका छन् । विशेषतः सहरी क्षेत्रमा व्यापारीहरू ऋण लिनकै लागि धेरै सहकारीमा सदस्य बन्ने गरेको सहकारीका सञ्चालकको भनाइ छ ।
यो काम नियमविपरीत र जोखिमपूर्ण छ भन्ने थाहा भएर पनि बजारमा टिक्न काम गर्नुपरिरहेको उनीहरुको भनाइ छ ।’ सहकारीमा कर्जा सूचनाको सेवा नहुँदा व्यक्ति कुन–कुन सहकारीमा सदस्य भएको र ऋण लिएको जानकारी नभएकाले समस्या भएको उनीहरु बताउँछन् ।
सहकारी विभागको तथ्यांक अनुसार ३२ हजार सहकारीमा ५१ लाख सर्वसाधारण आबद्ध छन् । तीमध्ये एक तिहाइ सदस्यले एकभन्दा बढी सहकारीमा कारोवार गर्ने गरेको विभागको अनुमान छ ।
सहकारी मन्त्रालयले तयार पारेको नयाँ ऐनको मस्यौदामा सदस्यलाई व्यवस्थित गर्नका लागि नगरपालिकाका वडा र गाउँ विकास समितिमा एउटामात्र बचत तथा ऋण सहकारी हुने प्रस्ताव गरेको छ । यसअघिको ऐनमा सहकारी संस्थाको सदस्य बन्न कानुनी बन्देज नभएका कारण एकै व्यक्ति धेरैवटा सहकारीको सदस्य बन्दै आएका थिए । एकै व्यक्तिले धेरैवटा सहकारी संस्थाबाट ऋण लिएर फरार भएका सयौं उजुरी पनि सहकारी विभागमा परेका छन् ।
यसैगरी, समस्याग्रस्त सहकारीको बारेमा अध्ययन गर्न गठित भएको जाचबुझ आयोगले पनि एकै व्यक्ति धेरैवटा सहकारीमा कारोवार गर्दा विकृति बढेको प्रतिवेदन सरकारलाई दिएको थियो । दुई वर्षअघि बुझाएको प्रतिवेदनमा १३५ समस्याग्रस्त सहकारीमा सर्वसाधारणको १० अर्ब रुपैयाँ फसेको र अर्बौं जोखिममा रहेको उल्लेख गर्दै सहकारीलाई तत्काल व्यवस्थित गर्न आग्रह गरेको थियो ।
आयोगको सुझावअनुसार नै मन्त्रालयले ऐनको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा दर्ता गरेको छ । तर, ऐनका प्रावधानप्रति सहकारीका संघहरूले विरोध गरेपछि मस्यौदा मन्त्रिपरिषदमा अड्किएको छ ।

0 comments:
Post a Comment