इलाम, २१ वैशाख: लामो समयदेखि पानी नपरी खडेरी लागेका कारण इलामको विभिन्न स्थानमा खानेपानीको हाहाकार हुन थालेको छ । पानीको अभाव भएपछि मानव वस्ती, पशु चौपाया र खेतीपातीमा प्रत्यक्ष असर पर्न थालेको छ । पानीको अभाव भए पछि पानीकै निहुँमा झगडा र नकारात्मक क्रियाकलाप पनि हुने गरेको पाईएको छ ।
इलाम सदरमुकाममा यो सिजनमा मात्र हैन १२ महिना नै पानीको अभाव भइरहेको छ । यहाँ माग भन्दा कम पानी आएका कारण समस्या भएको हो । इलाम नगरपालिकामा जिल्लाको उत्तरी गाविस माइमझुवाबाट पानी इलाम सदरमुकाममा ल्याइएको छ । तर माग बमोजिम पानी आउन सकेको छैन ।
जिल्लाको देउमाई नगरपालिका, सुर्योदय नगरपालिका, लगायत विभिन्न गाउँ र वस्तीमा पानीको चरम अभाव भएको छ । पानी नहुँदा विशेष गरि भाडाँ बस्ने विद्यार्थीलाई समस्या हुने गरेको उनीहरुको भनाई छ । कर्मचारी, मजदुर तथा अन्य मानिसलाई समेत यसले असर गर्ने गरेको उनीहरुको भनाई छ ।
पानी अभावले समस्या भएको इलाम सोयाङका ओमकार चापागाइँ बताउँछन् । उनले भने ‘परीक्षा आइसक्यो पानी बोक्नु कि पढ्नु ? समस्या भयो ।’ उनी इलाम सदरमुकाममा बसेर कक्षा ११ को परीक्षा दिने तयारी गरिरहेका छन् । उता देउमाई नगरपालिकाको मंगलबारे बजारमा समेत पानी अभावले स्थानीयलाई सास्ती भएको स्थानीय धिरेन श्रेष्ठ बताउँछन् । उनी यस्तो समस्याबारे सम्बन्धित निकाय बेखवर रहेको बताउँछन् । विशेष गरि गाउँमा भन्दा बजार क्षेत्रमा पानीको हाहाकार बढेको छ ।
गाउँमा पनि पानी पर्याप्त नहुँदा सिंचाईंमा समस्या भएको छ । किसानले लगाएको अन्न तथा तरकारी बाली सुक्न थालेको छ । पानी अभावका कारण आम्दानी भन्दा पनि बिऊको दाम नै उठाउन गाहे हुने अवस्था भएको उनीहरु बताउँछन् । महमाई ३ गोतमेटारका किसान हेमबहादुर लिम्बुका अनुसार खडेरी यस पटक मकै र धानको उत्पादन घट्ने बताउँछन् ।
यता फुएतप्पाका स्थानीय रामजी रेग्मीका अनुसार लामो खडेरीको कारण सागसब्जी लगायतका कृषि उपजमा प्रत्यक्ष असर पर्ने बताउँछन् । उनका अनुसार इस्कुसलाई खडेरीले सखापै पारेको छ । वैकल्पिक श्रोतको खोजी गरेर भएपनि तत्काल पानी ल्याइनुपर्ने स्थानीयको माग छ ।
उता जिर्मलेको १ देखि ३ नम्बर बाहेक ६ नम्बर वडासम्म पानीको अभाव छ । त्यहाँका बासिन्दाले मुहानको रुपमा प्रयोग गर्दै आएको सुर्योदय नगरपालिका १३ तारगाउँको पानीको मुहान स्थानीय सिंहदेवी सामुदायिक वनले रोक्ने आशयको पत्र पठाए पछि यतिबेला जिर्मलेमा पानीको अभाव सिर्जना भएको छ ।
जिर्मले गाविसको १, २, ४, ५ र ६ नम्बर वडाका उपभोक्ताले उपभोग गर्दै आएको खानेपानीको मुहान सामुदायिक वन समुहको क्षेत्रमा पर्दछ । सामुदायिक वनले जिर्मले खानेपानी उपभोक्ता समितिलाई प्रत्येक उपभोक्ताबाट १ हजारका दरले रकम उठाइ सामुदायिक वनलाई तिनुपर्ने अन्यथा मुहान रोक्ने जनाई पत्र पठाए पछि जिर्मलेबासी आतंकित भएका हुन् । २०४१ सालबाट जिर्मलेबासीले उपभोग गर्दै आएको सो पानीको अहिले आएर रकम माग गरेपछि समस्या भएको जिर्मले खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कार्यालय सचिव याम अधिकारीले बताए ।
उपभोक्ता समितिसँंग सामान्य मर्मत गर्ने बाहेको कुनै कोष नभएको र ज्याला मजदुरी गरेर छाक टार्ने कति उपभोक्ताहरुले रकम तिर्न नसक्ने कार्यालय सचिव अधिकारी बताउछन् । एक सय ४५ घरका करिब ९ सय उपभोक्ता र जिर्मले प्रहरी चौकी र विद्यालयका विद्यार्थीले समेत त्यही पानी उपभोग गर्दै आएका छन् । जिर्मलेका उपभोक्ताहरुले पानीको समस्या समाधान गरि दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला विकास समिति इलामसँग अनुरोध गरेका छन् ।
उता सिंहदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठाकुर गड्तौला पानीको मुहान संरक्षण नभए पानी सुक्ने भएकाले संरक्षणका लागि रकम माग गरेको बताउछन् । वन क्षेत्रमा आम्दानीको श्रोत केही नभएकोले समुहको आम्दानीको रुपमा रकम माग गरिएको अध्यक्ष गड्तौलाको भनाइ रहेको छ । सुरुमा प्रत्येक उपभोक्ताबाट १ हजारका दरले रकम माग गरिएको र सो रकमबाट वनको कार्ययोजना बनाई मुहान संरक्षणका कार्यहरु सुरु हुने उनले बताए । करिब २ सय घर उपभोक्ता रहेको सामुदायिक वन १ सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन क्षेत्रमा सबै जिर्मले गाबिसलाई पुग्ने गरीको पानीको मुहान भएकाले त्यसको संरक्षण गर्न समितिको निर्णय बमोजिम रकम माग गरिएको उनले दाबी गरेका छन् । वन संरक्षणका लागि कपासे क्यामुना मौवा मलाता बेपारी आदि जातका बिरुवा रोप्ने कार्यक्रम रहेको अध्यक्ष गड्तौलाले बताए । उता जिर्मले खानेपानी तथा सरसफाई समितिका कार्यालय सचिव याम अधिकारी भने आफुहरुले केही रकम तिर्न तयार भए पनि उपभोक्ताले निकान्न नसक्ने गरी वनले रकम माग गरेको बताउछन् । सामुदायिक वन र खानेपानीको समस्या समाधान गर्न जिल्ला वन कार्यालय इलामले वन उपभोक्ता समितिलाई पत्र पठाएको छ । वनको पत्रमा कुन उद्देश्यले के प्रयोजनको लागि रकम माग गरिएको २ दिन भित्रमा जानकारी गराउन भनि उल्लेख भएको छ ।
0 comments:
Post a Comment