बजारमा भारतीय आँप, कुन आँप कसरी चिन्ने ?


अहिले बजारमा भारतबाट आयात गरिएको आँप देखिन थालेको छ । बजारमा आँप देखिन थालेपनि उपभोक्ताले भने त्यति चासोका साथ किन्ने नगरेको कालिमाटी फलफूल थोक बजारका व्यापारी हरिप्रसाद तिवारीले बताए ।
भारतमा हिउँदको समयमा नै फल लाग्ने र चाडै नै पाक्ने आँप हो अहिले बजारमा आएको तर कम वर्षाको कारणले सिजनको आँप भन्दा कम स्वादिलो हुने तिवारीले बताए । अहिले भारतबाट दैनिक रुपमा ३ टनको हाराहारीमा वैगुनफली र दशहरी आँप नेपाल आइरहेको उनले बताए ।
होलसेल बजारमै आँप अहिले प्रतिकिलो १ सय ३० रुपैयाँको हाराहारीमा रहेको छ । बाहिर खुद्रा व्यापारीले भने ल्याएको आधा भन्दा बढी आँप गर्मीका कारण चाडैँनै बिग्रने भएपछि प्रतिकिलो २ सय रुपैयाँको हाराहारीमा बेच्ने गरेको उनले बताए ।
अब विस्तार वर्षा सुरु हुँदै गएपछि आँपको माग बढ्ने र मूल्य पनि कम हुँदै जान्छ । नेपाली आँप बजारमा आउन साथ प्रतिकिलो ७० रुपैयाँको हाराहारीमै उपभोक्ताले पाउने उनले बताए । भारतीय आँप भने अलि छिटै बजारमा आउने र केही मंहगो पर्ने तिवारीले बताए । 
दशहरी
यो बजारमा आउने आँप मध्ये एक प्रख्यात आँपको जात हो । यो आँपको रुख मध्यम आकारको हुन्छ । यो आँप सिधा, फल मध्यम, फलमा नाक नभएको लाम्चो, गुदी पहेंलो, रेशा विहिन ठोस गुदी, स्वाद अति मिठो, चिल्लो वोक्रा भएको सुगन्धयुक्त  हुन्छ। भण्डार क्षमता राम्रो भएको मध्यको मौसमी जातको आँप हो ।
मालदह
रुख मध्यम, फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेंलो, सुगन्धित रसिलो र मिठो स्वाद हुन्छ । यो आँप भण्डारको क्षमता भने कम हुने मध्य मौसमी जातको आँप हो ।
बम्वै ग्रिन
रुख मध्यम र सिधा, मध्यम अण्डा आकारको फल, वाह्य रङ स्याउ जस्तो हरियो, गुदी सुन्तला रङको रसदार र स्वादिलो, थोरै रेशा भएको हुन्छ। यो आँपको भण्डार क्षमता अति नै उत्तम हुनुपर्छ । 
चौसा 
यो आँपको रुख अग्लो र हाँगा फिजिएको हुन्छ । यसको फल केहि ठूलो लगभग ३ सय ५० ग्राम, करिब करिब लाम्चो आकारको, गुलियो, फल रसदार, कम रेसा भएको, पहेँलो रङ गाढा हुन्छ । यो श्रावण तिर पाक्ने पछौटे जातको र भण्डार क्षमता राम्रो भएको आँपको एक प्रचलित आँप हो ।
तोतापरी
यो आँप सुख्खा क्षेत्रको लागि सुहाउँदो र पुड्को मध्यम खालको आँप हो । यो आँप सिधा, फल मध्ययमदेखि ठूलो आकारको, बाङ्गोटिङ्गो आकारको सतह नरम, बोक्रा मध्यम बाक्लो, गुदी सुनौलो पहेँलो र रसदार  मिठो स्वाद, रेशा नभएको बढी फल्ने आँप हो । कम भण्डार क्षमताको भएको पछौटे जात आँप हो ।
कृष्णभोग
यो आँपको रुख मध्यम हुन्छ । यो आँपको आकार लगभग करिब करिब गोलो र बोक्रा वाक्लो भएको हुन्छ । साथै गुदी हल्का पहेंलो, रसदारयुक्त मिठो स्वादको हुन्छ । यो आँपको भण्डार क्षमता उत्तम भएको अगौटे जातको आँप हो ।
फनली
यो ठूलो रुख हुने पुरानो जातको आँप हो ।  लाम्चो आकारमा हुने फल ५ सय ग्राम सम्मको तौल हुन्छ । साथै गुदी गुलियो र रेशाविहिन हुन्छ । यसलाई फर्सी आँप पनि भनिन्छ र यो पछौटे जातको आँप हो ।
आँपबाट थुपै थरिका मिठो र स्वादिष्ट परिकार पनि बनाउन सकिन्छ, जस्तै आँपको चटनी, आँपको जुस, आँपको जाम, आँपको माडा, आँपको स्क्वास, आँपको क्याण्डी, आँपको अचार लगायतका थुप्रै परिकारहरु बनाउन सकिने व्यापारीहरुले बताए । साथै आँपमा शक्ति, कार्वोहाईडेट, प्रोटिन कोलेष्ट्रोल, डाण्टरी रेशा, भिटामिनहरु सि, ए, ई र के, सोडियम, पोटासियम,  क्याल्सियम लगायतको थुप्रै तत्वहरु पाउन सकिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment