साकफाराबासीलाई गाविस भवन पुग्नै समस्या, नयाँ भवन पायक पर्ने स्थानमा बनाउन माग

साकफारा, १७ जेठः इलाम जिल्लाको अति दुर्गम गाविस भनेर चिनिएको साकफारा गाविसको भवन अपायक स्थानमा भएको सर्वत्र गुनासो हुन थालेको छ । उत्तरी मोरङको जाँते, टाँडी, भोगटेनी, रमिते जस्ता गाविससँग सीमाना गाँसिएको यस गाविसको दक्षिणमा मोरङकै मधुमल्ला र उत्तरमा पाँचथरको लिम्बा, दुर्दिम्बा गाविससम्म सीमा जोडिएको छ । 
भौगोलिक हिसाबबाट अहिलेको गाविस कार्यालय वडा नं. ७ को दशमी बजारमा राखिएको छ । जुन यस गाविसको वडा नं. ७, ८ र ९ लाई मात्र पायक पर्दछ । गाविसको कार्यालय आउनको लागि वडा नं. २ तोरीबारीका बासिन्दालाई कम्तिमा ६ घण्टा हिड्नु पर्ने बाध्यता रहेको छ । तोरीबारीकी निर्मला घिमिरेले चियाबारी दैनिकसँग भनिन्– ‘गाविस कार्यालय जानु हाम्रो लागि महाभारत हो । वर्षातको समयमा त कल्पनै गर्दैनौ ।’ वर्षाको बेला मावा खोला तर्न सकिदैन, चुरेको बाटो एक पाईले क्षेत्रमा बाटो जोडिएको छैन् । त्यस माथि गाविस भवन पाँचथरको सीमानामा राखिदिएकोले काम गर्न अति नै समस्या रहेको घिमिरेले बताईन् ।
साकफारा वडा नं. ४ का राजेन्द्रकुमार राईका अनुसार साकफारा गाविसको भौगोलिक अवस्था हेर्दा अहिलेको स्थान अपायक रहेकोले अब बनाउन लागेको भवन सबैलाई पायक पर्ने स्थानमा बनाउनु पर्ने बताए । उनले भने– ‘अहिलेको स्थान असाध्यै अपायक छ । तोरीबारी, आसेटार, फुङनाम, दशमी, वैदे, कालापानी, लेकगाउँ सबैलाई पायक पर्ने स्थान भनेको साकफारा चार हो । यस स्थानमा गाविस भवन बन्नु भनेको गाविसबासीलाई न्याय गर्नु हो ।’
साकफारा वडा नं. ३ फुङनामका दिपक श्रेष्ठका अनुसार गाविसको पायक क्षेत्र भनेको चार नं. वडा हो त्यहाँ गाविस बन्नु भनेको सबैलाई सहज हुनु हो । ‘दशमीका साथीहरु पनि अलिकति तल झर्न सक्नु पर्छ अनि फुङनामका पनि केहि माथि जान सक्नु पर्छ ।’
साकफारा वडा नं. ४ रमितेकी मीनाकुमारी राईका अनुसार अहिले गाविस रहेको जग्गा ऐलानी जग्गा रहेकोले त्यहाँ नयाँ गाविस भवन बनाउनु भनेको सरकारको नियम नमान्नु बराबर हो । ‘गाविसले नैं ऐलानी जग्गा ओगट्छ भने त्यसको सिको अरुले पनि गरिहाल्छ नि । सबैलाई पायक पर्ने स्थानमा भवन बनाउने हो भने हामी गाविसलाई निशुल्क जग्गा उपलब्ध गराईदिन्छौ ।’ उनले उल्टै प्रश्न गरिन ‘नियम पालना गर्नु पर्ने निकाय नै ऐलानी जग्गामा बस्ने हो भने सरकारी जग्गाको संरक्षण कस्ले गर्छ ?’
जिल्ला विकास समिति इलाम मार्फत साकफारा गाविसको नयाँ भवन निर्माणको लागि हालसालै ठेक्का आव्हान गरिसकेको छ । पायक पर्ने स्थानमा उक्त नयाँ भवन निर्माणको लागि साकफारामा तिब्र बहस चलिरहेको छ । यसै सम्बन्धमा साकफारा गाविसका सचिव रविनकुमार दहालसँग सम्पर्क गर्दा अहिले गाविस भवन रहेको जग्गाको धनीपुर्जा नभएको बताए ।
यता मालपोत कार्यालय इलामका मालपोत अधिकृत देउकुमार लावतीसँग ऐलानी जग्गामा संरचना निर्माण गर्न पाईने वा नपाईने बारे जिज्ञासा राख्दा उनले भने– ‘वनजंगल, बुट्यान, पर्ति, ऐलानी जग्गामा कुनैपनि हालतमा संरचना निर्माण गर्न पाईदैन र छ भनेपनि त्यसलाई हटाउनु पर्दछ ।’ जिल्ला विकास समिति इलामका स्थानीय विकास अधिकारी मदन कोइरालाले नयाँ गाविस भवन कहाँ बनाउने विषयमा बहस भईरहेको कुनै जानकारी प्राप्त नभएको बताए । गाविस सचिव, राजनैतिक संयन्त्रहरुले पायक पर्ने स्थान छनौट गरे भने त्यहाँ भवन बनाउन कुनै गाहे नहुने जनाए । उनले भने– ‘ऐलानी जग्गामा गाविस भवन रहेछ भने नियम अनुसार गरिन्छ । मुख्य कुरा भनेको त्यहाँका राजनैति दलहरुको भूमिका महत्वपुर्ण हुन्छ ।’
भर्खरै सर्वोच्व अदालतबाट ऐलानी, पर्ति जग्गामा रहेको संरचनाहरु हटाउने र बनाउन नदिने आदेश जारी भईसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment