इलाम २४ वैशाखः पत्रकारिताको विकास भए मात्र समग्र समाज र राष्ट्रको विकास हुने इलाम सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले पत्रकार र पत्रिका समाजको आँखा भएको भन्दै आँखाले सहि देख्न सके मात्र समाज सहि हुने धारणा राखेका थिए । सहभागिहरुले पत्रकार दक्ष र पेशाप्रति इमान्दारीता हुन जरुर रहेको समेत धारणा ब्यक्त गरे ।
जनतालाई सुचना दिने माध्यम र जनताका सुचना सरकार सम्म पु¥याउने पुलको भूमिका पत्रकारिता क्षेत्रले गरेको भन्दै सो पेशा प्रति सहभागीले प्रशंसा समेत गरे । पत्रकार इमान्दार भएर समाजमा हुने असल र नकारात्मक कुरा, पौरखी र गरिबीका कुरा, भ्रष्टचार र सदाचारका कुरा उठाउन सक्नु पर्ने धारणा उपस्थितले राखेका थिए । सहि पत्रकारिताले समाजको चित्रण झल्किने भन्दै आफ्नो कलमप्रति पत्रकार इमान्दार हुनुको विकल्प नरहेको उनीहरुको तर्क थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका संस्थापक अध्यक्ष धर्म गौतमले ‘इलामको पत्रकारिता, भविष्य र वर्तमान’ विषयक कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि राजनैतिक दल, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुले टिप्पणी गरेका थिए । इलाम सहित देशैभर पहिलो पटक नेपालको पुरानो तथा सरकारी पत्रिका गोरखापत्र प्रकाशनको स्थापना दिवसको दिन पारेर वैशाख २४ गतेलाई सरकारले प्रथम राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरेको हो ।
यस प्रति जिल्लाका सञ्चारकर्मी समेत उत्साहित भएका छन् । ढिलै भएपनि सरकारी निकायको आँखा यसतर्फ पुगेको भन्दै इलामका सञ्चारकर्मी तथा महासंघ इलामका पूर्वअध्यक्ष सोम सुसेलीले उत्साह थपेको बताए । त्यस्तै सञ्चारकर्मी तथा पूर्व अध्यक्ष सटेन्द्र जवेगुले समेत यो दिवस पत्रकारहरुको मात्र नभएर सिंगो राज्यको दिवस भएको चर्चा गरे । कार्यक्रममा बोल्दै राजनैतिक दलका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका इलाम अध्यक्ष सोमनाथ बाँस्तोला तथा सञ्चार माध्यमका प्रतिनिधिहरुले जिल्लामा भएका विज्ञापन समानुपातिक रुपमा वितरण गरिनु पर्ने धारणा राखेका थिए । कार्यक्रम दिवस मुल आयोजक समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय विकास अधिकारी मदन कोइराला, इलामका प्रहरी प्रमुख शुसिलकुमार यादव, इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
0 comments:
Post a Comment