जीप दुर्घटनामा सात यात्रु घाइते

जीतपुर, २४ वैशाख (चियाबारी संवाददाता)ः इलामको शान्तिडाँडामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।  जीतपुरदेखि इलाम सदरमुकामतर्फ आउँदै गरेको मे१ज ६५३ नं को सफारी जीप मङ्गलबारे–नेपालटार सडकखण्डको शान्तिडाँडामा दुर्घटना भएको थियो ।  दुर्घटनामा परी देउमाई नगरपालिका–५ का ७० वर्षीय शशिधर बराल, जीतपुर–२ बस्ने ६ वर्षका एञ्जल बराल, उनका बुबा ३२ वर्षीय नेत्रप्रसाद बराल, सोही ठाउँकी ३० वर्षीया सुमित्रा घले, जीतपुर–४ का ३९ वर्षीय देशबहादुर राई, सोही ठाउँकी ४७ वर्षीया शान्ता पौडेल र १९ वर्षीय सहचालक सूर्य राई घाइते भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ । अहिले घाइतेहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरू अधिकांशको टाउको, खुट्टा, हात, ढाँड भाँच्चिएको छ । घाइतेमध्ये शशिधर बराल, देशबहादुर राई, सुमित्रा घले, एञ्जल बराल र सूर्य राईलाई थप उपचारका लागि बिएन्डसी हस्पिटल बिर्तामोड झापातर्फ लगिएको ट्राफिक प्रहरी श्याम थापाले जानकारी दिए । सडक घुम्तीमा ड्राइभरको झ्याल अचानक खोलिएपछि चालक अनियन्त्रित भएर दुर्घटना भएको घाइतेले बताए । चालक सन्तोष राई मङ्गलबारेमा सामान्य उपचारपछि अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । जिपमा नौजना यात्रु सवार थिए ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment