सभापतिको कारण इलाम काङ्ग्रेसमा भाँडभैलो


इलाम, २९ जेठः नेपाली काङ्ग्रेस इलामको दोस्रो बैठक भाँडभैलोका बिच बिना निर्णय शुक्रबार सम्पन्न भएको छ । जिल्ला सभापति हिमालय कर्माचार्यले एकलौटी प्रस्ताव ल्याएपछि २७ जना जिल्ला समितिका सदस्यहरु बाहिरिएपछि बैठक बिना निर्णय सम्पन्न भएको एक सहभागी सदस्यले जानकारी दिए ।
सभापति कर्माचार्यले सचिवमा निरोज खड्गीको नाम प्रस्ताव गरे तर उनको नाम प्रस्ताव पारित नभई निर्वाचित सचिव खगेन्द्र देवानको अनुपस्थितिमा बैठक पुस्तिकामा निर्णय लेख्न कर्माचार्यले खड्गीलाई निर्देशन गरेका थिए ।
यसका साथै अन्य पदाधिकारी र सदस्यहरुले नाम सहित पुर्ण समितिको नाम पारित गर्न माग गरेपछि आक्रोशमा उत्रिएका कर्माचार्यले उप–सभापतिमा प्राथमिक विद्यालयकी शिक्षिका शान्तिकला राई तामाङ, सह–सचिवमा नरबहादुर सुवेदी र सदस्यमा निर्मला सञ्जेल (क्षेत्र नं. ३), रामकुमार श्रेष्ठ (क्षेत्र नं. २), सुवास आङ्थुपा (क्षेत्र नं. २) र श्री प्रसाद खरेल (क्षेत्र नं. १) लाई प्रस्ताव गरेपछि बैठकमा सहभागी पदाधिकारी, सदस्यहरु बाहिरिएका थिए । साथै उनले होम दुलाल, नगेन्द्र कुमाल सहित १९ जना आमन्त्रित सदस्य, टिएन भट्टराई लगायत १२ जनाको सल्लाहकार समिति गठनको लागि समेत प्रस्ताव गरिएको थियो ।
काङ्ग्रेसको विधानमा जिल्ला सभापतिले तजबिजले प्रत्येक निर्वाचन क्षेत्रबाट तीन–तीन जना जिल्ला सदस्य मनोनयन गर्न पाउने र उप–सभापति, सचिव र सह–सचिव बैठकमा प्रस्ताव गरेर छलफल गरी जिल्ला कार्य समितिको सहमतिमा पारित गर्ने व्यवस्था रहेको छ । तर कर्माचार्यले अन्य पद थाँती राखी सचिव र चार जना जिल्ला सदस्यको मात्रै प्रस्ताव ल्याएपछि विवाद बढेको एक सहभागी जिल्ला सदस्यले चियाबारीलाई बताए ।  बैठकमा जिल्लाको पुर्नसंरचना लगायतका १६ वटा प्रस्तावमा छलफल गर्ने कार्यक्रम थियो । एक सदस्यले भने ‘सभापतिको सनकले भाँडभैलो मच्चियो, यसले पार्टीलाई फाईदा गर्दैन ।’
बैठकमा सम्पादन समितिका केदार थापा, निर्मला सञ्जेल सहित ११ सदस्यको नाम कर्माचार्यले प्रस्ताव गरेका थिए । तर बैठकबाट थापा लगायत बाहिरिएर सभापतिको रबैयाको विरोध गरेका थिए ।
नेपाली काङ्ग्रेसको नियमावलीले केन्द्रिय सदस्य सभाषद, पछिल्लो निर्वाचनमा सांसदमा उम्मेद्धार बनेको व्यतिm स्थायी आमन्त्रित सदस्य हुने व्यवस्था गरेको छ । यि व्यक्तिलाई सभापतिले बैठकमा बोलाउने व्यवस्था छ । कर्माचार्यले वैधानिक रुपमा सदस्य बन्ने सदस्यलाई सल्लाहकारमा प्रस्ताव गरेका थिए ।
बैठकको उपस्थितिमा हस्ताक्षर गरेपनि निर्णयमा समितिका निर्वाचित कोषाध्यक्ष विष्णु कार्की सहित अन्य निर्वाचित सदस्यहरुले पनि हस्ताक्षर नगरी बाहिरिएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment