सन्दकपुर चिनाउदै नाम्गेल

इलाम, २५ जेठः संगीतमा रमाउने इलामेहरुको बानी पुरानै हो । संगीतलाई आफ्नो जीवनको महत्वपूर्ण तत्व मान्ने इलामेहरुको भीड ठूलै छ  । तर संगीतमा साधना गर्ने र जीवनलाई संगीतमा अर्पण गर्न प्रण गर्नेहरु थोरै भेटिन्छन् । ती थोरैकै समुहमा पर्छन् इलामका नाम्गेल तामाङ । चमैता ४ इलाममा जन्मिएका नाम्गेलको संगीत साधना सानै उमेर हुदादेखिकै हो । उच्च शिक्षा उत्तीर्ण गरेपछि आफ्नो भविष्य कोर्न दक्षिण कोरिया भासिएका नाम्गेलको संगीत साधनालाई कोरियाको कामको चापले उति असर गरेन । कोरियामै बसेर उनले नेपाली गीत लेखनमा समय विताउन थाले । एउटै गीतको स्क्रिप्टलाई ५० औ. पटकसम्म परिमार्जन गरे अनि सयौं पटकको परिमार्जनमा अन्तिम संगीत भरे । छुट्टीको समयमा नेपाल आएको समयलाई सदुपयोग गर्दै नाम्गेलले चारवटा गीत रेकर्ड गराए र एल्बमको नाम दिए ‘सम्झौता जीन्दगीको’ ।
एल्बम मात्र निकाल्नु नाम्गेलको जीवनको एक हदको चाहना पुरा हुनु त पक्कै थियो तर त्यो सँगै सन्दकपुरलाई दुनियाँमाझ चिनाउने अर्को धोको पुरा गर्ने उनले बाटो खोजिरहेका थिए । त्यही गीतलाई सन्दकपुर चिनाउने माध्यम बनाउने उनले अठोट गरे । सात दिन सम्मको कडा मेहेनत र परिश्रम गरेर इलामको सन्दकपुर, कन्याम, राँके र चित्रे गुम्बामा उनले दुईवटा म्युजिक भिडियो तयार गरे । ‘काठमाण्डौमा नै म्युजिक भिडियो तयार गरेको भए आधा खर्चमै भिडियो तयार हुन्थ्यो,’ म्युजिक भिडियो निर्देशक राजेन्द्र पाण्डेले भने । उनले थपे, ‘आफ्नो ठाउँ चिनाउने गायक नाम्गेलको प्यासनलाई सम्मान गर्नैपर्छ ।’
एल्बममा समेटिएका चारवटा गीतहरुमध्ये ‘सम्झौताको’ बोलको गीत र ‘भन्थे बुढापाकाले’ बोलको गीतको इलाममा छायांकन गरिएको हो । ‘सम्झौताको’ बोलको गीतमा नाम्गेल आफै र इलामकी चर्चित रेडियो जक्की सुप्रिया श्रेष्ठले मोडलिङ गरेकी छिन् । सुप्रियाले नेपालको राष्ट्रिय टेलभिजनमा यसअघि भिडियो जक्कीको काम गरिसकेकी छिन् । ‘भन्थे बुढापाकाले’ बोलको गीतमा इलामकै कलाकार डिकेन खत्री, लक्ष्मी राई र नविना तामाङले अभिनय गरेका छन् । सन्दकपुर लामो समयस्पेस दिईएको पहिलो भिडियो भएको नाम्गेलले दावी गरे । उनले भने, ‘आफ्नो ठाउँलाई विश्वमा चिनाउने मेरो सानो प्रयास हो, आ आफ्नो ठाउँबाट सबैले इलामको प्रोमोसन गरौँ ।’ नाम्गेलको एल्बमलाई भिजुअल डाइनामिक्सले मार्केटिङ गर्ने तय भएको निर्माण समुहका दिपक राईले बताए । हालसम्म हालसमम अविवाहित नै रहेका गायक नाम्गेलकै शब्द, कम्पोज र स्वर रहेको सो एल्बमका गीतहरु केहि समयमानै युट्युवमा हेर्न सकिने उनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment