पाँचथर, २५ जेठः तारावीर नेम्बाङ अकबरे खुर्सानी खेती गरेर अहिले जिल्लामा एक सफल व्यवसायी पहिचान बनाएका छन् । पाँचथर जिल्लाको चिलिङदेन गाविसमा २०२२ सालमा जन्मिएका उनको कृषि विषय लिएर उच्च शिक्षा हासिल गर्ने धोको थियो तर कमजोर आर्थिक अवस्थाका कारण एसएलसी भन्दामाथिको शिक्षा हासिल गर्न सकेनन् ।
उच्चशिक्षा हासिल गर्न नसकेपछि उनमा सफल किसान बन्ने इच्छा पलायो । दुई छोरी र एक छोरा गरी पाँचजनाको परिवार भएका नेम्बाङ विसं २०५६ देखि यसको खेती गर्दै आएका छन् । आफूसँग भएको एक रोपनी जमिनबाट व्यावसायिक रुपमा अकबरे खेती गर्न सुरु गरेका नेम्बाङले सोही क्षेत्रफलको जमिनबाट सुरुमा वर्षमा ३५ हजार रुपैयाँसम्म आम्दानी लिन सफल भएका थिए । पाँचथर जिल्लामा व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती सुरु गर्ने पहिलो किसान उनी नै भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।
नेम्बाङले भने, ‘परम्परागत रुपमा घरमा प्रयोग गर्न मात्र हैन बेचेर राम्रो आर्जन सकिन्छ भन्ने देखाउन पनि अकबरे खुर्सानी खेती गरेको हुँ ।’ सुरुवातमा उनले एक रोपनी जग्गामा अकबरे खेती गर्दा निकै चुनौतीको सामना गर्नुपरेको थियो । त्यो अवस्थामा यातायात र बजारको अभाव जस्ता विभिन्न चुनौतीको सामना गर्दै उनले खुर्सानी खेतीलाई व्यवसायीकरण गर्न निरन्तर लागिरहे । हाल १५ रोपनी जग्गाबाट वार्षिक १५ क्विन्टल उत्पादन गरेर तीन लाखभन्दा बढी आम्दानी गर्न सकेको उनले बताए । खुर्सानी खेतीबाट भएको आम्दानीले घर व्यवहार चलाउन र स्वास्थ्य उपचार खर्च जुटाउन कुनै समस्या नभएको उनी बताउँछन् । उनी अकबरे खुर्सानीको आम्दानीबाटै एक छोरा र एक छोरीलाई कक्षा १२ सम्म अध्ययन गराउन सफल भएका छन् ।
साथै उनले झापा काँकडभिटा मेचीनगर–१० मा ६ धुर घडेरी खरिद गरी घर पनि बनाई सकेका छन् । नेम्बाङ खुर्सानी व्यवसायी मात्र नभई एक समाजसेवीको रुपमा परिचित छन् । उनकै पहलमा चिलिङदेन गाविसका अधिकांश किसान विगतका केही वर्षदेखि व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गर्न थालेका छन् । उत्पादन बढेर स्थानीय बजारमा खपत हुन नसक्ने भएपछि नेम्बाङकै पहलमा २०६९ सालमा श्रीजङ्गा कृषि सहकारी संस्था खोलेर त्यसैमार्फत वार्षिक २० देखि २५ टन खुर्सानी इटहरीस्थित अचार उद्योग रिजाल टासीलाई बेच्ने काम भइआएको छ । तारावीर सोही सहकारीको अध्यक्ष पनि हुन् ।
0 comments:
Post a Comment