कलिलै उमेरमा छिप्पियो रोग, छोराको बिरामले पिडामा परिवार


देउमाई, ४ असारः इलाम देउमाई नगरपालिका एक (मंगलबारे)का मनिष राई उमेरले १३ वर्ष पुगे । उनकै उमेर समूहका अन्य साथी संगी विद्यालय जान्छन् । आफुले सक्ने काम गर्छन्, हरेक क्रियाकलापमा भाग लिन्छन् । बल प्रयोग गरेरै गरिने सानातिना कामहरु पनि गर्छन् । या भनौ शारीरिक रुपमा उनीहरु तन्दुरुस्त छन् । तर मनिषलाई स्याहार सुसाहार गर्न उनका परिवार हर समय लागिरहनु पर्छ । उनी १५ महिना अघि सम्म शारीरिक रुपमा सक्षम थिए । गत २०७१ साल फागुनबाट उनलाई रोगले च्याप्यो । त्यसपछि उनलाई राम्रो अस्पताल कुदाउँदै उनका परिवारको धेरै समय र खर्च गरिसकेका छन् । शुरुमा नेपालका विभिन्न अस्पताल हुँदै भारतका समेत चर्चित अस्पतालमा रोग पत्ता लगाउन लैजाँदै ऋण लाग्न थालिसकेको उनका परिवार बताउँछन् । भारतको एक अस्पतालमा डाक्टरले क्यान्सर लागेको पुष्टि गर्दै नेपालकै चितवन क्यान्सर अस्पताल लैजान सिफारिस ग¥यो ।
परिवारले मनिषलाई सोहि अनुरुप चितवन स्थित वीपी कोइराला मेमोरियल सेन्टर अस्पताल लगेर उपचार गराउन थाले । उनको घाँटीमा क्यान्सर भएको पुष्टि भएसँगै उपचार सुरु पनि गरियो । आर्थिक रुपले सामान्य मात्र रहेको उनको परिवारले भएको सबै सम्पत्ति सकिसकेको बुबा गोपाल राइले बताए । उनले भने( ‘अब त जग्गा नै सकिसक्यो ।’ छोराको उपचारमा हाल सम्म एघार लाख रुपैंयाँ खर्च भइसकेको उनले बताए । सामान्य कृषि पेशामा नै गरेर खाने परिवारका लागि सो रकम ठुलो हो । मनिषको घाँटीको उपचार भइरहे पनि कडा औषधी र बिरामी भएको समयमा खाना नखाएकै कारण उनको खुट्टा चल्न छाडिसकेको छ । एउटा रोगको उपचार हुँदै गर्दा अर्को रोगले सताए पछि परिवार झनै चिन्तामा छन् । क्यान्यसरकै थप उपचार गराउन अस्पतालले साढे तीन लाख रुपैंयाँ जम्मा गर्न भनिसकेको छ । अझै खुट्टाको उपचार गराउँदा थप रकम खर्च हुने हुँदा सो परिवार चिन्तामा छ । 
उपचारसँगै अस्पतालमा लैजाँदा, घर ल्याउन र चितवनमा बस्दाको खुवाई र भाडाले नै उपचारमा भए सो सरह नै खर्च भइसकेको परिवार श्रोतको भनाई छ । एक चोटी उपचार गराउँदा अस्पतालले सात वा पन्ध्र दिन पछि बोलाउने गरेको उनकी आमा सीताले बताइन् । क्यान्सरको उपचारमा प्रयोग गरिने ‘केमु’ चलाउन नै नसक्ने अवस्था भइसकेको परिवार श्रोत बताउँछ । अब लाग्ने खर्च जुटाउन परिवारलाई समस्या भएको छ । कसैले सहयोग गरे पनि छोराको उपचार गराउनमा थप टेवा पुग्ने आमा सीताले बताइन् । 
उनले भनिन् ‘त्यत्रो दिन चितवनमा नै बसौँ भने खाँदा र बस्दा पनि धेरै खर्च हुने फर्किउँ भने पनि गाडी भाडा महंगो लाग्ने सँधै समस्या नै समस्या ।’ कक्षा पाँचमा पढ्दा पढ्दै रोगले च्यापेपछि त्यो भन्दा माथी पढ्ने धोको रोगले नै खाइदियो । कलिलै उमेरमा छिप्पिएको रोगले सताउँदा उनको परिवार पीडामा दिन र रात बिताईरहेको छ । सहयोग गर्ने कोहि भए छोरालाई बचाउँथ्यौँ आमाले भनिन्(‘संघसंस्था र व्यक्तिले सहयोग गरिदिए पछि तिर्ने प्रयास गथ्यौँ ।’
 मात्र छोराले पुर्नजीवन पाए ढुक्कले काम गर्न पाइने र लागेको ऋण तिर्नेमा परिवार विश्वस्त छ । कोही दानवीर भए उनको उपचारमा सहयोग गरेर साँच्चिकै पुण्य लिने अवसर मिल्ने थियो कि ?  चियाबारी दैनिकका लागि कृष्ण पौडेलको रिपोर्ट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment