लामाको भेषमा ठगी गरेर फरार रहेका व्यक्ति पक्राउ

संगिता सुहाङ

पाँचथर, २३ जेठः लामाको भेषमा फिदिमबाट लाखौ ठगी गरेर फरार रहेका व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । भारतको कालेङपुङ घर भएका ४१ वर्षिय तेञ्जिङ छिरिङ भुटियालाई बन्दिपुर नगरपालिकाको डुम्रे १ भानु भन्ने स्थानबाट पाँचथर प्रहरीले पक्राउ गरेको हो ।
बुधबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा आईतबार सार्वजनिक गरिएको छ । पाँचथरका प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोईरालका अनुसार उनको साथबाट एक लाख ५८ हजार नगद सहित फिदिमबाट ठगी गरि लगेका सुन र चाँदीका गरगहना समेत बर ामत गरिएको छ ।
गत जेठ ४ गते फिदिम आएका उनले काठमाडौंको बौद्धमा घर भएको बताएका थिए । आफू अवतारी लामा भएको बताउँदै फिदिमका विभिन्न व्यक्तिहरुबाट ठगी गरि फरार भएपछि १० जना पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी परेपछि पाँचथर प्रहरीले उनको खोजी सुरु गरेको थियो । फिदिम स्थित सगुन होटलको कोठ नम्बर १०२ मा बसेका उनले फिदिमका स्थानीयहरुबाट सुन, चाँदी र नगद गरी १८ लाख ४८ हजार तीन सय ६५ रुपैंयाँ ठगेर गत सोमबारदेखि फरार भएका थिए । प्रहरीका अनुसार फिदिमदेखि भागेपछि ती व्यक्तिले गाडी रिर्जभ गर्दै पोखरासम्म पुगेका थिए । पोखरामा उनले डान्स बार र डिस्कोतिर फजुल गर्च गरेका थिए । पोखरामा तीन रात बिताएका उनले तीन लाख भन्दा बढि खर्च गरेको अनुसन्धानबाट खुलेको कोईरालाको भनाई छ ।
पक्राउ परेपछि उनी यसअघि पनि ठगी कार्यमै संलग्न भएको खुलेको छ । नुवाकोट, सिन्धुपाल्चोक, गाईघाट, काठमाडौं लगायतका विभिन्न सात ठाउँबाट आफू अवतारी लामा भएको भन्दै ठगी गरेका थिए । ठगीकै मुद्धामा पाँच वर्ष पहिले सिन्धुपालचोकको जेलमा तीन वर्ष जेल भुक्तान गरेका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पले जेल भत्किएपछि उनी फरार रहेको कोईरालाको भनाई छ । जेलबाट भागेपछि ६ महिना भारत बसेको र फेरी नेपाल फिरेर यसरी नै ठगि कार्यमा संलग्न भएको उनले प्रहरीलाई बयान दिएका छन् । १० वर्ष यता नेपाल बस्दै आएका उनले तीन कक्षासम्मको मात्र औपचारिक अध्ययन गरेको र १६ वर्ष लामा शिक्षा लिएको बताएका छन् । लामासम्बन्धि केही ज्ञान हासिल गरेको र आफूलाई जडिबुटिहरु पनि थाहा हुने भएकाले उनले सर्वसाधारणलाई प्रभाव पार्ने गरेका थिए ।
पीडितहरुको अनुसार उनले अनुहार हेरेरै मान्छेको वास्तकिकता बताईदिन्थे । त्यसरी बताएपछि अप्ठ्यारोबाट बच्ने उपाय पनि सुनाउँथे । त्यसपछि घरमा भएको सुन चाँदीका गहन पूजा गर्नुपर्ने भन्दै गहना झिकाउँथे । पूजा गर्न केही दिन लाग्ने भन्दै गहना आफै राख्थे । त्यसरी संकलन भएको गहना र नगद धेरै भएपछि उनी सबै कुम्ल्याएर भागेका थिए । लामाको भेषमा आई लाखौ ठगरे भागेका ती व्यक्ति पक्राउ परेपछि कारवाहीको माग गर्दै स्थानीयहरुको भीड प्रहरी कार्यालयमा लागेको थियो । उनलाई कडा कारवाही गर्नुपर्ने पीडित लक्ष्मी तामाङले बताई ।
लामाको भेषमा आएर बौद्ध धर्मको अपमान गरेको भन्दै कतिपय बौद्ध धर्मावलम्बीहरुले आजीवन जेल सजाय गर्नुपर्ने माग गर्न थालेका छन् । पीडित समेत बनेका बौद्ध धर्मावलम्बी रिञ्जी शेर्पाले सहज तरिकाले पक्राउ परेका व्यक्तिलाई छाड्न नहुने बताए ।
पक्राउ परेका उनीसँग नक्कली ड्राईभिङ लाईसेन्स समेत फेला परेको छ । उनको थप अनुसन्धानका लागि अदालतमा म्याद थप गरिएको छ । उनलाई ठगी ऐन अन्तर्गत र सरकारी छाप दस्तखत किर्ते गरेवात किर्ते मुद्धा चलाउन तयारी रहेको कोईरालाले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment