हराएका पुजन २ महिनापछि फेसबुक मार्फत भारतमा भेटिए, अझै भएको छैन उद्धार

इलाम, २१ जेठः चैत १४ गते पुर्वी इलामको चिसापानी गाविस स्थित जनता उच्च माविमा कक्षा ३को अन्तिम परिक्षाको अन्तिम दिनको परीक्षा लेखेर घर फर्कनुपर्ने पुजन सिञ्च्युरी साँझसम्म घर फर्केनन् । आमा गंगा छोरा घर फर्केला भनेर अबेर सम्म कुरेर बसिन् तर छोरा घर फर्केनन् । आफन्तको घरतिर गयो होला भनेर हप्ता दिनसम्म सामान्य मात्र खोजी गरियो । दुई छोरा र एक छोरीकी आमा गंगाले मलेसियामा रहेका आफ्ना पति मणिकुमार विश्वकर्मालाई परीक्षा दिन गएको छोरा घर नफर्किएको खबर अलि पछि मात्र सुनाईन् । आमा गंगाको मनमा चिसो पस्दै गयो, छोरा हराएकै हो कि भन्ने त्रासले उनलाई गलाउदै गयो । उनले छरछिमेक गुहारिन् अनि छोराको खोजी तिब्र पारिन् । 
शनिश्चरे घर भएका पुजनकै सम–उमेरका दुई केटाहरुसँग परीक्षा सकिएपछि झापा गएको सुचनाको आधारमा उनी झापा गईन् । पुजनलाई सँगै लिएर जाने दुई अन्य केटाहरुको परिवारसँग त भेटिन् तर ती दुई केटाहरुको पनि अत्तोपत्तो नलागेपछि उनी निरासै फर्किइन् । हराएको केहि समयपछि सँगै लिएर जाने केटाहरु घर फर्किएको समाचार आयो र गंगा हतासिदै शनिश्चरे पुगिन् । ति केटाहरुले पुजनसँग सिलिगुडी गएको र सिलिगुडीको एक बाल अनाथालयमा बसेको, केहि समयपछि अनाथालयका कर्मचारीसँग झगडा गरेर भागेको बयान दिए । पुजनले चाहि ट्रेन हेरेर मात्र घर फर्किने बताएपछि ती शनिश्चरेका केटाहरुमात्र घर फर्किएको उनीहरुले बताए । शनिश्चरे प्रहरीले ती दुई केटाहरुका अभिभावकलाई समेत पक्राउ गरि अनुसन्धान अघि बढाएपनि पर्याप्त प्रमाणको अभावमा उनीहरु रिहा भए । गंगा र चिसापानीकै स्थानीय सपना राई पुजनलाई खोज्न सिलिगुडी गए तिनै फर्किएर आएका केटाको साथ लागेर । ४ दिनसम्म सिलिगुडीको सामाजिक संघ संस्थाहरु, होटल तथा प्रहरी चाहार्दा पनि अत्तोपत्तो नलागेपछि गंगा र सपना खालीहात इलाम फर्किए । छोरा हराएको चिन्तामा मलेसियाको जोहर बहरुमा तड्पिएका मणिकुमारले छोराको खोजी गर्नको लागि कम्पनीसँग बिदाको लागि अनुनय विनय त गरे तर साउन महिनामा मात्र श्रमिक सम्झौता सकिने भन्दै कम्पनीले उनलाई बिदा दिएन ।
आमा भन्दै पुकार्दै छोरा आउला कि भनेर बाटो हेर्ने दिनचर्या नै बन्यो गंगाको । छोराको केहि खबर आयो कि भन्दै दैनिक आफन्त र प्रहरीलाई उनले सोध्न छोडिनन् । छोरा हराएको २ महिना ७ दिनपछि १९ गते बुधबार राति जनता उच्च माविका शिक्षक रमेश योगीको फोन आयो गंगाको मोबाईलमा, छोरा भेटिएको समाचार लिएर । फेसबुक चलाउने क्रममा योगीकी छोरीले पुजनको भिडियो हेरिछिन् । गंगामा एकाएक छोरा भेटिने आश पलायो । भारतको पुर्णियास्थित एक बालगृहका प्रमुख अभिनव सिंहले सामाजिक सहयोगको भावनाले स्थापना गरेको ‘जनमत’ फेसबुक पेजमा पुजनको भिडियो खिचेर मंगलबार पोष्ट गरेका थिए । त्यो भिडियो रातारात भाइरल भएको थियो । पुजन २ महिनादेखि पुर्णियाको सो बालगृहमा रहेको सन्देश सहितको सो भिडियोमा पुजनले ‘चिसापानी इलाम’ भनेर बोलेको बाहेक अन्य अष्पष्ट थियो । 
घटनालाई नजिकबाट नियालिरहेको हाम्रो चियाबारी दैनिक टीमले बिहीबार बिहान पुजनकी आमा गंगा र बालगृहका प्रमुख अभिनवसँग सम्पर्क ग¥यो । पुजनसँग पनि हामीले कुराकानी ग¥यौ । उसको आमालाई तुरुन्त श्रीनगर हाता, बाल गृह पुर्णिया, बिहारको ठेगानामा पुजनलाई लिन पठाईदिन अभिनवले हामीसँग भनिरहेका छन् । गंगाले पुजनसँग फोनमा कुरा गरिसकेकी छिन् र पुजनलाई लिन बिहार जाने बताइसकेकी छिन् । तर आर्थिक श्रोतको अभावमा २ महिनादेखि आफ्नो हराएको छोरा भेटिसकेपछि पनि लिन जानसक्ने अबस्थामा गंगा छैनन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरिक्षक रुकेश तण्डुकारले पुजनलाई रेस्क्यु गर्ने प्रयास भइरहेको जानकारी दिए । रेस्क्युको लागि बिराटनगर स्थित एक संस्थाले सहयोग गर्ने जानकारी गराएपनि सो संस्थामा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । स्थानीय सपना राई रेस्क्यु गर्नको लागि गंगालाई साथ दिइरहेकी छिन् । कामना गरौं, परिवारको मिलनमा अब समय नलागोस् । भिडियो फेसबुकमा शेयर गर्ने अभिनव सिंह र साथीहरुको मानवीय सहयोगको अझै पनि गंगा र पुजनलाई खाँचो छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment