इलाम तेस्रो साना शहरी खानेपानी आयोजनाको आशा झिनो

एडिबी नआए सरकारले बनाउछः महानिर्देशक देवकोटा

इलाम, २२ जेठः इलाम नगरको वहुचर्चित इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना कार्यान्वयन हुने अब झिनो आशा मात्र रहेको छ । उक्त आयोजनाको प्रमुख दाता एशियाली विकास बैंक (एडिबी)ले आयोजनाबाट हात झिक्ने निणर्यले आयोजना संकटमा परेको शनिबार सदरमुकाममा आयोजित कार्यक्रममा जानकारी भएको हो ।
दुई वर्ष अघि देखि सर्वेक्षणको काम शुरु गरेको आयोजना कार्यान्वयन तहमा पुग्दा स्थानीय र आदीबासीहरुको विभिन्न मागको कारण देखाई बैंक फिर्ता जान लागेको हो । तर समग्रमा स्थानीयबासी, आदीबासी, जनजातीहरुसँग सम्बन्धित सबै संघ–संस्थाहरु आयोजना कार्यान्वनकै पक्षमा रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
करिब सत्तरी करोड रुपैंयाँको लागतमा निर्माण हुने भनिएको आयोजनामा लगानी गर्न के कति कारणबाट एशियाली विकास बैंक पछि हटेको हो भन्ने बुझ्नको लागि खानेपानी तथा ढल विकास विभाग सहितको एक टोली शुक्रबार खानेपानीको मुहान क्षेत्र माईमझुवा गाविस पुगेर त्यहाँको समुदाय र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । सो कार्यक्रम शतप्रतिशत सहभागीहरुले आयोजना संचालन गर्नको लागि कुनै अवरोध नगरेको र कार्यान्वनको लागि पुर्ण प्रतिवद्धता रहेको जनाएका थिए । उनीहरुले दाता संस्थाबाट होईन राज्य पक्षबाट मात्र त्यसक्षेत्रको विकासको लागि पहल गर्न अनुरोध गरेको बताइएको छ । यता शनिबार सदरमुकाममा आयोजित कार्यक्रममा जिल्लास्थित प्रमुख राजनैतिक दल, सामाजिक संस्था, कार्यालय, आदीबासी जनजाती महासंघ लगायतले आयोजना कार्यान्वन गर्न सकारात्मक र प्रतिवद्ध भएको बताएका थिए । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी मदन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामचन्द्र देवकोटा, तेस्रो साना शहरी खानेपानी आयोजनाका निर्देशक रामचन्द्र शाह, उपनिर्देशक केशबराज विष्ट, वरिष्ठ समाजशास्त्री प्रेमनिधी केसी, क्षेत्रीय आयोजना व्यवस्थाका चन्द्रेश्वर शाह, खानेपानी तथा सरसफाई मन्त्रालयका इन्जिनियर शेखर खनाल लगायतको उपस्थितीमा सहभागीहरुले के कति कारणबाट यो आयोजना संचालन गर्न कठिनाई भएको, आयोजना कहिले शुरु हुने जस्ता जिज्ञासा राखेका थिए । 
उक्त जिज्ञासाको उत्तर दिदै तेस्रो साना शहरी खानेपानी आयोजनाका निर्देशक रामचन्द्र शाहले भने– एशियाली विकास बैंक किन इलामको आयोजनाबाट पछाडी हट्यो भन्ने बुझ्नको लागि हामी स्थलगत अध्ययनमा आएका हौं । आयोजनाको बारेमा विगतमा केहि न केहि नकारात्मक कुरा भएको हुनु पर्दछ । त्यतिकै एशियाली विकास बैंक जस्तो संस्था पछाडी हट्दैन । उनले थपे– तर इलाम आउँदा सबै क्षेत्र, सबै राजनैतिक दल आयोजनाको पक्षमा एकजुट भएको देखे, सबै आयोजना आउनु पर्छ, बनाउनु पर्छ भनेर एकजुट हुनुभएको छ । एडिबीले यो भावनाको जरुर कदर गर्नु पर्दछ । उनी अगाडि भन्छन्– एडिबीले पनि सबै कुरा हामीसँग गर्दैन तर एउटा कुरा के निश्चित हो भने एडिबी इलामको आयोजनाबाट धेरै पछि हटिसकेको छ । हामी अब गएर अन्तिम एक पटक यहाँ देखेको विषयवस्तु जानकारी गराउँदछौ कतै अन्तिम चरणमा एडिबी कन्भिस हुन सक्छ कि ।
यता, कार्यक्रमका प्रमुख अतिथी खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामचन्द्र देवकोटाले आयोजना लिकबाट बाहिर गएको रेल जस्तो भएको इलामको आयोजना एकपटक लिकमा ल्याउनको लागि पहल गर्ने विश्वास दिलाए । उनले भने– हामी नेपाल सरकारको तर्फबाट एडिबीलाई उसको निणर्य पुनरावलोकन गर्न अनुरोध गर्दछौ, सकरात्मक सोचबाट अघि बढौं कतै हामीले स्थलगत रुपमा देखेको विषयवस्तु जानकारी गराउँदा उसले आफ्नो निणर्य फेरबदल गर्न सक्छ कि । देवकोटा अगाडि भन्छन्– नेपालको संविधानमा खानेपानी सुविधा मौलिक हक भनि उल्लेख भएको हुँदा कुनै दाताहरुले खानेपानी आयोजना अगाडि बढाएन भने सरकार आफैले पनि त्यसको व्यवस्था गर्नु पर्दछ । एडिबी हट्यो भनेर सरकार पनि चुप लागेर बस्न मिल्दैन् ।
महानिर्देशक देवकोटाले नेपाल सरकारको तर्फबाट आयोजनालाई जसरी पनि साकार रुप दिने प्रतिवद्धता गरेका छन् । उनी अगाडी भन्छन्– यसवर्षको बजेटमा विभागलाई बजेट रकम बढोत्तरी भएर आएको छ । यदी एडिबीले यो आयोजना सम्पन्न गर्दैन भने नेपाल सरकारले आफ्नै स्रोतबाट यो आयोजना पुरा गर्नेछ ।  
म खानेपानी तथा ढल विकास विभाग मातहतबाट यो योजना पुरा गर्नेछु । हामी एकपटक एडिबीलाई सबै कुराको जानकारी गराएर उनीहरुलाई नैं यहाँ ल्याउने प्रयास गछौं तरपनि उनीहरु सकारात्मक भएन भने नेपाल सरकारले यो योजना पुरा गररै छाड्ने छ । उनले भने– अब एडिबी आउने नआउने विषयको जानकारी ढिलोमा दुई महिना भित्र तपाईहरुले पाई सक्नु हुन्छ । कार्यक्रममा इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजनाका अध्यक्ष केदार थापा, आदीबासी जनजाती महासंघका अध्यक्ष राजु राई, नगरबासी धर्म गौतम, महिला जागरण संघकी विष्णु दहाल, संचारकर्मी सोम सुसेली, नेकपा माओवादी केन्द्रका धिरेन शर्मा रमण, एमालेका जिल्ला सचिव महेश बस्नेत, नेपाली कांग्रेसका खगेन्द्र देवान, इन्जिनियर सुरेश नेम्बाङ, संघीय समाजवादी फोरमका बखतबहादुर आङदाम्बे, स्थानीयबासी कृष्णप्रसाद श्रेष्ठ, इन्जिनियर दिपक गुरागाई, संचारकर्मी भिम चापागाईं, मंगोल नेशनल अर्गनाईजेशनका प्रतिनिधीहरु लगायतले खानेपानीका विषयमा आ–आफ्ना भनाईहरु राखेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment