इलाम, २४ जेठः सोमबार अपरान्ह बाह् बजेतिर नेपाल पत्रकार महासंघ, इलामको सभाकक्षमा फाट्टफुट्ट रुपमा उमेर ढल्केका जस्ता व्यक्तिहरुको प्रवेश हुँदै थियो । त्यही क्रममा अन्य युवा उमेर समुहका व्यक्तिहरुको प्रवेश भएको केहि क्षणपछि आयोजकले कार्यक्रम शुरुवात गरे ।
कार्यक्रम थियो इलामबाट प्रकाशित म्यागाजिन ‘आँखा विकास पत्रिका’ले आफ्नो वर्ष १३ अंक ३ मा प्रकाशन गरेको विशेषांक ‘इलामका पुराना मान्छेको पौराणिक कुरा र जनप्रतिनिधि विशेष’ बारे इलामका अग्रज तथा युवा पत्रकारहरुबीच एक–आपसमा घुलमिल गराउने ।
कार्यक्रममा त्यसबेला ‘पत्रकारिता’ भनेको के हो भन्ने थाहा नपाई पत्रकारिता गरेका समुहका सदस्यहरुकोे अनुभवलाई एकपटक पुर्नताजगी गर्ने र उनीहरुको अनुभवबाट युवाहरुलाई सिक्ने माध्यम बनाईएको आँखा विकास पत्रिकाका सम्पादक एवम प्रकाशक डा.देवी क्षेत्री दुलालले जानकारी दिए ।
विक्रम संवत तीस सालको उर्तराद्धको समयमा आ–आफ्नो क्षेत्रमा सक्रिय ‘सात भाई’ समुहका देवीदास श्रेष्ठ (आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकः निधन भईसकेका), भोजबहादुर कार्की (तत्कालिन जिल्ला पञ्चायतबाट प्रकाशित हुने सौगात मासिकका सम्पादक), सुर्यविक्रम पराजुली (तत्कालिन राजनीतिज्ञ तथा समाजसेवी), युद्धप्रसाद वैद्य (इतिहासविद, संस्कृतिविद, राजनीतिशास्त्री), हिरालाल कर्माचार्य, (समाजसेवी तथा लामो समय जागिरे जीवन व्यतित गरेका), लिलाबहादुर दाहाल (तत्कालिन समय जिल्ला पञ्चायतका स्थानीय विकास अधिकारी), बेनुपराज प्रसाई (तत्कालिन इलाम नगरपञ्चायतका प्रधानपञ्च एवम राजनीतिज्ञ) हरुले आज भन्दा ३४–३५ वर्ष अघि इलाम कस्तो थियो भनेर उनीहरुको अग्रजहरुसँग लिएको अप्रकाशित अन्र्तवार्ताहरुलाई आँखा विकास पत्रिकाले प्रकाशित गरेको सन्दर्भमा भएको छलफलमा सहभागीहरुले इलामको इतिहास मेटिनबाट जोगाउन यस्ता दस्तावेजहरुलाई भावी पुस्ताको लागि भएपनि जगेर्ना गर्नुपर्ने बताएका थिए । अनुभव प्रस्तुत गर्ने क्रममा सात भाई समुहका एक भोजबहादुर कार्कीले पुराना कुरालाई जीवन्त राख्नको लागि विभिन्न स्थानमा विभिन्न व्यक्तिहरुसँग इलामको विविध विषयमा रहेर अन्र्तवार्ता लिएको र हाल यो समय सापेक्ष भएको हुँदा प्रकाशित गरिएको बताए ।
सोही समुहका अर्का सदस्य सुर्यविक्रम पराजुलीले त्यति बेलाको क्षण सम्झदै भने– साँच्चै भन्ने हो भने फुटबल खेल काठमाडौं भन्दापनि इलाममा राम्ररी खेलिन्थ्यो, त्यस समय फुटबल कलकत्ताबाट किनेर ल्याइन्थ्यो । उनले थपे– ‘इलाममा जनता पुस्तकालय स्थापना गरयौ, त्यसको सचिव भएर काम गरे, त्यसबेला विभिन्न एम्बेसीहरुबाट पुस्तकहरु प्राप्त हुन्थ्यो । पछि आएर उक्त पुस्तकालय इलाम नगरपालिकालाई हस्तान्तरण गरयौं, तर अहिले पुस्तकालय कहाँ छ अत्तोपत्तो छैन ।’
त्यस्तै अर्का सदस्य हिरालाल कर्माचार्यले पनि त्यसबेलाको अनुभवमा पत्रकारिता भनेको केहो भन्ने थाहा नैं थिएन सो बेला आफ्ना जेष्ठ नागरिकहरुसँग गरेको ‘चियागफ’ नैं अहिले अन्र्तवार्ता हुन गयो । उनी भन्छन्– ‘पत्रकारिता के हो थाहै थिएन, संवाददाता हुँदा नै ठुलो कुरो हुन्थ्यो ।’
‘सात भाई’ समुहका कान्छा सदस्य युद्धप्रसाद वैद्यले त्यस समय इलामलाई चिनाउन गरिने कृयाकलापहरुको भूमिका प्रस्तुत गरेका थिए । वि.सं. २०१५ सालमा खुलेको पुर्ण भण्डार नामक पसल पुस्तकप्रेमीहरुको लागि मात्र नभएर अन्य विविध सामाग्रीहरु पाउने नाम जस्तै पुर्ण पसल रहेको थियो अर्थात ‘डिर्पाटमेन्टल स्टोर’ । त्यहाँ बनारस, कलकत्ताहरुबाट विविध विषयका पुस्तक लगायत त्यसबेलाको प्रख्यात हिन्दी÷अंग्रेजी भाषाका पत्रिकाहरु आईपुग्थे । त्यसका ग्राहकहरु निश्चित थिए, त्यसको स्वाद भिजेकाहरु । वैद्य अगाडि थप्छन्– ‘एकपटक सातभाई समुहका सदस्यहरुसँग श्रीअन्तु जाँदा राती भारतीय बजार विजुलीले धपक्क बलेको तर इलाम अन्धकार भएको देखेपछि त्यसलाई साहित्यको माध्यमबाट प्रस्फुटन गरे ।’ इलामका दिग्गजहरु मध्ये पर्ने पदमबहादुर देवान, नरेन्द्र बाँस्तोला, भिमबहादुर वैद्यसँग त्यसबखत ‘रीलवाला क्यासेट’मा अन्र्तवार्ता रेकर्ड गरेको हाल त्यसलाई ‘डिजिटलाईजेशन’ गर्ने काम भईरहेको वैद्यले जानकारी दिए । इलामका धार्मिक, सामाजिक स्थानहरु जिर्णोद्धारको क्रममा मुख्य निर्माणकर्ता नैं हराए जाने गरेको समेत बताए । सदरमुकामस्थित नारायणस्थान मन्दिरको खास निर्माणकर्ता लेफ्टिनेन् भवानीदास राजलवट हुन, तर त्यहाँ रहेको शिलाहरुमा मन्दिर अरुले नैं बनाएको उल्लेख भएको देखिन्छ । सोही मन्दिरको तल्लो भागमा रहेका गोलो पोखरी हुन अघि चेप्टो पोखरी चन्द्र भक्तराजलवटले बनाएको हुन तरपछि जिन्दल परिवारले गोलो पोखरी बनायो र चियाबारी रेडक्रस शाखाले जिर्णोद्धार गरयो आखिर मुख्य निर्माणकर्ताको इतिहास नैं हराउन लाग्यो, त्यस्तै हाल महिला जागरण संघ नजिकै रहेको कुवाधाराको खास नाम छिपाधारा हो जुन धारा इलाम चोकबजारका रञ्जितकारका अग्रजहरुले बनाएका हुन, तर त्यहाँ शिलालेख अर्कै छ । वैद्यले भने । इलाममा होमस्टे शुरुवात गराउन २०५८ साल मंसिर १२ गते इलामबाट एउटा टोली अन्तुको घरघरमा गएर त्यहाँ पैसा लिने भएमात्र बस्छौं भनेर होमस्टेको शुरुवात गरेको अुनभव पनि वैद्यले पस्किए ।
यता विक्रम संवत चालीसको पुर्वाद्ध तिर इलाम सन्देश, प्रतिज्ञा साप्ताहिक पत्रिका प्रकाशन गर्न मुख्य भूमिका निर्वाह गर्ने नरेन्द्रनाथ भट्टराईले समेत सो बेला आफुले गरेको पत्रकारिताको स्मरण गरे । दृष्टि साप्ताहिक आफ्नो पत्रकारिताको जननी भएको उनले बताए । सो बेला प्रशासनको बक्रदृष्टि परेर साप्ताहिक पत्रिका प्रकाशन गर्न ल्याएको छापाखाना जिल्ला प्रशासन कार्यालयले दर्ता नगरिदिएको तितो अनुभव पोखे भट्टराईले । उनले भने दृष्टि पत्रिका घरमा राख्दापनि राजकाजको मुद्दा लाग्ने समय थियो त्यो बेला । हाल चियाबारी दैनिकका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धिरेन चेम्जोङले पञ्चायतकालिन व्यवस्था, द्धन्द्धकालिन र प्रविधि शुन्य समयमा पत्रिका प्रकाशन गर्दाका समस्याहरुसँग जुधेर निकाले पत्रिकाले आत्मा सन्तुष्टि प्राप्त गरेको बताए । समाचार छापिएको दिनदेखि भुमिगत बस्नु पर्ने अवस्था दृष्टि साप्ताहिकमा काम गर्दा भोग्नु परेको उनले बताए ।
आँखा विकास पत्रिकाको सो अंकमा ‘इलाममा नाटक गाइजात्राबाट शुरु भएको हो– देवान सर, वि.सं.१९५० भन्दा अघि इलाममा कुनै पनि विद्यालय थिएन– नरेन्द्रनाथ बाँस्तोला, दार्जिलिङ जुनेलीरात र इलाम अधेरीरात जस्तो देखिन्थ्यो– नन्दलाल गुरुङ, बडाहाकिम महाविर सम्शेरले इलाममा हात्ती ल्याएका थिए– भिमप्रसाद वैद्य र गणेशदास श्रेष्ठ, नब्बे सालको भुईंचालोले इलाममा ठुलो धनजनको क्षति भएन– वीरबहादुर अधिकारी र नरध्वज खत्री, १७ रुप्पेमा १ तोला सुन आउथ्यो– सिंहवीर थापा, बडाहाकिम गजराजसिंह थापा विकासप्रेमी थिए– तर्कराज थापा, पहिले इलाम जंगला मुलुक थियो– कृष्ण शर्मा र यी हुन इलामका जनप्रतिनिधिहरु– डा.देवी क्षेत्री दुलालको लेखहरु प्रकाशित भएको छ ।
कार्यक्रममा हाल सक्रिय पत्रकारिता गरिरहेका प्रेस चौतारी इलामकी अध्यक्ष कोकिला ढकाल, नागरिक दैनिकका इलाम संवाददाता भिम चापागाईं, स्थानीय सन्देशका प्रकाशक÷सम्पादक सुजन तिम्सिना, गोरखापत्र दैनिकका संवाददाता राजु शिवा, चियाबारी दैनिकका कार्यकारी सम्पादक टिका खतिवडा, इलाम पोष्टका बलराम बराईली लगायतका उपस्थिती रहेको थियो ।
0 comments:
Post a Comment