‘धरहरा चढे पछि साँच्चै स्वर्ग त यहि हो कि जस्तो अनुभूति भयो’

सोम आचार्य 

इलाम, २ असारः वि.सं.२०००मा इलामको नयाँबजार गाविसमा जन्मएकी गोमा ओझा एक अग्रणी समाजसेवी, महिला अभियन्ता र सामाजिक कार्यकर्ता हुन् । आफ्नो जीवनको अधिकांश समय समाज परिवर्तनमा ओझाले सुम्पिएकी छिन् । रेडक्रसको माध्यमबाट होस वा ग्राम विकासमा जागिर खाँदा अथवा नगर सभाषद रहँदा, उनको अधिकांश समय समाज विकासमा नै समर्पित भएको पाइन्छ ।  महिलाहरुको भूमिका घरभित्र नै सिमित हुनुपर्छ भन्ने विचार बोक्ने पितृसत्तात्मक समाजमा जन्मिएकी भएता पनि उनले आफूलाई त्यतिमै मात्र सिमित राखिनन् । हरबखत समाजको प्रगतिको निम्ति आफूलाई क्रियाशील राखिन् । उमेरले एकत्तर वर्ष पुगिसकेकी ओझा अझै पनि सामाजिक रुपमा सकरात्मक परिवर्तनको लागि सकृय छिन् । हाल नारी विकास संघ क्षेत्रीय कार्य समिति इलामकी अध्यक्ष रहेकी ओझासँगको साक्षात्कार हामीले हाम्रो सिनियर सिटिजन स्तम्भमा प्रस्तुत गरेका छौ ।
म तीन वर्षकी हुँदा मेरो बुवाले मलाई र आमालाई छोडेर सिक्किमतिर लाग्नुभएछ । त्यसपछि आमा मलाई लिएर मेरो मावली घर नामसालिङ लिएर आउनुभएछ । म मेरो मावली घरमा नै हुर्किएकी हुँ । नामसालिङका अधिकारीहरु मेरो मावली हुन् । बुबा सिक्किमबाट कहिले फर्कनु भएन त्यसैले मैले बुबाको अनुहार नै देख्न पाइन । मैले प्रारम्भिक शिक्षा नामसालिङमा नै लिएको हँु । म केटाकेटी हुँदा नै नामसालिङको नेपाल गाउँमा स्कूल शुरु भएको थियो । विद्यालयको लागि टहरा बनाइएको थियो । त्यही टहरामा मेरो शिक्षाको कखरा शुरु भएको हो । वि.स२०१२ सालमा मेरो विवाह पाँचथर प्राङबुङका देवीप्रसाद ओझासँग भयो । २०१२ सालमा विवाह भए पनि म २०१५ साल सम्म माइत अर्थात नामसालिङ नै बसें । २०१५ सालमा म प्राङबुङ गएँ । २०१५ सालमा आमनिर्वाचन थियो । २०१५ सालको आमनिर्वाचनमा प्राङबुङमा पनि मतदान केन्द्र थियो, त्यहाँ पहिलो भोट मैले नै हालेको हुँ । त्यतिखेर प्रेमराज आङदेम्बे त्यही क्षेत्रबाट उठ्नुभएको थियो । उहाँले नै जित्नुभयो त्यस क्षेत्रबाट । अरु को–को उठेका थिए मेरो सम्झनामा छैन । पछि त प्रेमराज आङदेम्बे मन्त्री नै भए । मेरो श्रीमान् सरकारी कर्मचारी हुनुहुन्थ्यो । वि.स.२०१६ सालमा उहाँको सरुवा काठमाण्डु भयो र मलाई पनि लिएर उहाँ त्यतै लाग्नुभयो । हामी नामसालिङबाट भारतको मानेभञ्ज्याङसम्म पैदल गयौं । मानेभञ्ज्याङबाट ट्रक चढेर रक्सौल हुँदै काठमाण्डु पुग्यौ । त्यतिखेर बसहरु कुद्न थालेका थिएनन् । काठमाण्डु जाने क्रममा हामीलाई प्रहरीले समात्यो । प्रहरीलाई मलाई भगाएर ल्याएको भन्ने परेछ तर श्रीमान्ले सफाइ दिएपछि भने हामीलाई छोड्यो ।
काठमाण्डु पुगेको केही समय पछि म दरबार हाइस्कूलमा कक्षा सातमा भर्ना भएँ । श्रीमान्कै प्रेरणामा म दरबार हाइस्कूलमा भर्ना भएको थिएँ । छोरीहरुले पढ्नु हुँदैन भन्ने सामाजिक मान्यता व्याप्त थियो त्यो बेला । तर पनि श्रीमान्ले मलाई पढ्न प्रेरणा दिइरहनु भयो । मेरो कक्षामा पनि दुई तीन जना छोरीमान्छे मात्र थियौ, केही समय पछि त उनीहरुले पनि पढाई छोडे । त्यो बेला त्यहाँ बेलुका पढाई हुन्थ्यो । उहाँ मलाई विद्यालय पु¥याउनु हुन्थ्यो र कक्षा नसकिउञ्जेल मलाई पर्खेर बसिरहुन हुन्थयो र कोठा लिएर आउनु हुन्थ्यो । वि.स.२०१८ सालमा मैले एक कक्षा चढेर सेण्ट अप परिक्षा दिएँ र त्यहीबाट सेण्ट अप पास गरें ।
त्यसबेलको काठमाण्डु त साह्रै सुनसान थियो । त्यो एउटा घण्टाघर थियो । हामी बेलुका निस्कन्थ्यौ घुम्नलाई । सडक पनि सुनसान हुन्थ्यो । पानी प्रशस्त थियो । त्यो बेला ग्याँसको चलन पनि थिएन । माटोको चुल्हो हुन्थ्यो, मसिनो मसिनो दाउरा किन्न पाइन्थ्यो । हामी त्यसैले खाना पकाउँथ्यौ । हाम्रो कोठा कमलपोखरीमा थियो । कमलपोखरीबाट जावलाखेल आहोरदोहोर गरिरहनु पथ्र्याे । कमलपोखरीबाट जावलाखेल सम्मको गाडी भाडा मात्र पच्चीस पैसा थियो । वि.सं.२०१७ सालमा मैले धरहरा चढेको हुँ । धरहरा चढ्दा जस्तो आनन्द मलाई कहिले पनि आएन । मानिसहरु स्वर्गको कुरा गर्थे । मलाई पनि स्वर्ग कस्तो होला जस्तो लागि रहन्थ्यो । धरहरा चढे पछि भने मलाई साँच्चै स्वर्ग त यहि हो जस्तो अनुभुति भयो । धरहराबाट काठमाण्डु हेर्दा त स्वर्गको टुक्रा जस्तो पो लाग्यो । मलाई स्वर्गमै पुगे जस्तो लाग्यो । वि.सं.२०७२ सालको भुकम्पले धरहरा भत्काएको सुन्दा साह्रै दुःख लाग्यो । काठमाण्डु गएको बेला धरहरा लडेपछि रहेको त्यसको अवशेष हेरे । हाम्रो सम्पदा, सम्पत्ति गयो । अब बनाउँदा पनि पहिलाको जस्तो हुन्छ जस्तो लाग्दैन् ।
वि.स. २०१९ सालसम्म म काठमाण्डु बसें । त्यही बिचमा मैले सामाजिक कार्यकर्ताको एक वर्षे तालिम पनि लिएँ । एक वर्षको तालिम सकिएपछि म ग्राम विकासमा जागीरको लागि नियुक्ति भएर पाँचथर आएँ । त्यो बेलाको ग्राम विकास अहिलेको जिल्ला विकास समिति जस्तै थियो । ग्राम विकासपछि पञ्चायत विकासमा परिणत भयो । ग्राम विकास र पञ्चायत विकासमा लगातार रुपमा मैले २०३४ सालसम्म काम गरें । २०३४ सालमा उपदान लिएर जागीर छोडे । त्यसपछि देखि लगातार रुपमा सामाजिक काममा समर्पित छु ।
विष्णु दाहाल नेपाल रेडक्रस सोसाइटी इलाम शाखाको सभापति हुँदा म सदस्य थिएँ । वि.सं.२०३९ सालमा म नगर सभाषद भएँ । मैले २०३९ सालमा भएको नगर पञ्चायतको चुनावमा वार्ड नं. ७ मा सबैभन्दा बढी मत पाएर नगर सभाषदमा विजय भएको हुँ । दुई कार्यकाल नगर सभाषद भएर सेवा गर्ने अवसर मिल्यो । नगर सभाषद हुँदा आफ्नै पहलमा धेरै ठाउँमा खानेपानी बनाए । बाटाघाटा पनि बनाउन पहल गरें । मलामी जानेहरुको लागि खाजा खाने टहरा बनाउन पनि सफल भयौ । सोयाङ जोड्ने अर्चले पुल बनाउन हामीले त्यति खेरै पहल गरेका थियौ । त्यतिखेर गोपाल श्रेष्ठ वार्ड अध्यक्ष हुनुहुन्थ्यो । पुल बनाउने समझदारी पनि भएको हो तर बजेटको अभावले पुल बनाउन सकेनौ तथापि हामीले अर्चलेमा फड्के भने त्यति बेलै लगाएका हौ ।
महेन्द्रोदय प्रावि महभिरको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर पनि मैले काम गरेँ । यसको मिति त सम्झनामा आएन । त्यो बेला नानीहरु पढाउनु पर्छ भनेर हामीले अभियान नै चलायौ । मानिसहरु छोरीहरुलाई विद्यालय पठाउन निकै गाह्रो मान्थे । तर हामीले चलाएको अभियानले निकै प्रभाव पारको थियो, बिस्तारै छोरीहरुलाई पनि विद्यालय पठाउन थालियो । छोरीले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुन मिल्छ भने विद्यालय पठाउन किन मिल्दैन भन्ने कुराको बहस भएको थियो त्यो बेला । हाम्रो अभियानको सकारात्मक प्रभाव परेर होला छोरीहरुको भर्ना दर निकै राम्रो थियो त्यो समयमा विद्यालयमा । वि.सं.२०४१ सालमा म नारी विकास संघको उप–सभापति पदमा निर्वाचित भए । पहिलो एक कार्यकाल उप–सभापति रहे । दोस्रो कार्यकालको लागि २०४५ सालमा चुनाव भयो त्यस चुनावबाट म सचिब बने भने, २०५० देखि लगातार रुपमा २०६९ साल सम्म संघको उप–सभापतिको रुपमा काम गरें । वि.संं.२०६९ सालदेखि भने म सभापतिको रुपमा काम गरिरहेको छु ।
वि.सं.२०४५ सालको भुकम्प पछाडि मलाई इलाम जिल्लाको अधिकांश गाविसमा पुग्ने मौका मिल्यो । लुथरन विश्व सेवासँगको सहकार्यमा हामीले भुकम्पले क्षति पु¥याएका विद्यालयमा पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरेका थियौ । त्यो बेला हामीले इलामका धेरै विद्यालय पुर्ननिर्माण तथा मर्मत गरेका छौ । 
नारी विकास संघको माध्यमद्वारा कम्बल तथा खाद्यान्न सामाग्री वितरणका लागि हामीले साह्रै मेहेनत गरेका थियौ । त्यो बेला लुथरनले हामीलाई दिएको बजेट मध्येबाट एक प्रतिशत हामीले पुर्नस्थापना कार्यक्रममा लगाउने निर्णय ग¥यौ । जुन रकम नानीहरुलाई विद्यालय पठाउन र मानिसहरुलाई ब्यवसायिक बनाउने काममा हामीले सदुपयोग गरेका थियौ । जुनबेलाको एउटा घटना म सधै सम्झने गर्छु । हामीले सुलुबुङतिरका एक जना मानिसलाई लुगा सिलाउने मेसिन किन्दिने निर्णय गरको थियौ । गोपाल श्रेष्ठको घरमा घरेलुको कार्यालय बसेको थियो । मेसिन किन्न त्यही पाइन्थ्यो । हामीले ती मानिसलाई घरेलुको कार्यालयमा नै बोलायौ र किनिदियौं । ती मानिसले त मेसिन पाउने बित्तिकै यति खुसी भए कि मेसिनको लागि आवश्यक अन्य साम्रागी नलिइकन दुई हात जोड्दै नमस्कार, नमस्कार, नमस्कार भन्दै आफ्नो बाटो पो लागे । उनलाई अरु साम्रागीको मतलब नै पो भएनछ । मेसिन पाएको खुसीमा अरु साम्रागीको त्यति वास्तै गरेनन् । फेरी हामीले धागो, बबिन दियौ अनि त्यो पनि लिएर गए ।
जुनबेला म ग्राम विकासमा नियुक्ति पाएर पाँचथर गएँ, त्यो बेलाको एउटा घटनाको याद आउँछ । हामी कर्मचारीले सेतो साडी,  निलो ब्लाउज र सेतो क्याम्पीस जुत्ता लगाउनु पथ्र्यो अनि दुई चुल्ठो बाट्नु पथ्र्यो । हामी पाँचथरको जोरसालमा पुगेका थियौ, त्यतिबेलै एक जना बुढी मान्छे भगवान भगवान भन्दै हामी भए तिर आउनुभयो । “आज भगवानको साक्षत दर्शन गर्न पाए” भन्दै उहाँमा त अर्कै खुसी पो देख्यौँ हामीले । हामीले लगाएको सुकिलो कपडा देखेर पो उहाँले हामीलाई भगवान जस्तो ठान्नुभएछ । त्यस्तो अवस्था थियो त्यो बेला । पहिलेका महिला र अहिलेका महिलामा त धेरै कुराको भिन्नता छ । अहिलेका महिलाहरु अगाडि गएर बोल्न सक्छन्, आफ्नो अधिकारको खोज्न सक्छन् । अधिकारको निम्ति लड्न पनि सक्छन् । पहिला त यस्तो अवस्था थिएन् । महिलाहरु घरको काममा सिमित थिए । समयको विकाससँगै महिलाहरुमा पनि परिवर्तन आएको छ । महिलाहरुमा चेतनाको स्तर बढेको छ । यो हामी महिलाहरुको लागि सकारात्मक पक्ष पनि हो ।
मलाई सामाजिक क्षेत्रमा लाग्न प्रेरणा दिने काम श्रीमान्ले गर्नुभएको हो । उहाँको निधनपछि भने सामाजिक क्षेत्रमा जुन ‘स्पिरीट’का साथ काम गर्नु पर्ने हो त्यो म मा अलिक कम भएको छ । जुन ‘स्पिरीट’का साथ काम गर्न भनेर आए उहाँ नै नभएपछि त्यो ‘स्पिरीट’ हराएको छ । तर पनि उमेरले सकिउञ्जेल सामाजिक काममा निरन्तर लागिरहन्छु, समाजको परिवर्तन र विकासको निम्ति खटिरहन्छु ।
इलामकी एक अग्रणी महिला अभियन्ता, समाजसेवी गोमा ओझालाई हाम्रो पनि शुभकामना, निरन्तर रुपमा समाज रुपान्तरणमा चलेका तपाईका पाइलाहरुमा ठेस नलागुन् । तपाईका पाइलाहरु अगाडि बढिरहुन्, चियाबारी टिमको तर्फबाट हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment